अफगानिस्तानका फराहलगायत प्रमुख शहर तालिबानको कब्जामा

अफगानिस्तानका फराहलगायत प्रमुख शहर तालिबानको कब्जामा

एजेन्सी  |  विदेश  |  श्रावण २७, २०७८

तालिबान लडाकु समूहले अफगानिस्तानको अर्को प्रान्तीय राजधानी फराह शहर कब्जामा लिएको छ । अफगानिस्तानको पश्चिमी प्रान्त फराहको प्रान्तीय राजधानी फराह शहर कब्जामा लिएको तालिबान समूहले दाबी गरेको छ । 

गत ४ दिनको अवधिमा तालिबानले प्रान्तीय राजधानी कब्जामा लिएको यो सातौँ हो । अफगानिस्तानको सुरक्षामा द्रुत रूपमा देखिएको गिरावट मुख्यतया अमेरिकी सेनाको हतारमा भएको फिर्तीका कारण भएको देखिएको छ । 

यता, अमेरिकी राष्ट्रपतिले सेना फिर्ता गरेकामा पछुतो नभएको बताएका छन् । अफगानिस्तानमा तालिबानले लगातार एकपछि अर्को शहर नियन्त्रणमा लिइरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले उक्त देशबाट अमेरिकी फौज फिर्ता गर्ने आफ्नो निर्णयप्रति पछुतो नभएको बताएका हुन् । 

यद्यपि, बाइडेनले अफगानिस्तानका लागि संघर्ष गर्नका लागि अफगान नेतालाई एक हुन आह्वान गरेका छन् । २० वर्षपछि अमेरिकी नेतृत्वको विदेशी फौजले अफगानिस्तान छाडेपछि त्यहाँ देशैभरि हिंसा बढेको छ ।

तालिबानले देशका ३४ वटा प्रान्तीय राजधानीमध्ये कम्तीमा ७ वटालाई नियन्त्रणमा लिइसकेको छ । अन्य शहरलाई पनि नियन्त्रणमा लिने प्रयासका साथ तालिबान समूहले लडाइँ जारी राखेको छ ।

अमेरिकी राष्ट्रपति बाइडेनले ह्वाइट हाउसमा संवाददातासँग कुरा गर्दै अमेरिकाले अफगानिस्तानसँग गरेका प्रतिबद्धता पूरा गरेको बताएका छन् ।