कांग्रेस अधिवेशनबाट केन्द्रीय समिति र पदाधिकारीमा युवाको बाहुल्य रहन्छ: मनोजमणि आचार्य

कांग्रेस अधिवेशनबाट केन्द्रीय समिति र पदाधिकारीमा युवाको बाहुल्य रहन्छ: मनोजमणि आचार्य

आशिष पौडेल  |  लोकसंवाद  |  श्रावण १८, २०७८

नेविसंघको केन्द्रीय सदस्य, केन्द्रीय उपसभापति र केन्द्रीय महामन्त्री हुँदै हाल नेपाली कांग्रेसका महासमिति सदस्य मनोजमणि आचार्यसँग नेपाली कांग्रेसको आसन्न महाधिवेशन, वर्तमान नेतृत्व र परिवेशका विषयमा आशिष पौडेलले गर्नुभएको कुराकानीको सारसंक्षेप प्रस्तुत छ । 

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आगामी २३ भदौमा सम्पन्न हुन्छ भन्ने कुरामा विश्वस्त हुनुहुन्छ ?

नेपाली कांग्रेसको इमान्दार कार्यकर्ता भएका नाताले आजको हिँडाइको गतिले महाधिवेशन सम्पन्न होइन, वडा अधिवेशनचाहिँ प्रारम्भ होला । 

हुनत नेपाली कांग्रेसको विधान तथा नेपालको संविधानअनुरूप पनि आगामी २३ भदौमा महाधिवेशन सम्पन्न गरिसक्नुपर्ने हो । तर, कोभिडका कारण भएको लकडाउन अनि डेढ वर्षदेखि पार्टी अधिवेशनको प्रमुख आधार रहेको क्रियाशील सदस्यता वितरण पनि कोभिडका कारण प्रभावित भएको छ । 

मधेसका धेरै जिल्ला तथा अन्य महत्त्वपूर्ण जिल्लामा देखिएको क्रियाशील सदस्यता विवाद, पार्टीको निर्देशिका तयार नहुनु तथा कोभिडका कारण पनि समयमै महाधिवेशन सम्पन्न गर्ने चुनौती रहेको पनि हामीले बिर्सनुहुँदैन । 

साथै, तत्कालीन प्रधानमन्त्री केपी ओलीले २/२ पटक गरेको असंवैधानिक प्रतिनिधिसभा विघटनका विरुद्धको आन्दोलनमा रहेर संविधान र कानुनलाई सही बाटोमा ल्याउन पनि कांग्रेसले मुख्य भूमिका निर्वाह गर्नुपर्‍यो । यसका कारण पनि पर्याप्त ध्यान महाधिवेशनतर्फ नेतृत्वले दिन नसकेको होला । 

तर पनि लोकतान्त्रिक पार्टी कांग्रेसले समयमै महाधिवेशन सम्पन्न गर्नेतर्फ कदम चालेर देशमा रहेका अन्य वामपन्थी पार्टीलाईसमेत आफूलाई प्रजातन्त्रवादी तथा लोकतन्त्रवादी भएको प्रमाणित गराउन भने केही चुकेकै हो कांग्रेस, त्यसका लागि पार्टी नेतृत्वले आत्मालोचना भने गर्नै पर्छ । 

क्रियाशील सदस्यको विवादलाई लिएर अनशनदेखि राजीनामासम्मका प्रसंग चलिरहेको अवस्थामा समयमै अधिवेशन सम्पन्न हुने आधार के त ?

करिब १०० वटाजति वडामा क्रियाशीलको विवाद देखिएको छ । त्यसको रिपोर्ट पनि बुझाइसकिएको अवस्था छ । तर, विवाद छ भनेकै आधारमा सिंगो महाधिवेशन रोकेर अलोकतान्त्रिक चरित्र लोकतान्त्रिक पार्टीले देखाउन मिल्दैन । साथै, नेताद्वय डा. रामशरण महत तथा डा. प्रकाशशरण महतको अगुवाइमा विवादित २ पक्षबीच वार्ता गरेर त्यसको राजनीतिक समाधान खोज्दै हुनुहुन्छ । शीर्ष नेतृत्वले पनि यी विवादित विषय निरूपण गर्ने कुरामा आशावादी हुन सकिन्छ । 

२३ भदौको समयसीमामा महाधिवेशन सम्पन्न हुन कठिन देखिएपछि कांग्रेस विधानमा भएका ‘लुप होल’हरू खोज्दै छ भन्ने पनि चर्चा छ त बजारमा ?

