बढ्दो कोरोना कहर, संकट र प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञात हुनुपर्ने तथ्य

बढ्दो कोरोना कहर, संकट र प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञात हुनुपर्ने तथ्य

ज्ञानमित्र  |  दृष्टिकोण  |  श्रावण २७, २०७८

काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गरी उपत्यकामा बेलुकी ८ बजेदेखि सार्वजनिक तथा निजी सवारी आवागमनमा प्रतिबन्ध लगाएको छ ।

सायद यी महाशयहरूले भारतीय सिनेमा ‘शहंशाह’को गीत  ‘अंधेरी रातो में, सुनसान राहो पर हर जुल्म मिटाने को एक मसीहा निकलता है जिसे लोग शहंशाह कहते  है’ सुनेर यस्तो निर्णय लिएको हुनुपर्छ । 

शहंशाहको सट्टा उनीहरूलाई ‘कोरोना निकलता है’ लाग्यो होला । तसर्थ, उपत्यकामा बढ्दो संक्रमणलाई रोक्न उनीहरूले पसल तथा व्यवसाय पनि बेलुकी  बजे नै बन्द गर्नुपर्ने उर्दी जारी गरेका छन् ।  
 
उपत्यकाबासी सावधान रहनुहोला- प्रशासनका अनुसार कोरोना भाइरस शहंशाह फिल्मका अभिताभ बच्चनझैँ अँध्यारो हुनासाथ बाटोबाटोमा, चोकचोकमा सिकार खोज्दै आइपुग्छ ।

प्रजिअहरूको बैठकले २८ साउनदेखि ८ भदौसम्म  निषेधाज्ञा लम्ब्याइएको र निषेधाज्ञामा झन् कडाइ गर्ने निर्णय पनि गरेको समाचार छ । निषेधाज्ञामा झन् कडाइ गर्ने शब्द ३ वटै प्रजिअले कोरोनाको दोस्रो लहरताका भएको निषेधाज्ञामा पनि बारम्बार प्रयोग गरेका थिए ।

यसैगरी अर्को समाचारअनुसार महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक जनक भट्टराईले आफ्नो टोलीका मातहत ‘तपाईंको मास्क ख्वै ?’ अभियान चलाउने भनेका छन् । यस अभियानअन्तर्गत मास्कको प्रयोग बढाउन र अनिवार्य मास्क लगाउनुपर्ने चेतना फैलाउन प्लेकार्ड तथा गाडीमा स्टिकर र ट्राफिक प्रहरीको शरीरमा फित्ता लगाएर सचेतना फैलाइनेछ ।  

अब बाटोमा एक्लै हिँडिरहेको, बाइकमा हिँडिरहेको तथा प्रत्येक गाडी रोकेर ट्राफिकले सोध्नेछ, ‘तपाईंको मास्क ख्वै ?’

सायद मास्क वितरणको प्रहसन पनि मन्चित हुन्छ कि ?

कोरोना संक्रमण हुन नदिन, संक्रमणको चेन तोड्न मास्कको उपयोगिता गत वर्षदेखि नै स्थापित छ तर मास्कको अनिवार्य प्रयोग कुन बेला ? यसको स्पष्ट र प्रामाणिक उत्तर हो- जुनबेला तपाईं कुनै अर्को मानिससँग २ मिटरभन्दा वर आउने अथवा २ मिटरको दायराभित्र आउने परिस्थिति हुन्छ । यसबेला मास्क प्रयोग नगर्ने मानिस दुस्साहसी होइन, मूर्ख अथवा आत्महन्ता हो । 

उसको यस लापरबाहीले उसको मात्र होइन, अन्यअन्यको जीवनमा पनि संकट आउन  सक्छ । तर, एक्लै हिँडिरहँदा अथवा कोठामा एक्लै अथवा आफ्नो परिवारका सदस्य मात्र भएका बेला  २४ घण्टा नै मास्कको प्रयोग आफ्नै लागि घातक हुन सक्छ ।

