त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ पढाइ हुने

त्रिविमा अब ‘सुशासन तथा भ्रष्टाचार निवारण’ पढाइ हुने

रासस  |  शिक्षा  |  श्रावण १४, २०७८

त्रिभुवन विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र संकायअन्तर्गत स्नातकोत्तर तहमा ‘सुशासन तथा भ्रष्टाचार निवारण’ विषयको अध्यापन गराउने भएको छ । यसै आर्थिक वर्षदेखि सो विषयको अध्यापन गराउन लागिएको हो ।

विश्वविद्यालयले आउँदो २६ भदौदेखि सो विषयको प्रथम सेमेष्टरको पठनपाठन सुरु गर्ने तयारी गरेको कार्यक्रम संयोजक डा. योगेश रञ्जितले जानकारी दिए । २ वर्षे यो विषय पढ्नका लागि एक लाख ७३ हजार रुपैयाँ लाग्ने जनाइएको छ ।

विश्वमा नभएको अन्तर्राष्ट्रियस्तरको पढाइलाई ध्यान दिएर अगाडि बढ्न आवश्यक भएको भन्दै संकाय डिन डा. कुसुम शाक्यले नेपालमा यस विषयको पढाइले समाज परिवर्तनका लगि महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । 

नेपाल सरकारका विभिन्न निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थासँग समन्वय र सहकार्य गरेर भ्रष्टाचार न्यूनीकरण गर्ने योजना रहेको बताएका सामाजिक अभियानकर्मी भरत जङ्गमले ५ दशकपछि आफ्नो सपना साकार भएकामा खुसी व्यक्त गरे । भ्रष्टाचारविरुद्धको विषयमा पढाइ हुने विश्वमै नेपालको त्रिभुवन विश्वविद्यालय पहिलो भएको उनको जिकिर थियो ।

अर्थशास्त्र केन्द्रीय विभाग प्रमुख डा. शिवलाल अधिकारीले सबै क्षेत्रमा हुने भ्रष्टाचार नियन्त्रणका लागि विज्ञ व्यक्तिको आवश्यकता पर्ने भएकाले यो विषयको अध्ययनबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा रोजगरीको अवसर मिल्ने विश्वास उनको थियो ।