अवचेतन कल्पना लागि आदर्शमय खाका: प्रजातन्त्रका पक्षमा नयाँ पुनर्जागरणको शङ्खघोष

फर्कलान् र ती दिनहरू

अवचेतन कल्पना लागि आदर्शमय खाका: प्रजातन्त्रका पक्षमा नयाँ पुनर्जागरणको शङ्खघोष

हरिविनोद अधिकारी  |  दृष्टिकोण  |  श्रावण २३, २०७८

जीवनको करिब ७ दशकको लामो यात्रामा पनि आफूलाई केटाकेटीको अवस्थामा पुगेको जस्तो लाग्छ, जब पुराना यादहरू गुजुमुज्जु भएर जेहेनमा मडारिन थाल्छन् । त्यो बेलामा सानो सम्झने गरिन्छ, जब बाआमालाई सम्झन थालिन्छ । आफूले मान्ने मानिसहरूको अनुहार स्मरण हुन थाल्छ । फेरि  तत्कालै जब छोराछोरीहरू, नातिनीहरू आफ्ना अघिल्तिर आउँछन् र आफू नै बाआमापछिको वृद्ध हुँ आफ्नो परिवारको भन्ने लाग्छ अनि म आफूलाई बूढो भएजस्तो लाग्छ । 

हुन पनि नेपाली समाजमा औसत आयु अधिकतम ७१ वर्ष पुगेको छ क्यारे, त्यसमा अझै पुगिएको छैन तर नेपाली कानुनअनुसार ज्येष्ठ नागरिक भइयो किनभने सरकारी नियमअनुसार शिक्षक पदबाट अनिवार्य अवकास पाएको पनि ७ वर्ष भइसकेको छ, पेन्सनवाला जो भइएको छ । 

पेन्सनवाला हुने पनि गज्जबको प्रसङ्ग छ । जीवन त एउटा समुद्र हो रहेछ । ठूलो नदी मात्र होइन, समुद्र नै हो जस्तो लाग्न थाल्यो । समयको छालले कुन किनारामा कहिले पर्‍याउँछ भन्ने साँच्चै थाहा नहुने रहेछ । सायद त्यसैलाई पूर्वीय दर्शनले नियतिको नाम दिएको होला । नियतिले डोहोर्‍याउने अनि कर्मले त्यसको व्यवस्थापन गर्ने हो क्यारे ! सबैले जानेर या नजानेर कोको केके बन्ने भनेर जीवनमा आफ्नो डुङ्गा हेलेका हुन्छन् तर सोचेको गन्तव्यमा नपुग्दै या त दुर्घटनामा परेका हुन्छन् या कुनै नयाँ समस्यामा जेलिन पुग्छन्, जसको कुनै अनुमान नै पहिले गरिएको हुँदैन । 

अहिलेको पुस्ता त कम्तीमा पनि उसलाई यस्तो बन या नबन भन्ने त पथप्रदर्शन गरिन्छ या गर्ने विद्यालय, महाविद्यालयहरू देखिन्छन् तर हामी आफ्नै पुस्ताबाट आधुनिक शिक्षाबाट होमिएकाहरूका लागि या त असल पथप्रदर्शक फेला परेन या त आफूलाई पथप्रदर्शन ठान्नेहरू नै जीवनको नाउँलाई कता लाँदै छु भन्ने भेउ नै पाएका थिएनन् । जसलाई बाटो नै थाहा छैन, उसले के बाटो देखाउन सक्छ र ? रातको जङ्घार हुनेरहेछ नयाँ समय त, फेरि नयाँ बाटो कस्तो बनाउने हो र कुन दिशातिर डोहोरिने हो भन्ने । 

