विवर्तन अर्थात् चक्कर : अर्कै महाभारतको कल्पना

विवर्तन अर्थात् चक्कर : अर्कै महाभारतको कल्पना

रूपक अलङ्कार  |  साहित्य  |  श्रावण २३, २०७८

कुराको सुरुवात

टेकनाथ दाइको फेसबुक वालमा विवर्तनको आवरण टाँसिएदेखि  नै एउटा कौतूहल जागेको थियो यो कस्तो खालको पुस्तक होला भनेर । फेसबुकबाटै थाहा भयो यो उपन्यास रहेछ । भेट त वाल्मीकि विद्यापीठमा सँधैजसो भए पनि उपन्यासका बारेमा कुरा नहुने ! एक दिन घुस्रेरै भए पनि बुढासित उपन्यासका सम्बन्धमा जिज्ञासा राखेपछि  भने कुराकानी नहुने कुरै भएन । उपन्यास २०७७ मै प्रकाशन भएको थियो ।

दाइको झोलाबाट स्नेहवशात उपन्यास उम्काउन सफल भएँ म । यस  कुरामा मेरो लोभी मन खुसी भयो पनि । तर मैले किताब हात पारेको केही दिनमा लकडाउन भइगयो । म बोरी बिस्तार बाँधेर धादिङ झरेँ । पढ्ने कुरो त्यत्तिकै भयो । छापाखानाको तातो पनि नसेलाई हात परेको किताब पढ्न नपाउँदा खेद त लागेकै थियो साथै टेकनाथ दाइसित झ्याप्पै  भेट  भयो भने के प्रतिक्रिया के दिनुहोला भन्ने उखरमाउलो  त्यतिकै भइरहेको थियो । धन्न भेट नहुँदै मैले उपन्यास पढिभ्याएँ । पढेपछि केही त भन्नै पर्‍यो । अब उपन्यासकै कुरा गरौँ होला ।

 मुख्य कुरो

महाभारत संस्कृत साहित्यको महत्त्वपूर्ण प्राप्ति, पूर्वीय सभ्यताको वज्रलेप अभिलेख, आर्य संस्कृतिको शीतल चौतारी । हाम्रा पूर्वज महर्षिहरूका हजारौँ वर्ष त यसैको परिपूर्ति र परिमार्जनमा बिते होलान् । हजारौँ वर्ष सूत र वन्दी जनको घाँटीमा अड्किएर बस्यो होला महाभारत । कयौँ वर्ष भोजपत्रमा निदाएर पनि बस्यो होला । तर आर्यावर्तका मानिसलाई भक्ति, वीरता र कर्तव्यको आलम्बन पनि बनिरह्यो नै । दर्जनौँ कथा उपकथाका खोलानाला आफूमा समेटेर बनेको महानदी हो महाभारत ।

पृथा उपन्यासको मियो पात्र हो । उसका निर्णयहरू दीर्घ प्रभावकारी र गुरुत्वपूर्ण छन् । उपन्यास उसकै केन्द्रीयतामा घुमेको छ । शीर्षक करणमा पृथालाई महत्त्व दिएको भए उपन्यास नामका कारण पनि पाठकका नजरमा चाँडै पर्ने हुन सक्थ्यो । माहारारतमै पनि पृथाको उपस्थिति कम महत्त्वपूर्ण छैन ।

जयबाट महाभारत बन्ने क्रममा पक्कै पनि यसमा शाखा कथा जोडिए होलान् । मानिसका हर्क,खुसी, सङ्घर्ष, धोका, षड्यन्त्र सबैको शब्दमय महामूर्ति हो महाभारत । यो आफैँमा महाकाव्य, महाआख्यान, दर्शनशास्त्र र समाजको वृत्तचित्र हो । यो आफैँमा एउटा कामधेनु हो दुहुनेले जे दोहे पनि हुन्छ । समुद्र हो मन्थन गर्नेले अमृतदेखि विष जे पनि भेट्न सक्छ ।

महाभारतलाई उपजीव्य बनाएर नेपाली हिन्दी लगायतका सयौँ भाषामा हजारौँ साहित्य रचना भएका छन् । कालिदासको शाकुन्तल, भारविको किरातार्जुनीयम्, राजेश्वर देवकोटाको द्वन्द्वको अवसान, विनोदप्रसाद धितालको योजनगन्धा, निलम कार्कीको चिर हरणजस्ता कृतिहरूको आलम्बन  महाभारत नै हो । हालसालै पाठकका हातमा एउटा महत्त्वपूर्ण आख्यान आइपुगेको छ जसको नाम हो विवर्तन । यस उपन्यासको पनि पीठ भूमि महाभारत नै हो ।