कोरोना संक्रमित भएको मानिसले पनि घरमा आइसोलेसनमा एक्लै कोठामा बसेका बेला मास्क लाउनु भनेको अक्सिजनको ‘इनटेक’ कम गर्नु हो । हो, ऊ बसेको कोठामा घरको कुनै अन्य सदस्यले प्रवेश गर्दा अथवा ऊ आफैँ कुनै बेला कोठाबाट बाहिर आउँदा उसले मास्कको अनिवार्य प्रयोग गर्नुपर्छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाजी आफ्नो पहिलो प्राथमिकता खोप, खोप, खोप भन्नुहुन्छ । स्वास्थ्य राज्यमन्त्री आफ्ना नेताको हाँमा हाँ मिलाउँदै गाउनुहुन्छ- खोप, खोप, खोप । सम्बन्धित विज्ञहरू विभिन्न प्रलोभन एवं पदीय अथवा व्यावसाययिक बन्धनले राम्ररी नापतौल गरेर मात्र मुख खोल्नुहुन्छ । 

भ्याक्सिनबारे उहाँहरूको ‘रिजर्भेसन’ बुझेर पनि बुझी नसक्नु छ । दुनियाँलाई थाहा भइसकेको छ कि कुनै पनि खोपले कोरोना संक्रमण हुनबाट सुरक्षा दिँदैन । खोप लगाएको मानिसमा यदि खोपले काम गरेको छ, एन्टिबडी बनाएको छ भने संक्रमित हुँदा उसलाई अन्य खोप नलगाएको मानिसको तुलनामा संक्रमण जोखिम अवस्थासम्म नपुग्ने आधार मात्र हो खोप । 

विभिन्न देशबाट प्राप्त भइरहेका तथ्यांकले यस कुराको विश्वसनीयतामा पनि ह्रास आइसकेको छ । इङ्ग्ल्याण्डमा डबल डोज खोप लाएका ५०० जना भन्दा बढी मानिस आईसीयूमा भर्ना हुन पुगेका छन् । कोरोनाको डेल्टा र डेल्टा प्लस भेरिएन्टले खोपको प्रभावकारिता ४० -७० प्रतिशतसम्म घटाइसकेको छ । नेपालमा वर्तमान समयमा यी दुवै भेरिएन्टको कहर पुष्टि भइसकेको छ ।

सम्माननीय प्रधानमन्त्रीज्यू, खोप भनेको कोरोना संक्रमित हुँदा व्यक्तिको ‘इम्युन सिस्टम’ले भाइरसविरुद्ध लड्ने क्षमता आर्जन गर्नु हो । खोपका रूपमा शरीरमा ‘फरेन इलिमेन्ट’ अर्थात् भाइरस अथवा भाइरसको ‘जेनेटिक म्याटेरियल’ छिराएर इम्युन सिस्टमलाई पूर्वतयार गर्नु हो । 

भविष्यमा यदि यस्तो किसिमको ‘फरेन इलिमेन्ट’ फेरि आइपुग्यो भने पहिलादेखि तयार भएको हतियार (एन्टिबडी) ती ‘फरेन इलिमेन्ट’लाई खतराको स्तरसम्म पुग्नुभन्दा पहिला नै सखाप बनाइदिनु नै खोपको फण्डा, रहस्य, विज्ञान हो । कुनै पनि खोप निर्माता कम्पनीले आफ्नो खोपले कोरोना संक्रमण हुनबाट रोक्ने दाबी गरेका छैनन् ।

प्रत्येक देशले कोरोना भाइरस र संक्रमणसँग २ किसिमका मोर्चामा युद्ध लड्नुपर्ने हुन्छ । पहिलो मोर्चा भनेको धेरैभन्दा धेरै मानिसलाई खोप अभियानका लाभार्थी बनाएर उसको शरीरलाई कोरोना संक्रमणविरुद्ध लड्न सबल बनाउने ।

अब त संसारभर छरपस्ट भइसकेको कुरा हो, चाहे वुहानबाट उत्पत्ति (चीनप्रेमी कम्युनिस्ट नामधारीहरूसँग क्षमासहित)  भएको कोभिड- १९ को पहिलो ‘स्ट्रेन’ होस् अथवा विभिन्न देशमा ‘म्युटेन्ट’ भएर अनेक प्रकारका भेरिएन्ट (बदलिएको स्पाइक प्रोटिन)का रूपमा देखिएको कोरोना भाइरस होस्, यी सबैले भएका संक्रमितमध्ये ८५ प्रतिशत मानिसलाई हानि पुर्‍याउन सकेका  छैनन् । १५ प्रतिशत संक्रमित मात्र मोडरेट अथवा सेभियर-क्रिटिकल अवस्थामा पुग्ने गरेका छन् । 