पेन्सन पनि लिइएको छ माध्यमिक शिक्षक पदबाट अनिवार्य अवकासपछिको समयमा । कहाँ लागेको थियो र जिन्दगीभर शिक्षक भएर पढाइएला भन्ने ?, राजनीतिको चस्का जो पसेको थियो । लाग्थ्यो, यो देशमा सबै कुरा प्रजातन्त्रको अनुपस्थितिमा या भनौँ राजा महेन्द्रले बहुदलीय व्यवस्थाको बिनाकारण हत्या गरेकाले त्यसको पुनर्स्थापनापछि नेपालमा रामराज्य आउनेछ अनि मात्र जीवनको एउटा नयाँ अध्याय सुरु हुनेछ । 

जोजो जहाँ रहे पनि, हामी पेसाकर्मीहरू, पढेलेखेकाहरू या चेतनशील नागरिकहरू जहाँजहाँ व्यक्तिगत रूपमा या समूहगत रूपमा रहे पनि चेतनाको दियो बालौँ र प्रजातन्त्रका पक्षमा नयाँ पुनर्जागरणको शङ्खघोष गरौँ अनि मात्र हाम्रो अवचेतनमा रहेको हिजोको कल्पना विपनाका परिणत हुनेछ । 

मेरो सम्झनामा आउँछन् ती समयहरू, जुन अहिले पनि अतीतको झझल्कोका रूपमा बेला मौकामा सम्झन थालिन्छ सुदूर कल्पनाका रूपमा । भन्छन् नि, एक पटक कल्पना गरेका कुराहरू मस्तिष्कमा रेकर्ड भएर बस्छन्, अवचेतन मस्तिष्कमा रहेका हुन्छन् । सपनामा देखिने कुरा पनि तिनै हुन् भन्छन् र विपनामा पनि तिनै अतीतका सुन्दर कल्पनाहरूले भविष्यको बाटो कोर्ने पनि हुन् ।

विद्यार्थी बेलादेखि नै प्रजातन्त्रको बिगुल फुक्ने काम गरियो व्यक्तिगत रूपमा, सामूहिक रूपमा । एउटा मिसन नै त्यही प्रजातन्त्र बनेको थियो । एउटा कल्पना थियो प्रजातन्त्रमा जति बिग्रेको भत्केको छ, ती सबै कुरा एकै पटक स्वतः तयार हुनेछन् । प्रजातन्त्र एउटा पद्धति हो, जसले सबैलाई खुला अनुशासनमा बाँध्नेछ र एउटा आदर्श राज्यको निर्माण गर्नेछ । 

भनिन्थ्यो पनि त्यही तर जानेको के थियो भने, पञ्चायती व्यवस्थाको अन्त्य नै प्रजातन्त्र हो । त्यसका लागि प्रजातन्त्रवादीहरूले ज्यान पनि दिए, बलिदानको वाचा गरेर सिद्धान्तप्रतिको प्रतिबद्धता पूरा गर्ने अठोट व्यक्त गरे । कति जेल बसे, कतिले भारतको प्रवासमा बसेर प्रजातन्त्रका लागि अनवरत नयाँ संगठनको खाका तयार गरे किनभने नेपालमा प्रजातन्त्रको पक्षमा बोल्न प्रतिबन्ध थियो । 

पञ्चायतको पक्षमा र प्रजातन्त्रका विरोधमा जे गर्न पनि छुट थियो । कतिले त त्यही छुटको प्रयोग गरेर आफ्ना गतिविधि अघि बढाए र त्यसको पनि २ समूह देखिएका थिए- जस्तो कि जय पञ्चायत, जय राजा भन्नेहरू र देखिएर प्रजातन्त्रबाहेकको व्यवस्थाका लागि संगठित भएकाहरू, जसलाई हामीले त्यसबेलामा भूमिगत कम्युनिस्टकै रूपमा चिनेका थियौँ । त्यहाँ बलिदानी भाव थियो, जुन उद्देश्यले भए पनि तर उनीहरू प्रजातन्त्रको विकल्पका शक्ति हौँ भन्थे । 

