असभ्य राजनीतिक चरित्रले बिटुलिएका नेता र भासमा फसेको देश

असभ्य राजनीतिक चरित्रले बिटुलिएका नेता र भासमा फसेको देश

धनचन्द्र राई  |  दृष्टिकोण  |  श्रावण २१, २०७८

भन्न त राजनीतिलाई फोहोरी खेल नै भन्छन् तर राजनीतिक चेतनाको विकाससँगै दृष्टिकोणमा पनि परिवर्तन हुँदै जानेछ भन्ने मान्यता नेपालको राजनीतिमा सान्दर्भिक देखिएन । सामाजिक संजालमा यत्रतत्र देखिएको राजनीतिप्रतिको घृणा, क्रोध र अश्लील हर्कतले प्रष्ट देखिन्छ कि नेपालको राजनीति कति फोहोर भएको छ । 

नेपाली समाजमा राजनीतिक चेतना अब त्यति कम देखिँदैन तर राजनीतिक नेतृत्वको कमजोरी, गैरजिम्मेवारी, काँचोपन र असभ्य प्रस्तुतिका कारण जनताले प्रविधिको सहज प्रयोग गरेर सतहको पृष्ठपोषण पनि अश्लील, असभ्य रूपमा प्रस्तुत गर्नु स्वाभाविक नै हो । हुनत सामाजिक संजालमा उपस्थित व्यक्तिहरू सबै वास्तविक हुँदैनन् र पूर्वाग्रहका कारणले अर्काको चरित्र हत्या गर्न तल्लीनहरू प्नि प्रशस्तै छन् । तर, सामाजिक संजालको सदुपयोग, दुरूपयोग दुवै उत्तिकै छन् । यद्यपि, आफूलाई लुकाएर भए पनि आफ्नो गुनासो, रिस ,क्रोध व्यक्त गरिनु नेतृत्व पंक्तिका लागि सकारात्मक पक्षपोषणको एउटा महत्त्वपूर्ण पाटो पनि हो ।

नेपालको राजनीतिमा पछिल्लो समय खासगरी व्यवस्थामा केही परिवर्तन भए पनि व्यवहार र अवस्था भने झनै खस्कँदै गएको देखिन्छ । मतलब, राजनीतिक हिसाबले केही उपलब्धि भए तापनि सांस्कृतिक, आर्थिक तथा सामाजिक क्षेत्रमा विकृति र विसंगतिहरू झनै बढ्दै गएका देखिन्छ । समुदायको दैनिक जीवनयापनसँग जोडिएका सामाजिक, सांस्कृतिक तथा आर्थिक क्षेत्रमा भएका यस्ता विकृतिले सभ्य समाजको निर्माण हुँदैन र यसको खास असर पछिल्लो पुस्तालाई पर्छ । 

लोकतान्त्रिक पद्धतिबाट चलेको शासन व्यवस्थामा जिम्मेवारीको हिसाबले व्यवस्थापिका संसद सबैभन्दा महत्त्वपूर्ण अंग हो । जनताबाट प्रत्यक्ष निर्वाचित तथा पार्टीभित्र अल्पसंख्यक, लोपोन्मुख, पिछडा वर्ग, दलित, जनजाति र महिलालगायत राज्यका विभिन्न सेवा सुविधाबाट बन्चित समुदायका अब्बल व्यक्तिहरूलाई व्यवस्थापिका संसदमा प्रतिनिधिका रूपमा वा सांसद बनाएर पठाइन्छ । 

यसरी जनताले चुनेका व्यक्तिहरूले रोल मोडेलको भूमिका निर्वाह गर्नुपर्छ, जनतामा त्यो अपेक्षा रहन्छ । राजनीतिक दलको सिद्धान्त, बिचारलाई मार्गदर्शकका रूपमा लिएर गन्तव्य उन्मुख हुनु र बिचारलाई रणनीतिक रूपमा कार्यान्वयन गर्दै जानु नेतृत्वको कर्तव्य हो । पार्टीले लिएको बिचार, सिद्धान्त र कार्यनीतिसँग देश र जनताको भविष्य जोडिएको हुन्छ, राजनीतिक दलको मत माग्ने आधार नै यही हो । तर, आजकल जनप्रतिनिधिको व्यवहार, सार्वजनिक ठाउँहरूमा गरिने अभिव्यक्ति, चोकचोकमा गरिने विरोधका शैली र सडकमा गरिने आन्दोलनका परिपाटीहरू हेर्दा अत्यन्त अशोभनीय, अनैतिक र असभ्य लाग्छ । 