एउटा कोभिडको समयलाई शून्य समय मानेर पनि अघि बढ्न सकिन्छ । अर्को भनेको संविधानमा कुनै पनि दलले आवधिक अधिवेशन नगरेका खण्डमा ५० हजार रुपैयाँ शुल्क तिरेर ६ महिना लम्ब्याउन सकिने प्रावधान पनि छ । 

वर्षातका कारण तराई जलमग्न छ, पहाड बाढी पहिरोका कारण आक्रान्त छ, सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको त मानवीय जनशक्ति हो अर्थात् पार्टीका नेता तथा कार्यकर्तालाई पनि कोभिडका कारण भेला भएर ल अधिवेशन सुरु गरिहालौँ भन्न कठिन छ । प्राकृतिक विपद् भएका पहाड, हिमाल र तराईका प्रतिनिधिलाई यातायातकै समस्या छ ।

पार्टीको आन्तरिक लोकतन्त्र तथा भ्रातृ संगठनहरू साथै अन्य विधि प्रक्रिया स्थापना गर्नका लागि न त उहाँहरूले पार्टी शीर्ष नेतृत्वलाई हस्तक्षेप गर्न सक्नुभयो, न पछिका युवा नेतालाई आश्वस्त पार्न नै सक्नुभयो भनेर हामीले उक्त छलफलमा भनेका थियौँ

आखिर नेता, कार्यकर्ता नै नभए कसका लागि अधिवेशन गर्ने ? भन्ने प्रश्न पनि उठ्छ । सरकार कोभिडका कारण सभा, समारोह नगर्न र बिहे भोज, भतेरमा समेत १५ जना मात्र सहभागी हुन भनिरहेको छ भने लाखौँ कार्यकर्ता रहेको पार्टीको महाधिवेशन कसरी गर्ने ? यो अर्को समस्या छँदै छ । 

कानुनी जटिलता तथा मानवीय संवेदनशीलता दुवै रहेको अवस्थामा मानवीय स्वास्थ्य र संवेदनशीलतालाई नजरअन्दाज गर्न सकिँदैन । 

त्यस कारण पनि २३ भदौको समयसीमालाई ध्यानमा राखेर उक्त समयसम्म वडा अधिवेशन प्रारम्भ गरेर निर्वाचन आयोगलाई वर्तमान विषम परिस्थितिका बारेमा अवगत गराउँदा आयोगले बाधा अड्काउ फुकाउने तथा यस्ता विविध जटिलतालाई बुझ्छ होला भन्ने लाग्छ । 

अहिले हरेकजसो पार्टीमा नेतृत्व हस्तान्तरणसँगै पुस्तान्तरणको पनि कुरा उठिरहेको छ । कांग्रेसमा पनि लामो समयदेखि यो विषय चलिरहेको छ । अधिवेशनमार्फत प्रक्रिया पुर्‍याएर युवा नेतृत्व स्थापित गर्ने बेलामा चाहिँ रुमल्लिने अनि अरू बेला मिडियामा र भाषणमा युवाले पार्टी हाँक्नुपर्छ भन्नुको के अर्थ ? 

नेपाली कांग्रेसमा नेविसंघ स्थापनाकालदेखि दोस्रो तथा तेस्रो पालाका सभापतिहरू रामचन्द्र पौडेल, शेरबहादुर देउवा, विमलेन्द्र निधिलगायतका नेताहरू अहिलेसम्म शीर्ष नेतृत्वमा हुनुहुन्छ । र, उहाँहरू पनि युवा नेतृत्व भन्न छुटाउनुहुन्न । 

दोस्रो तहका नेताहरूले हालै महाधिवेशन तयारीका लागि भनेर हामी जस्ता युवा पुस्ताका लागि छलफलमा बोलाउनुभएको थियो । पार्टीको आन्तरिक लोकतन्त्र तथा भ्रातृ संगठनहरू साथै अन्य विधि प्रक्रिया स्थापना गर्नका लागि न त उहाँहरूले पार्टी शीर्ष नेतृत्वलाई हस्तक्षेप गर्न सक्नुभयो, न पछिका युवा नेतालाई आश्वस्त पार्न नै सक्नुभयो भनेर हामीले उक्त छलफलमा भनेका थियौँ । 

उक्त कुरामा उहाँहरू सहमत त हुनुहुन्छ तर नेविसंघ, तरुण दललगायतका भ्रातृ संगठनबाट आउने युवा नेतृत्वबाट उहाँहरू पनि आफूलाई खतरा देखिरहनुभएको छ भनेर हामीले कुरा राखिरहँदा उहाँहरूले आत्मालोचना पनि गर्नुभयो र स्वीकारोक्ति पनि गर्नुभयो । फेरि महाधिवेशन केन्द्रित भएर कुराकानी र छलफल त भए तर पार्टीको आन्तरिक लोकतन्त्रका लागि बहस तथा छलफलका लागि भने उहाँहरू पनि त्यति तयार नभएको देखियो । 

त्यस कारण पार्टीको आन्तरिक लोकतन्त्र अनि देशको समग्र विकासको एजेण्डासहित पार्टीको युवा नेतृत्व यस पटकको महाधिवेशनमा आउने तयारीमा छ । यसको तयारी पनि भइरहेको छ । 

तपाईंहरूले युवा नेतृत्व भनेर कराइरहँदा नेतृत्वका लागि युवाको अग्रसरताको दृश्य त कतै देखिँदैन त ?