सायद बीपी कोइरालाले इन्डोनिसियाका कम्युनिस्ट नेता कमरेड अडिटको फर्मुला भन्नुभएको थियो । इन्डोनेसियामा अडिटलाई तह लगाउन भनेर निरपराध कम्युनिस्टहरू मारिए भने नेपालमा पनि जनवादका लागि संगठित युवाहरूको जमातलाई दमन गरिएको थियो । तर, उनीहरू भने भूमिगत भएकाले चिन्न समस्या थियो र सायद शङ्काको फाइदा लिनेले लिए, कति त सहादत दिनेमा पनि परे । 

राजनीतिमा लाग्नेहरूले शिरमा कफन बाँधेर  हिँडेका हुन्छन् भनेझैँ प्रजातन्त्र, मानवअधिकारको र स्वतन्त्र दलीय व्यवस्थाको पक्षमा देखिनेहरूको त झन् कुरै भएन । 
हामी स्वतन्त्रताको पक्षका थियौँ र त खुला राजनीतिक अधिकारका लागि समूहबद्ध रूपमा लागेका थियौँ र त्यो समूहलाई हामी त नेपाली कांग्रेस भन्थ्यौँ तर त्यो प्रतिबन्ध थियो र सुरुमा नेपाल विद्यार्थी संघ र पछि नेपाल राष्ट्रिय  शिक्षक संगठन र प्रजातन्त्र पुनर्स्थापनापछि नेपाल शिक्षक संघमा खुला रूपमा लाग्यौँ तर कल्पनामा त्यही प्रजातन्त्र नै थियो, जो आज पनि यथावत् छ । त्यो कल्पनाको प्रजातन्त्रको स्थापना अझै हुन सकेको पाइँदैन ।

एउटा आदर्श समाज, खुला समाज, मानवअधिकारसहितको समाजको पक्षमा जहाँ अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत हुन्छ भनेर लागेका थियौँ । हाम्रालागि ती सबै नचाखेका फल थिए, स्वाद थाहा थिएन तर पढेर, सुनेर दीक्षित भएका थियौँ सीमित स्रोतबाट । महाभारतमा एउटा प्रसङ्ग रहेछ अस्वत्थामालाई उनकी आमा कृपीले दूध भनेर चामलको चौलानी दिएकी रहिछन् । खल्लो अलिक धमिलो पानीलाई उनले दूध नै भनेर पिउँदै थिए । एक दिन जब साँच्चै दूध पिउने मौका पाए अनि थाहा भयो दूधको स्वाद कस्तो हुन्छ भन्ने । त्यसपछि जब आफ्ना पुराना मित्र पाञ्चाल नरेश द्रुपदको दरबारमा गएर पुराना मित्रलाई आफ्नो पुरानो सम्बन्धको सम्झना गराउँदा उनले गुरु द्रोणाचार्यलाई अपमान गरे, महाभारतको युद्धका पछिल्तिरको एउटा कारण त्यो पनि हो र राजा द्रुपदको राज्यलाई दुई भागमा विभाजन गरेर एउटा भागको राजा भएका थिए गुरु द्रोणाचार्य । 

त्यही एकले अर्कालाई गरेको अपमनका कारणले महाभारतको युद्ध भयो, राजा द्रुपदले द्रोणाचार्यलाई मार्न सक्ने छोराको यज्ञबाट उत्पन्न गराए र सँगै छोरी पनि  जन्मिइन् कृष्णाका रूपमा, जसलाई संसारले आज पनि द्रौपदीको रूपमा सम्झन्छ । दूधको स्वादका कारणले चर्केको विवादले महाभारतको लडाइँको निहुँमा राजा द्रुपद पनि मारिए, द्रुपद राजाका युवराज धृष्टद्युम्नले गुरु द्रोणाचार्यको हत्या गरे जुन कामका लागि उनको जन्म भएको थियो । 