संसदमा कसैले कुर्सी भाँच्ने धम्की दिए, कसैले बाँदरहरूको थलो भने, सडकमा कसैले खुट्टा भाँच्ने धम्की बोले, कसैले टाउको फुटाउने धम्की बोले, कोही बाँदरकै स्वरूप बने । यो सब हेर्दा हाम्रो देशको राजनीतिले हाम्रो समाजलाई कस्तो संस्कारतिर डोहोर्‍याउँदै छ भन्ने प्रष्ट हुन्छ ।

२०७४ सालको निर्वाचनपश्चात तत्कालीन नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले सबैभन्दा बढी जनतासँग अशोभनीय मजाक गरेको देखियो । सायद यसैको प्रत्यक्ष असर हुनुपर्छ- हरेक कमेडियन रियालिटी शो, हास्य टेलिशृंखला, फेसबुक र टिकटकसम्ममा हास्य कलाकारले नेताको नक्कल र मजाक गरेको देखिन्छ, त्यो पनि पार्टी प्रमुख र सरकार प्रमुुखको । 

त्यति मात्र होइन, गीतहरू समाजले सुन्न नसक्ने, भिडियोहरू समाजले हेर्न नसक्ने भइसके । एकातिर राजनीतिक नेतृत्वकै कारण समाजमा आदर, सम्मान, सत्कार, मर्यादा भन्ने चिजमा ह्रास हुँदै गइरहेको छ भने अर्कोतिर प्रविधिले विश्व मानव समुदायलाई एउटा सानो समाजमा रूपान्तरण गरिरहेको हुनाले प्रविधिले पनि नेपाली समाजलाई पश्चिमा संस्कृतिको सिको गर्न लालायित बनाइरहेको छ । 

तर, नेपाली समाजको यो छाडा उन्मुख संस्कृति विकास हुनुमा प्रविधिलाई दोष दिन मिल्दैन, एउटा परिवारमा बालबच्चाहरूलाई कस्तो संस्कार सिकाउने भन्ने जिम्मेवारी घरको अभिभावकको महत्त्वपूर्ण हुन्छ । अभिभावक असभ्य भए बालबच्चाहरू सभ्य र नैतिकवान् हुन्छन् भन्ने कुरा कल्पनाभन्दा बाहिरका कुरा हुन् । 

नेपालको संविधानले वाक् स्वतन्त्रतालाई मौलिक हकको रूपमा सुनिश्चित गरेको छ । लोकतन्त्रमा वाक् स्वतन्त्रता जनताको हतियार हो, प्रजातन्त्रको प्राण हो । प्रत्येक व्यक्तिले न्याय निरूपणका लागि वाक् शक्ति प्रयोग गर्नै पर्छ । तर, फरक यति हो, स्वतन्त्रताप्रतिको बुझाइ र प्रयोग । बीपी कोइरालाले भन्नुहुन्थ्यो, ‘स्वतन्त्रता र स्वच्छन्दताबीचको फरक छुट्याउन सकिएन भने प्रजातन्त्र खतरामा पर्छ ।’

स्वतन्त्रताको गलत बुझाइले प्रजातन्त्रमाथि हमला भएका घटनाहरू धेरै छन् । नेपालकै सन्दर्भमा पनि संघीय लोकतान्त्रिक गणतन्त्रपश्चात बनेको पहिलो सरकारले ६ महिनाको अवधिमा २-२ पटकसम्म जननिर्वाचित अंग व्यवस्थापिका संसद विघटन गर्नुलाई लोकतन्त्रको हत्या प्रयास भन्न सकिन्छ । 

साँच्चै आफ्नो वाक् स्वतन्त्रताको सीमालाई बुझ्न नसक्दा पदच्युतदेखि सत्ताच्युतसम्म हुनुपरेको छ । सरकार ढल्नुमा खासगरी कि त विपक्षीको हात रहन्छ वा पार्टीभित्र सैद्धान्तिक विचलन देखापर्छ र विभाजनको रेखाहरू कोरिन्छ । तर, भरखरै प्रस्ट बहुमतको नेकपा एमाले नेतृत्वको सरकार ढल्नुमा कुनै तार्किक कारण नै छैन, छ त एउटै कारण- एकले अर्कालाई तुच्छ गाली गर्ने, होच्याउने, खिसिट्युरी गर्ने, विरोधको वहानामा असभ्य र अश्लील हर्कत गर्ने यसैको परिणाम अहिले नेकपा (एमाले)ले भोगिरहेको छ । 