 उपन्यासकारको कुरो

उपन्यासकार टेकनाथ दाहाल हुन् । पुस्तक इन्डिगो प्रकाशनबाट बजारमा आएको हो । संस्कृत वाङ्मय र नेपाली साहित्य दुवैमा उच्छ शिक्षा हासिल गरेका टेकनाथ दाहालको गहन प्रस्तुति र गम्भीर जीवनदृष्टि ले उपन्यास पठनीय त छँदै छ मननीय पनि छ । महाभारतकी सशक्त पात्र पृथा (कुन्ती)लाई प्रमुख चरित्रका रूपमा प्रस्तुत गरिएको यस उपन्यासमा  नारी अनुभूति प्रखर रूपले अभिव्यक्त भएको छ । महाभारतमा थोरै वर्णन भएको तर प्रभावपूर्ण सन्दर्भलाई नवीन दृष्टिकोणका साथ पस्किन उपन्यासकार सफल भएका छन् ।

 उपन्यासको चुरो

उत्तराधिकारीका विषयमा षड्यन्त्रपूर्ण बहस हुन थालेपछि पाण्डु आफ्ना दुई ओटी पत्नीका साथ वानप्रस्थी हुन्छन् पाण्डु र माद्री नफर्कने बाटो लाग्छन् भने पृथा पाँच जना पुत्रका साथ हस्तिनापुर फर्किन्छिन् । कथाको सङ्क्षिप्त सूत्र यति नै हो । पृथाले आफ्नो बाल्यकाल, आफूबाट कर्णको जन्म र हस्तिनापुरकी रानी हुँदासम्मको कथा आफ्ना प्रेमी धर्मलाई सुनाउँछिन् भने बाँकी कथा उपन्यासकार आफैँले भन्छन् ।

 परिवेशको कुरो

उपन्यासले महाभारतको पिठ्युँमा टेके पनि महाभारतकै त्यति वास्ता भने गरेको छैन। कथा, पात्र, घटना सबै महाभारतबाट लिए पनि उपन्यासकारले अर्कै महाभारतको कल्पना गरेका छन् । उपन्यासकारले आफ्नो कल्पनाशीलता र वर्णन कौशलको आकर्षक लेप लगाएर उपन्यासलाई सुगन्धित बनाएका छन् । महाभारतको मञ्च प्रायस् जसो मैदानमा खडा छ । त्यहाँको प्रकृति बाफिलो छ र हावा गर्मिलो छ । नदीको स्पर्श मुटुसम्म पुग्दैन । यस विषयमा विवर्तनको पर्यावरण अधिक आनन्दमय छ । साग र सिस्नु खाएको वेस आनन्दी मनलेको आदर्शमा पात्रहरू कन्दमूल खाएर रमाउँछन् । यो नेपाली आदर्श हो ।

विवर्तनको लोभलाग्दो पक्ष यसको परिवेश वा पर्यावरण हो । उपन्यासका पात्रहरू पहाड र हिमालको यात्रामा निस्किन्छन् ।  उपन्यासको प्राचिनत्व सिद्ध गर्नका लागि हंस कुट, नागशतक, चैत्ररथ, गन्धमादनजस्ता स्थानहरू आएका छन्, यिनै स्थान हुँदै मान्छेहरू मानसरोवर गइरहेका छन् । मानसरोवर जाने बाटो हिमालयको काख भनेको नेपालको मध्य पहाड हो । त्यसैले उपन्यासमा वर्णित भू सौन्दर्य हामीले बिहान ब्युँझेर हेर्ने हाम्रा हिमाल पहाड नै हुन् । उपन्यासले विशुद्ध नेपाली प्रकृति, नेपाली पर्यावरण र नेपाली जीवनशैलीलाई प्रस्तुत गरेको छ।

पात्रका नाम मात्र प्रतिस्थापन गर्ने हो भने उपन्यास महाभारतबाट निस्केर महाभारतको उकालो लाग्न थाल्दछ । उपन्यासमा मानिसहरू विभिन्न बाध्यतावश नगर र जनपद छोडेर रुसोको 'ब्याक टु नेचर' हुन्छन् ।ओडारमा यात्रा बिसाउँछन् कुटीमा जीवन । माटाको भाँडामा भोजन, बल्कलको आवरण र अतीतको स्मरण । सहयोगी गन्धर्व गाउँले छन् । जसोतसो कृषि कर्म गर्छन् निवार, गोधूम, शष्कुली यस्तै यस्तै फल्छन् । पेट भरिएकै छ ।