बुझिन्छ, त्रिकालदर्शी गुरु द्रोणलाई त्यो कुरा थाहा थियो किनभने त्यो विवादको परिणाम थियो र नियतिले तोकेको अवश्यम्भावी परिणाम थियो । वास्तवमा धृष्टद्युम्नलाई शिक्षा दिने नै द्रोण थिए र उनलाई थाहा थियो यही राजकुमारले मेरो हत्या गर्नेछ । नेपालमा पनि त्यस्तै त भयो, राजतन्त्रले बहुदलीय प्रजातन्त्रको हत्या गरेँ भन्ने राजतन्त्रले एक दिन तिनै राजाले कमजोर ठानेका शक्ति मिलेर घाम लागेको बीच दिउँसो राजाले आफ्नो दरबार छाडेर  जानुपरेको थियो ।

२६ चैत २०४६ मध्यरातमा प्रजातन्त्र पुनर्बहाली भयो र पनि त्यो प्रजातन्त्रको स्वाद अझै आएको छैन । कहिले आउने हो, कहिले नेपाली जनताले साँच्चै प्रजातन्त्रको स्वाद पाउने हुन् ? थाहा छैन । त्यही प्रजातन्त्रको खोजीमा लाग्दालाग्दै हाम्रो पुस्ताले 'आकाशको फल आँखा तरी मर' भनेजस्तै भएको छ ।

हामी शिक्षा क्षेत्रमा , विद्यालयको सेवामा रहनेहरूका लागि केही सुविधा थिएन, जुनबेलामा म धेरै शिक्षकहरूले शिक्षण सेवाको सुरक्षा चाह्यौँ, जसमा प्रचलित तलब सरकारले बेहोरोस्, स्थायी गरोस्, सुरक्षाका लागि सञ्चय कोषको व्यवस्था गरोस्, बिरामी भएको बेलामा खर्च बेहोरोस्, निवृत्त भएपछि भावी जीवनको सुरक्षाका लागि निवृत्तिभरणको व्यवस्था होस्, इन्सोरेन्सको व्यवस्था होस् भन्ने सुविधाको कुरामा लाग्यौँ र अहिले ती कुराहरू छन् । 

राजनीतिले बाटो त्यहीबेलामा बिराउन थाल्यो, जब प्रजातन्त्रले आफ्नो गति लिनुपर्थ्यो र जनताको सेवामा सम्पूर्ण राजनीतिक प्रणाली लाग्नुपर्थ्यो । जनतालाई प्रतिबन्धित अवस्थामा देखेका वा देखाइएको सपनाको धेरै प्रतिशत आज पनि कार्यान्वयन हुन सकेको अवस्था छैन अनि म जस्ता धेरै कार्यकर्ताहरूले, स्वप्नजीवीहरूले ठान्यौँ कि बरु यही शिक्षक पेसालाई निरन्तरता दियौँ भने स्वतन्त्र रूपमा प्रजातन्त्रको पक्षमा बोल्न, लेख्न र चेतना फैलाउन कसैले रोक्न सक्दैन बरु भविष्यको जीवनको बाँकी समय  कम्तीमा पनि नयाँ पुस्तालाई प्रजातन्त्रको पक्षमा लगाउन सकियोस्, चेतनाको दियो बाल्न सकियोस् र भविष्यमा आफ्नो पनि सुरक्षा हुन सकोस् अनि स्वार्थी दुनियाँमा आफ्ना  सन्तानका लागि केही भए पनि सुरक्षा दिन सकियोस् भनेर म जस्ता धेरै व्यक्तिहरअंले पेन्सनको विकल्प राजनीति बनाउन सकेनौँ । 

मेरा धेरै अग्रजहरू जो जेल, नेल खपेर पनि शिक्षण पेसामार्फत् चेतना फैलाउने काममा लागिरहनुभयो र कम्तीमा आफ्नो बाँकी जीवनका लागि पेन्सनवाला हुनुभयो । त्यसैल मैले भनेको नि, आमनिर्वाचन २०४८, २०५१, २०५६ मा कुनै पनि निर्वाचनका लागि यस कारणले मोह गरिएन कि यदि अनिश्चित भविष्यमा हामफालेको भए त्यही पेन्सन पनि आउने थिएन ।