पार्टीमा हाल रहेका गोपालमान श्रेष्ठ, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण सिटौला, शेखर कोइराला, शशांक कोइरालालगायतका दोस्रो पुस्ताका वरिष्ठ नेताहरू कि त अब पार्टी सभापति नै हो अन्यथा अब उहाँहरू वरिष्ठ नेता नै हो । पदाधिकारीमा अब चुनावी प्रतिस्पर्धाबाट आउने भनेको नै युवा पुस्ता हो । त्यस कारण अबको कांग्रेसको अधिवेशनबाट केन्द्रीय समतिमा मात्र नभएर पदाधिकारीमा पनि युवा पुस्ताको बाहुल्य रहन्छ । 

राज्यमन्त्रीको नियुक्तिलाई लिएर जुनजुन कोणबाट बहस उठेको थियो, त्यसलाई सम्बोधन गर्दै उहाँले गलत भएको कुरा स्वीकार गरिसक्नुभएको छ । यस कारण पनि अब इतिहास निर्माणका लागि पनि उहाँले देश र जनता तथा पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्नेमा कुनै दुई मत छैन

अघिल्लो महाधिवेशनमा पनि युवा नेतृत्वको कुरो उठेको थियो तर गगन थापाले महामन्त्रीमा दिएको उम्मेदवारी जीतमा परिणत भएन नि त ? 

उक्त अधिवेशनमा पनि उहाँले ६०० मत ल्याउनुभएको थियो । आखिर त्यो मत कसको थियो त ? त्यसबेला गगन थापा कुनै समूहमा नरहीकन नै चुनावी लड्नुभएको थियो । 

नेपाली कांग्रेसमा वामपन्थी पार्टीमा जस्तो विचारको लडाइँ नभएकाले केही गुट वा समूह भने जरुर देखिने गरेको छ ।  सायद त्यसबेला उहाँ चुनाव नलडेको भए अहिले उहाँ स्वाभाविक उम्मेदवार हुनुहुने थिएन । उहाँको त्यसबेलाको उम्मेदवारीले अहिले युवा पुस्तालाई पनि उम्मेदवारी दिने आँट र उत्साह जगाएको छ, जुन निकै सकारात्मक पक्ष हो ।

युवा नेतृत्व भनिरहँदा अघिल्लो पुस्ताका नेताका पुत्र-पुत्रीको गुट बनाएर वर्तमान सभापतिका विरुद्ध एकजुट हुँदै हुनुहुन्छ, यसले न त युवा, न सक्षम नेतृत्व आउन सक्छ, होइन र ?

नेताका पुत्र-पुत्री भनिरहँदा उहाँहरू एउटा स्वाभाविक नेतृत्व लिएर अनि कोही आफ्नो उच्चस्तरीय पेसाबाट कांग्रेसको नेतृत्वमा आउनुभएको हो । त्यस कारण उहाँहरू नेताका छोराछोरी भएका कारण मात्र नेतृत्वमा आएको होइन । 

उहाँहरू कुनै पनि हालतमा हुनुहुँदैन भन्ने तथा परिवारको लिगेसीले नै नेतृत्व गर्नुपर्छ भन्ने दुवैमा नेपाली कांग्रेस छैन । नेपाली कांग्रेसको महाधिवेशनको अहिलेसम्मको अवस्था हेर्दा मतदाताले एकदमै विवेक पुर्‍याएर मत प्रदान गरेका देखिन्छ । कुनै एउटा गुटको सभापति हुँदा नत्र त सबै पदाधिकारी उक्त समूहबाट नै हुनुपथ्र्यो नि ! त्यस्तो भएको छैन । 

तपाईंका साथीहरू धेरै केन्द्रीय सदस्य भइसकेका छन् तर तपाईं भने विद्यार्थी राजनीतिमै अलमलिनु भएको छ । यस पटक पदाधिकारी, केन्द्रीय सदस्य बनेर वा बाहिर बसेरै पार्टीलाई सहयोग गर्ने सोचमा हुनुहुन्छ ? 