देश परिवर्तन गर्न कुशल नेतृत्व र सही बिचार चाहिन्छ । ठूलो टिमभन्दा पनि टिमलाई सही दिशा निर्देश गर्ने एक नेतृत्व चाहिन्छ । परिवर्तनका लागि एक जना नै काफी भन्ने प्रमाण सिंगापुरका निर्माता ली क्वान यु, मलेसियाको अब्दुल रहमान र हाल चीनको राष्ट्रपति सी जिनफिङलाई हेर्न सकिन्छ । बिचारलाई व्यवहारमा बदल्नु नेतृत्वको कौशल हो । 

नेपालको प्रजातान्त्रिक इतिहासमा सबैभन्दा शक्तिशाली सरकार  नै केपी ओली नेतृत्वको तत्कालीन नेकपाको सरकार हो, ५ वर्षसम्म सरकार स्थायी रहन्छ र जनताले अस्थिर राजनीतिबाट प्रताडित हुनुपर्दैन भन्ने आशा राखेका थिए । तर, सरकार गठन भएपश्चात दीर्घकालीन योजना बनाएर समृद्ध मुुलुक निर्माणको दिशामा अगाडि बढ्नुको साटो आफ्ना विरोधीहरूलाई ओठे जबाफ दिएर दुनियाँ हसाउनुमै आनन्द लिन र बाँचुञ्जेल बालुवाटार आफ्नै हो भन्ठान्ने रवाफले सरकार मात्र ढलेन, जीवनभर दुःखले आर्जेको पार्टी पनि चिराचिरा भएको छ । 

यस घटनाले समकालीन नेतृत्वलाई भन्दा पनि भावी नेतृत्वलाई अपूरणीय क्षति पुगेको स्पष्ट छ । आफ्ना विरोधी वा प्रतिपक्षलाई थर्काउने, तर्साउने र ठेगान लगाउने रणनीतिका साथ अगाडि बढेको सरकारले आफ्नो मर्यादा बिर्से, नेतृत्वले आफ्नो औकात बिर्से र युवाहरूले आफ्नो भविष्य बिर्से । यसैको परिणति हो, संसदमा कसैले कुर्सी भाँच्ने धम्की दिए, कसैले बाँदरहरूको थलो भने, सडकमा कसैले खुट्टा भाँच्ने धम्की बोले, कसैले टाउको फुटाउने धम्की बोले, कोही बाँदरकै स्वरूप बने । यो सब हेर्दा हाम्रो देशको राजनीतिले हाम्रो समाजलाई कस्तो संस्कारतिर डोहोर्‍याउँदै छ भन्ने प्रष्ट हुन्छ ।

नेपालको राजनीतिक वृत्तमा पार्टी नेतृत्वका लागि बेलाबेला शैक्षिक योग्यताको कुरा नउठेको होइन, तर विकासोन्मुख देशहरूमा यो त्यति व्यावहारिक होइन । अर्काेतिर संविधानतः देशका नागरिकले भर्खरै स्वतन्त्रताको अनुभूति गरिरहेका बेला उत्पीडित समुदायको प्रतिनिधित्वको विषयमा यो आधार नै अवरोध बन्छ तर आधुनिक प्रविधिको युगमा सरकार तथा पार्टी नेतृत्वलाई नेपाली जनताले मात्र होइन, विश्वभरका प्रबुद्ध व्यक्तित्वहरूले, अन्तर्राष्ट्रिय निकायले नजिकबाट नियालिरहेका हुन्छन् । नेतृत्व क्षमता र लोकप्रियताको कसीमा तौलिरहेका हुन्छन् । 

नेपालसँग गर्ने हरेक कूटनीतिक व्यवहार, भविष्यको रणनीति,  मित्रवत् सम्बन्ध के कस्तो बनाउने भन्ने यसैमा भरपर्छ । तसर्थ नेतृत्व पंक्ति सभ्य र संस्कारित बन्नु असल पहिचान हो । तुच्छ बोली, भद्धा मजाक, असभ्य शैलीले देशको स्वाभिमान बढ्छ कि बढ्दैन ? इज्जत बढ्छ कि घट्छ महासय ?