मलाई मेरा सहकर्मी शिक्षक साथीहरू भन्ने गर्थे- 'जानुहोस् नेताहरूलाई भन्नुहोस्- राम्रो ठाउँमा नियुक्ति लिनुहोस् ।' मैले के बुझिनँ भने ममा त्यस्तो गुण विकास हुनै सकेनछ र बरु दैनिक रूपमा विद्यालयमा, क्याम्पसमा, पत्रपत्रिकामा लेखेर आफूलाई अद्यावधिक गर्ने अनि जीवनलाई चलाउने काम गरेँ । त्यसैले मैले भनेको- जीवन निरन्तर चलिरहेको छ तर कसरी के सम्झेर जीवनको डुङ्गा संसारमा हेलेको थिएँ, ती सपना अहिले सम्झेर हिजोका दिनहरूप्रति पश्चात्ताप गर्नुको कुनै कारण पनि छैन किनभने ती दिनहरू अब फर्केर आउँदैनन् तर मेरा कल्पनाको प्रजातन्त्र कतै हराएको छैन र पनि पेन्सनवाला भएर बसिएको छ ।

थाहा छैन, त्यो आदर्श समय कहिले आउनेछ, एक दिन आउनेछ किनभने प्रजातन्त्रले बाटो अझै नसमाए पनि बाटो तर खाकासहितको बनेको छ । जसरी अस्वत्थामाले दूधको स्वाद पाएपछि दूधको खोजी गरे, त्यस्तै नेपालीहरूले प्रजातन्त्रको स्वाद पाएका छन् । झन् अहिलेको पुस्ताका लागि प्रजातन्त्रकै लागि प्रतिबन्धित हुनु नपरोस्, आदर्श समाजको कल्पना पूरा होस्, कुनै पनि नेपाली भोकै बस्नु नपरोस्, ओखती मूलो नपाएर अकालमा मर्नु नपरोस्, शिक्षाको उज्यालो घामबाट बञ्चित हुनु नपरोस्, कसैले पनि छानाको कमीले आकाशमुनिको बास बस्नु नपरोस्  र सामाजिक न्यायको सिद्धान्तबमोजिम मानवीय सुविधाबाट बाहिर बस्नु नपरोस् । मान्छेले मान्छेलाई विभेद नगरून् । 

हामीले बीपीको सिद्धान्त भनेर यही बुझेका थियौँ तर आज त्यस्तो सिद्धान्त बुझ्ने त कता हो कता, हराउनुपरेको छ कुहिराको कागझैँ । हो, त्यही भएर शिक्षाको साँच्चै सदुपयोग हुन सकेको देखिँदैन । जबसम्म शिक्षाले मानवीय आधारको पक्षका चेतनशील नागरिक बनाउन सकिँदैन, तबसम्म प्रजातन्त्रको प्रतिफल पाउनेछैनौँ किनभने आज सबै नेपालीहरूले आफूलाई प्रजातन्त्रको पक्षमा उभ्याएका छन् र एक पटक प्रजातन्त्रप्रति समर्पण भाव आउनेछ, त्यसलाई स्वार्थी समूहबाहेक अरूले बिर्सन सक्दैनन् । 

अहिलेको युद्ध भनेको आन्तरिक रूपमा आफैँलाई प्रजातन्त्रप्रति न्यौछावर गर्नुपरेको छ, स्वार्थी तत्त्वका विरुद्धमा चेतनाको प्रस्फुटनका लागि नयाँ युद्ध चर्काउनुपरेको छ । 

जोजो जहाँ रहे पनि, हामी पेसाकर्मीहरू, पढेलेखेकाहरू या चेतनशील नागरिकहरू जहाँजहाँ व्यक्तिगत रूपमा या समूहगत रूपमा रहे पनि चेतनाको दियो बालौँ र प्रजातन्त्रका पक्षमा नयाँ पुनर्जागरणको शङ्खघोष गरौँ अनि मात्र हाम्रो अवचेतनमा रहेको हिजोको कल्पना विपनाका परिणत हुनेछ । 
क्रमशः