आश्चर्य त के भने, खोप आइसकेपछि पनि यो अनुपात कायम छ । खोपलाई सजिलो भाषामा यसरी पनि बुझ्न सकिन्छ- जति बढी खोप वितरित हुन्छन्, माथि वर्णित ८५ प्रतिशत मानिसको  (संक्रमणले हानि नपुर्‍याउने वर्ग) प्रतिशतमा वृद्धि हुँदै जान्छ ।

कोरोना भाइरससँग लड्न र यसलाई नियन्त्रणमा लिन यो मोर्चाभन्दा अर्को मोर्चा झनै महत्त्वपूर्ण छ । यो मोर्चा हो- कोरोना भाइरसको, कोरोना संक्रमणको चेन तोड्नु । जबसम्म सरकारको ध्यान यसतर्फ आकर्षित हुँदैन, तबसम्म जति खोप लगाए पनि कुनै सकारात्मक परिणाम आउन सक्दैन । प्रधानमन्त्रीज्यू, यस कार्यका लागि ४० दिनको समय पर्याप्त छ, जम्मा ४० दिनको समय ।

खर्च ? यस कार्यका लागि भ्याक्सिन किन्ने प्रयोजनका लागि  छुट्याइएको आधा बजेट नै पर्याप्त हुन्छ । बजेटभन्दा पनि यसका लागि दृढ इच्छाशक्तिको आवश्यकता हुन्छ ।

यस मोर्चाको एउटै मन्त्र छ, एउटै अघोर सिद्धि छ, शेरबहादुरज्यू- त्यो हो ‘ट्रिपल टी’ अर्थात् टीटीटी ।  पहिलो ‘टी’ अर्थात् टेस्टिङ अर्थात कोरोना संक्रमण परीक्षण । दोस्रो ‘टी’ वा ‘ट्रेसिङ’ अर्थात् परीक्षणमा ‘पोजिटिभ’ देखिएको व्यक्ति कति जनाको सम्पर्कमा आएको थियो, ती सबैलाई परीक्षणको दायरामा ल्याउने । र, यीमध्ये कुनै व्यक्तिमा संक्रमण भेटियो भने त्यस व्यक्तिको सम्पर्कमा आएका सबै मानिसको खोजी गरी परीक्षणमा ल्याउने । 

तेस्रो ‘टी’लाई ‘ट्रिटमेन्ट’ भनी बुझ्नुहोस् । कोरोना संक्रमित व्यक्तिलाई उसको अवस्था हेरी समुचित आइसोलेसनमा राख्ने अथवा अवस्था हेरी आवश्यक भए अस्पताल भर्ना गराई उपचारमा लैजाने ।

४० दिनसम्म तदारुकताका साथ पूर्ण मनोयोगले यो अभियान चलाउने हो भने देशलाई कोरोनामुक्त बनाउन सकिन्छ । यसका लागि देशभरि निषेधाज्ञा लाउनु आवश्यक हुँदैन । संक्रमितको ग्राफ बढी रहेको जिल्लामा मात्र निषेधाज्ञा लाए पुग्छ । लामो दूरीको यातायात बन्द गर्नुपर्दैन । ‘डोमेस्टिक फ्लाइट’ बन्द गर्नुपर्दैन, ‘इन्टरनेसनल फ्लाइट’ बन्द गर्नुपर्दैन । हो, यिनको प्रयोग गर्ने मानिसलाई ७२ घण्टा पूर्वको पीसीआर रिपोर्ट अनिवार्य गरी दिए यी संचालनमा कुनै समस्या नै हुँदैन । प्रधानमन्त्रीज्यू, नेपालका सबै एयरपोर्टमा, सबै भू-नाकाहरूमा एन्टिजेन टेस्टको व्यवस्था गर्न पनि के देशलाई विदेशी सहयोग नै चाहिन्छ र ? के इन्टरनेसनल एयरपोर्टमा एउटा पीसीआर टेस्टिङको व्यवस्था हुन सक्दैन ?