हिमपात, आँधीबेहरी, बर्खा, बाढी, पहिरो प्रकृतिका सबै स्वरूप देख्न पाइन्छ ।  पाठक उपन्यासमा वर्णित परिवेशमा अत्यन्त सहजताका साथ प्रवेश गर्छ र निस्किन चाहँदैन । उपन्यासमा वर्णित भूगोलको ऐतिहासिक एवम् भौगोलिक अध्ययन गर्ने हो भने निष्कर्ष अर्कै आउन पनि सक्छ तर अपन्यासले भूगोललाई नभएर पर्यावरणलाई महत्त्व दिएको छ।राजमहलको दुबोबाट बाहिर पाइलो नराखेका ऐयासीहरूलाई नियतिले वन वनै भड्किन बाध्य पारिदिन्छ ।  तर यस्तो दुर्गतिलाई खुसीसाथ सहने शक्ति तिनमा जन्मिन्छ नै ।

कथाको कुरो

कथाको कुरो सुरु गर्दा पृथाको नजरबाट महाभरतलाई हेर्ने प्रयास गरिएको छ विवर्तन उपन्यासमा । विवर्तन भनेको चक्कर हो । वेदान्तको भाषामा भनिने भ्रम, माया, अज्ञान सबै प्रकारान्तरले विवर्तनकै पर्याय हो । उपन्यासको प्रस्तुतिले दर्शनलाई भन्दा जीवनलाई महत्त्व दिएको छ । शीर्षक वेदान्तपरक भए तापनि लेखकको जीवनदृष्टि वेदान्त होइन । आइपर्ने समस्यासित जुध्दै जीवनलाई अझ गतिलो बनाउने तर्फको चिन्तन यहाँ देखिन्छ ।  

पाण्डुले वनमा तपस्या गरेर बस्ने महर्षिबाट जडलाई चेतन देख्नु नै अज्ञान हो भन्ने तत्त्व बोध गर्छ र झन् झन् परमात्माको खोजीमा लाग्दछ ।उसलाई भरभराउँदो जवानी भएका दुई ओटी श्रीमती पनि जडै हुन् जस्तो लाग्छ । जीवन र त्यसको रसप्रति पाण्डुमा यस्तो वैराग्य आउनुको कारण उसको ज्ञान भने हैन  नपुंसकता हो । कम्तीमा पृथासित बिहे गरेर कुनै पुरुषार्थ गर्न नसकेपछि उसले माद्रीसित बिहे गर्नु हुँदैन थ्यो पौरषहीनले स्वास्नी थुपारेपछि बिजोग त हुन्छ नै तर पाण्डुको त्यति बिजोग भएको छैन । पाण्डु परमात्माको खोजमा दौडे पनि उसको पृष्ठभूमि नियाल्दा आफैँसित भाग्दै हिँडेजस्तो देखिन्छ । उसभित्र औडाहाको आगो बलेको छ धुवाँको मुस्लो ॐकार भएर निस्केको छ ।

पृथा उपन्यासको मियो पात्र हो । उसका निर्णयहरू दीर्घ प्रभावकारी र गुरुत्वपूर्ण छन् । उपन्यास उसकै केन्द्रीयतामा घुमेको छ । शीर्षक करणमा पृथालाई महत्त्व दिएको भए उपन्यास नामका कारण पनि पाठकका नजरमा चाँडै पर्ने हुन सक्थ्यो । माहारारतमै पनि पृथाको उपस्थिति कम महत्त्वपूर्ण छैन ।  उसलाई दुर्वासाले यस्तो मन्त्र दिएका थिए जसका कारण जुनसुकै पुरुषलाई आफ्ना समीपमा उभ्याउन सक्ने तागत पृथामा थियो । विवाहपूर्व उसले सूर्यलाई बोलाई कर्ण जन्मियो ।

ममतालाई तिलाञ्जलि दिएर कर्णलाई पाखा लगाई । पाण्डुसित विवाहपश्चात् धर्मराज, वायु र इन्द्रबाट क्रमशः युधिष्ठिर, भीम र अर्जुन जन्मिए । पृथाकै  मन्त्रको प्रभावले  माद्रीले पनि अश्विनीकुमारबाट नकुल र सहदेवलाई जन्म दिई। वनवासकै क्रममा पाण्डु र माद्री उकालो लागे । पाँच छोरालाई अघि लगाएर पृथा हस्तिनापुर झरी । दैवी प्रभावको लेप लागेको महाभारतको कथाबाट अति मर्त्य लेप हटाएर मानवीय धरातलको काल्पनिक लेप लगाउने काम  यस उपन्यासमा भएको छ ।