माओवादी युद्धबाट अत्यन्त प्रभावित जिल्ला रोल्पाको जुन स्कूलमा कृष्णबहादुर महराले पढाउनुहुन्थ्यो, वर्षमान पुन, नन्दकिशोर पुन, नेत्रविक्रम चन्द, ओनसरी घर्ती जस्ता नेता हुनुभयो, त्यस्तो जिल्लाबाट एक्लो बृहस्पति जस्तो भएर नेविसंघका नेताका रूपमा काम गरेको हुँ मैले । 

विद्यार्थीकालमा स्कूल तहदेखि कांग्रेसका लागि संघर्ष गर्दै, रगत बगाउँदै विद्यार्थी राजनीति गर्दै आएको हुँ, जसको परिणाम नेविसंघको केन्द्रीय सदस्य, केन्द्रीय उपसभापति र केन्द्रीय महामन्त्रीसम्म भएको हुँ । 

नेविसंघको गएको एघारौँ महाधिवेशनमा केन्द्रीय सभापतिको  रूपमा उपविजेताका साथै हाल महासमितिको सदस्य रहेका नाताले पनि म स्वाभाविक रूपमा केन्द्रीय सदस्यको दाबी गर्न सक्छु । 

गत महाधिवेशनमा केन्द्रीय सदस्यको रूपमा मैले उम्मेदवारी पनि दिएको थिएँ । तर, पार्टी तथा टिमका नेताले एक पटक तपाईंले नेविसंघको नेतृत्व गर्नुपर्छ भनेका कारण उक्त समयमा उम्मेदवारी फिर्ता लिएको थिएँ । त्यस कारण पनि आगामी अधिवेशनमा स्वाभाविक रूपमा मैले आफूलाई केन्द्रीय सदस्यको उम्मेदवार ठानेको छु । 

अर्को कुरा भनेको गएको कांग्रेसको महासमितिको बैठकले कांग्रेसको केन्द्रीय समितिको आकार ८५ बाट बढाएर १६७ जना बनाएको छ । १३४ जना त निर्वाचनबाट मात्र नेता स्थापित हुन्छन् । त्यस कारण हामी हाम्रो क्षेत्रबाट एकदम तयार भएर बसेका छौँ । 

अरू साथीहरूले पनि अब केन्द्रीय सदस्यका लागि ढिलो भइसक्यो भनेर साथ, सहयोग र हौसला दिइरहनुभएको छ । 

नेतृत्वमा एक्लै जाँदै हुनुहुन्छ कि समूहमा ?

एक्लै नेतृत्वमा जाने भन्दा पनि एउटा नयाँ एजेण्डा, विषय र परिवर्तित सन्दर्भमा पार्टीको भ्रातृ संगठनका युवा नेतृत्वबीच एकरूपता कायम गर्दै जो जहाँ रहे पनि एकअर्कालाई सहयोग गर्ने अनि स्वाभाविक रूपमा पार्टी नेतृत्वमा पुग्नुपर्छ भन्ने कुरा हो । टिम फरक भयो भन्दैमा कसैको स्वाभाविक राजनीति मर्नु हुँदैन भनेर शीर्ष नेतृत्वसँग पनि छलफलमा रहेर नेतृत्वमा जाने सोचमा छौँ । 

अन्त्यमा तपाईंका वर्तमान पार्टी सभापतिले देश, जनता र पार्टीको हितमा काम गर्नुहुन्छ भन्ने आधार के छन् ?

उमेरले साढे ७ दशक पुग्नुभएको अनि प्रधानमन्त्री पनि पाँचौँ पटक भइरहँदा अब उहाँले केका लागि र कसका लागि गर्ने त ? अब उहाँले इतिहास निर्माण हुने गरी काम गर्नुहुनेछ भन्नेमा आशावादी हुन सकिन्छ । 

तर, यति भन्दै गर्दा स्वास्थ्य राज्यमन्त्रीको नियुक्तिलाई लिएर जुनजुन कोणबाट बहस उठेको थियो, त्यसलाई सम्बोधन गर्दै उहाँले गलत भएको कुरा स्वीकार गरिसक्नुभएको छ । यस कारण पनि अब इतिहास निर्माणका लागि पनि उहाँले देश र जनता तथा पार्टीको बृहत्तर हितमा काम गर्नुहुनेछ भन्नेमा कुनै दुई मत छैन । 

अन्यथा उहाँले यो इतिहास निर्माण गर्ने सुन्दर अवसर चुकाउनुहुनेछ । यसले पदका गणनाका हिसाबले उहाँलाई अगाडि राखे पनि इतिहासले उहाँलाई नसम्झन पनि सक्छ ।