आफ्नो राष्ट्रियताको पक्ष पोषण गर्ने क्रममा हेपाहा पाराले बेला मौकामा ‘भूटान भूटान’ उच्चारण गर्ने वीर नेपालीजन हो, थाहा छ तपाईंहरूलाई- भूटानमा अहिलेसम्म जम्मा कोरोना संक्रमणका  २ हजार ५५० केस देखिएका छन् । भूटानमा कोरोना संक्रमणबाट जम्मा २ जनाको मृत्यु भएको छ । भूटानमा देखिएका २ हजार ५५० केसमध्ये २ जार ५०२ जना निको भइसकेका छन् । 

अहिले त्यहाँ सक्रिय संक्रमित संख्या जम्मा ४६ रहेको छ । १० अगस्टका दिन भूटानमा भएका १ हजार ४० परीक्षणमा ४ जना संक्रमित भेटिएका छन् । कम्युनिटी स्तरमा २५४ जनाको परीक्षण हुँदा संक्रमित भेटिएपछि भूटान सरकारले तिनको सम्पर्कमा आएका ७८६ जनाको ‘कन्ट्याक्ट ट्रेसिङ’ गरी परीक्षण गर्‍यो ।

यता, अर्को छिमेकी भारतको उत्तर प्रदेश राज्यमा मुख्यमन्त्री योगी आदित्यनाथको प्रबन्धनले कोरोना संक्रमणलाई पूर्ण नियन्त्रणमा राखेको छ । नेपालभन्दा ८ गुणा बढी जनसंख्या रहेको एवं ७५ जिल्ला रहेको यस प्रदेशमा कोरोना संक्रमणका जम्मा ५७० एक्टिभ केस छन् । विगत केही दिनदेखि एक जना पनि नयाँ संक्रमित देखिएको छैन । एक जनाको पनि मृत्यु भएको छैन ।

भूटानका शासक अथवा उत्तर प्रदेशको शासन व्यवस्थासँग कुनै जादूको छडी छैन । उपरोक्त वर्णित ‘ट्रिपल टी’को मन्त्रले नै त्यहाँ कोरोना नियन्त्रणमा आएको हो ।

यता, नेपालको अवस्था भने बमको ‘सेफ्टी पिन’ झिकेर  ‘क्याच क्याच’ खेलिरहेको जस्तो देखिन्छ । १० अगस्ट १० अर्थात् २६ साउनका दिन पछिल्लो २४ घण्टामा यहाँ ४ हजार ९०४ जनामा संक्रमण पुष्टि भएको छ । यस अवधिमा नेपालमा १९ हजार १२३ जनामा टेस्टिङ भएको थियो । १९ हजार १२३ परीक्षण गर्दा ४ हजार ९०४ जना संक्रमित देखिनुको अर्थ संक्रमण दर २५.६४ प्रतिशत हुनु हो ।

सबै जना अर्थात् विज्ञलगायत सर्वसाधारणदेखि सरोकारवाला सबैले अर्को एउटा महत्त्वपूर्ण तथ्यमा दृष्टि हाल्दा होस ठेगानमा आउँछ । २५ साउनको तथ्यांकअनुसार देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार २८८ रहेको थियो । यीमध्ये २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ (सबै तथ्यांक स्वास्थ्य मन्त्रालयले जारी गरेको बुलेटिनअनुसार)।

२६ साउनमा सक्रिय संक्रमित संख्या बढेर ३७ हजार ३३२ पुगेको छ । यसमध्ये ७६१ जनाको आईसीयूमा र १८१ जनाको भेन्टिलेटरमा राखी उपचार भइरहेको छ । भनाइको अर्थ, अहिले नै ७६१ आईसीयू र १८१ भेन्टिलेटर प्याक भइसकेका छन् ।  दैनिक संक्रमित संख्या ‘डेल्टा कर्भ’मा जाँदै छ । थप २०-२२ हजार नयाँ संक्रमित थपिँदा आईसीयू र भेन्टिलेटरको चरम अभाव देखापर्नेछ । ‘मेडिकल फेसिलिटी’को अभावमा मृत्यु दर वृद्धि भयो भने आश्चर्य मान्नुपर्दैन ।

अहिलेको ट्रेन्ड हेर्दा अर्को सातामै नयाँ संक्रमितको ‘फ्लो’ दैनिक ६ हजारमाथि पुग्ने अनुमान गर्न सकिन्छ । काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने २६ साउनमा  काठमाडौं उपत्यकामा  १ हजार १८६ संक्रमित आएका छन् । काठमाडौंमा ७९५, ललितपुरमा २३९ र भक्तपुरमा १५२ जनामा संक्रमण पुष्टि भएको हो । अर्को सातासम्म यो संख्या दैनिक रूपमा २ हजार नाघ्नेछ ।

सत्ता मोह र सत्ता मदका साथै अकर्मण्यताको पराकाष्ठामा अल्झिएको नेपाली राजनीतिलाई खोइ के भन्ने !