प्रधानमन्त्रीज्यू, तपाईंलाई मैले पनि ज्ञानेन्द्र शाहलेझैँ 'अक्षम' भनूँ ?

प्रधानमन्त्रीज्यू, तपाईंलाई मैले पनि ज्ञानेन्द्र शाहलेझैँ 'अक्षम' भनूँ ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  श्रावण २४, २०७८

सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाजीले भिडियो सन्देशमार्फत भन्नुभयो, 'सरकारको एकल प्रयासले कोरोना नियन्त्रण नहुने देखियो । त्यसैले म तपाईंहरूसँग आग्रह गर्छु, अत्यन्त आवश्यक परेको बेला मात्र बाहिर निस्कनुहोस् ।'

यस महान् एवं अत्यन्त महत्त्वपूर्ण कार्यका लागि समस्त देशबासीले उहाँलाई धन्यवाद दिनै पर्छ ।

देउवाजीले कोरोना महामारीलाई परास्त गर्ने एक मात्र अस्त्र खोप रहेको बताउँदै अहिले विभिन्न उमेर समूहलाई खोप लगाउने कार्य जारी रहेको जानकारी पनि दिनुभयो ।

सम्माननीय प्रधानमन्त्री देउवाजीको सम्पूर्ण परिचय खुलाउने मसँग नैतिक अधिकार छैन । मैले माइजू भन्ने एक जना महिला हुनुहुन्छ बारबरा थापा । उहाँले कोभिशिल्ड भ्याक्सिनको दुवै डोज लगाइसक्नुभएको छ । हिजो २४ साउनमा उहाँमा कोरोना पोजिटिभ देखिएको छ । उहाँले मसँग सोध्नु भयो, 'खोइ कस्तो एक मात्र अस्त्र हो यो भ्याक्सिन भन्ने ?'

प्रधानमन्त्रीज्यू, म उहाँलाई के जबाफ दिऊँ ? खैर, उहाँ मेरो माक्षजू हो, उहाँलाई स्वस्थ बनाउने जिम्मा मेरो । मेरो यौगिक उपायले म उहाँलाई ५ दिनमा स्वस्थ बनाउँछु ।

तर, के तपाईं र तपाईंको सरकारले खोप, खोप, खोपको दोहोरी गाउनेबाहेक अरू पनि केही काम गर्छ अथवा पूर्वपरिचित तपाईंको विशिष्ट शैलीअनुसार नै सरकारको काम कारबाही चलिरहन्छ ?

प्रधानमन्त्रीज्यू, कोरोनाको चेन नतोडेसम्म भ्याक्सिनले भाङ-धतुरो केही पनि गर्दैन । नेपालमा २३ साउनसम्म कुल कोरोना संक्रमित ७ लाख १२ हजार ७४० जना पुगेका छन् । महोदय, यसमध्ये ६ लाख ६७ हजार २७० जना निको भइसकेका छन् । नेपालमा संक्रमित भएर निको हुनेको प्रतिशत ९३.६२०३९४५३३७७१०८ रहेको छ । १० हजार ३८ जनाको निधन भएको छ ।

नेपालमा कोरोना संक्रमण भएर हुने मृत्यु दर १.४०८३६७७०७७१९५०५ रहेको छ । आजसम्म सक्रिय संक्रमित संख्या ३५ हजार ४३२ रहेको छ अर्थात् नेपालमा सक्रिय संक्रमितको प्रतिशत ४.९७१२३७७५८५०९४१४ रहेको छ ।

कोरोना संक्रमणको दोस्रो लहर समाप्ति उन्मुख भएको अवस्था एवं तेस्रो लहर व्यापक रूपमा आई नसकेको अवस्थामा सक्रिय संक्रमित झण्डै ५ प्रतिशत हुनु सोचनीय मात्र होइन, चिन्ताजनक अवस्था हो ।

महोदय, आज नेपालमा कुल १३ हजार ५७३ जनाको परीक्षण गरिएकामा ३ हजार २१८ जना संक्रमित थपिएका छन् । यो भनेको २३.७०८८३३७१३९९१०१ प्रतिशत संक्रमण दर हुनु हो । नेपालमा प्रतिदिन कोरोना परीक्षणको संख्या ३५ हजारसम्म नपुर्‍याए कोरोना संक्रमण नियन्त्रणमा कुनै ठोस उपलब्धि हात लाग्दैन । यस विषयमा थप के लेख्ने ? जे लेखे पनि तपाईंले पढ्ने होइन, पढे पनि कुनै अमल गर्ने होइन ।

म तपाईंको वर्तमान सरकार र यसभन्दा पहिलाको सरकारको तुलना यसरी गर्छु । पूर्ववर्ती सरकारको पालामा कोरोनाका दुवै लहरमा नेपालमा यसको मृत्यु दर १.४०८३६७७०७७१९५०५ प्रतिशत रहेको थियो । पहिलो लहरमा त भ्याक्सिन थिएन, दोस्रो लहरको बेलामा केही लाख मानिसलाई भ्याक्सिनको पहिलो खोप लागेको थियो । तर, महोदय, तपाईंको पालामा देशमा झण्डै २२-२३ लाखलाई भ्याक्सिनको दुवै डोज र झण्डै ४२-४३ लाखलाई पहिलो डोज लगाइसकिएको छ ।

तपाईं देशको कार्यकारी प्रमुख हुँदा धेरैले भ्याक्सिन लगाइसकेका कारण तेस्रो लहरको मृत्यु दर १.४०८३६७७०७७१९५०५ भन्दा कम्ती हुनुपर्‍यो । यो दर यति नै अथवा यसभन्दा बढी भए म पनि ज्ञानेन्द्र शाहलेझैँ तपाईंलाई 'अक्षम' भन्न बाध्य हुनेछु ।