अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने

अमेरिकाले इराक मिसनबाट आफ्ना सेना फिर्ता बोलाउने

एजेन्सी  |  विदेश  |  श्रावण १२, २०७८

अमेरिकी राष्ट्रपति जो बाइडेनले यस वर्षको अन्त्यसम्ममा अमेरिकी लडाकु सैनिकहरूलाई इराकबाट फिर्ता बोलाउने बताएका छन् । तर, अमेरिकाको सेनाले थोरै संख्यामा मात्र भए पनि इराकमा बसेर इराकी सेनालाई तालिम र आवश्यक सरसल्लाह भने दिने उनले जानकारी दिएका छन् ।

इराकी प्रधानमन्त्रीसँगको भेटवार्ताका क्रममा राष्ट्रपति बाइडेनले सो जानकारी गराएका हुन् । हाल इराकी प्रधानमन्त्री मुस्ताफा अल-खादिमी अमेरिकाको भ्रमणमा छन् । प्रधानमन्त्री मुस्ताफासँग ह्वाइट हाउसमा भएको कुराकानीका क्रममा राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेको बताइएको छ ।

उनीहरूबीच सोमबार ह्वाइट हाउसमा भेटवार्ता भएको थियो । इराकमा हाल २ हजार ५०० जनाभन्दा बढी अमेरिकी सैनिक रहेका छन् ।इराकमा पछिल्लो समयमा इस्लामिक स्टेट नामक आतंककारी समूहको उपस्थिति बढ्दै गएको बताइएको छ । हाल इराकमा रहेका अमेरिकी सैनिकहरूले इराकी फौजलाई इस्लामिक स्टेट लडाकुका विरुद्ध लड्न सहयोग गरिरहेका बताइएको छ ।

अमेरिकाको यो घोषणापछि पनि केही अमेरिकी सैनिक भने इराकमै रहने बताइएको छ । यो घोषणाको इराकले भने स्वागत गरेको छ ।अमेरिकाले इराकी प्रधानमन्त्रीलाई सहयोगका लागि यो घोषणा गरेको हुन सक्ने अनुमान गरिएको बताइएको छ । इराकी प्रधानमन्त्री खादिमीले पनि इराकमा कुनै पनि विदेशी सेना आवश्यक नरहेको बताएका छन् ।

उनले अमेरिकाको सो घोषणाको समर्थन गर्दै भनेका छन्, 'हामीलाई अमेरिकाको सैन्य सहयोग त आवश्यक छ तर पनि इराकमै आएर सैनिक परिचालन नभएर इराकलाई सुरक्षा सामग्री र तालिमका विषयमा सहयोग दिँदा राम्रो हुनेछ ।'

गत वर्ष इराकको राजधानी बग्दादमा अमेरिकी सेनाले ड्रोन हमला गर्दा एक जना उच्च इरानी सैन्य जनरल कासिम सुलेमानी र इरानको समर्थन पाएको सिया मुस्लिम मिलिसिया समूहका एक जना नेता मारिएका थिए । त्यसयता इराकमा अमेरिकी सेनाको झन् ठूलो विरोध भएको थियो । यहाँका राजनीतिक दलहरूले अमेरिकी नेतृत्वमा आईएसविरुद्ध लड्ने अन्तर्राष्ट्रिय फौज हट्नुपर्ने माग गरिरहेका छन् ।