 पल्ला गाउँबाट सूर्य आउँछ । प्रेम गर्छ उपहार दिन्छ गायब हुन्छ । धर्म वायु र इन्द्र पनि वानप्रस्थमा भेटिन्छन् । दुखमा सहयोग गर्छन् । सुखमा रमाउँछन् । जडीबुटी खोजिदिन्छन् दाउरा कन्दमूल  ल्याइदिन्छन् । लडेर खुट्टा मर्किदा बोकेर पनि हिँड्छन् । कुटी बनाइदिन्छन् । बिहे गरेर सँगै आएको पाण्डुले जित्न नसकेको दिल वनमा भेटिएका ययावरले जित्छन्  । दिल जितेपछि हुनु पर्ने कुरा हुने नै हो पृथा र माद्रीले पाँच ओटा छोरा पाउँ छन्  । आफ्ना रानी बाट सन्तान जन्मिदा पाण्डुलाई नि हर्क लाग्छ । सन्तानदाता त दान गर्दै बाटो लाग्दै गर्छन् । पाण्डु हस्तिनापुरको भविष्य स्याहारेर अघाउन्न ।

उपन्यासमा षड्यन्त्रपूर्वक पाण्डुलाई वन जान बाध्य बनाइएको कुरा उल्लेख गरिएको छ ।  तर ठ्याक्कै कुरो चाहिँ चपाउन खोजेजस्तो लाग्यो । यस प्रसङ्गमा हस्तिनापुरको राजप्रासादका उकुसमुकुस रोचक ढङ्गमा प्रस्तुत गरिएको छ । आफ्नो राज्यमा विदेशी खुबिया, गुप्तचर, दलाललाई निर्बाध स्वागत गर्दा प्रशासन कति कमजोर हुन्छ भन्ने कुरा छर्लङ्ग पारिएको छ । नियोग विधिबाट वंशएइस्तार गर्ने परम्पराबाटै पाण्डुका दाजुभाइ जन्मेका हुन् । तर पाण्डु र श्रीमती अघि लगाएर वन गयो । पृथाको धर्मप्रतिको अनुरागबाट तर्सियो । मातृत्वको अधिकार नारीलाई भएको ब्यहोराको पत्र सिरानीमा राखेर वनतिर लाग्यो । सँगै बसेर पनि मुखले भन्न पुरुष अहङ्कारले रोक्यो । पाण्डुको अनुमतिपछि पृथा बर्सैपिछे गर्भवती हुन थाली र माद्री पनि लाभान्वित भई ।

इतिहासकारहरू आदिम साम्यवादी युग पितृसत्तात्मकता थियो भन्छन् । तर यहाँ पाण्डुको परिवार पनि मतृसत्तात्मक देखिन्छ । सत्ताको प्रमुख हो पृथु हो । पाण्डु त उसको रक्षक मात्र हो । जेठी भएकी नाताले माद्रीमाथि पनि उसकै हुकुम चल्छ । त्यति मात्र हैन धर्म, वायु, इन्द्र आदिलाई पनि आवश्यकता अनुसार काम लगाउँछे । बोल्ड प्रकृतिकी गृह स्वामिनीको चरित्र पृथामा देखिन्छ । वरमाला पहिर्‍याको पतिलाई पिँढीमा सुताएर अर्कै पुरुषलाई दैलो उघार्ने हैसियत उसमा देखिन्छ ।

जसको वीर्य दानबाट सन्तान जन्मिए तिनैलाई सन्तान सुखबाट बेदखल गर्ने साहस पनि पृथामै छ । उसले जसको भन्यो सन्तान उसैको हुन्छ । आमाको नामबाट नागरिकता बाँड्ने आँटिली नारीका रूपमा उभिएकी छे पृथा । उसको क्रियाकलापमा कसैले औँलो ठड्याएको छैन । उसको चरित्रलाई कलङ्कित बनाउन खोजिएको पनि छैन । बच्चा जन्माउने  योग्यता र क्षमता नारीसित मात्र भएकाले यसको अधिकार पनि नारीलाई नै हुनुपर्छ भन्ने आधुनिक नारीवादी चिन्तनलाई उपन्यासले महत्त्व दिएको छ ।

पौराणिक कालमा मातृ प्रभावलाई महत्त्व नदिएको होइन । इतराको पुत्र ऐतरेय, बिनिताको पुत्र वैनतेय, पृथाको पार्थ, कुन्तीको कौन्तेय जस्ता उदाहरण पढ्न पाइन्छ । पितृसत्तात्मक सामन्ती युगले नारीलाई स्वामिनीबाट दास, अबला बनाइदियो । तर अहिलेको समयमा नारी हक अधिकारका विषयमा उठेका कुरालाई उपन्यासले सम्मान गरेको छ । केही वर्णविन्यासगत र पदसङ्गतिगत त्रुटिहरू उपन्यासमा  देखिएता पनि विषय र प्रस्तुतिका आधारमा उपन्यास अत्यन्त रोचक छ ।