अफगानिस्तानमा केही हप्तायता दशौँ हजार नागरिक विस्थापित

अफगानिस्तानमा केही हप्तायता दशौँ हजार नागरिक विस्थापित

एजेन्सी  |  विदेश  |  श्रावण २८, २०७८

संयुक्त राष्ट्रसंघले पछिल्ला केही हप्तायता अफगानिस्तानमा जारी रहेको हिंसाका कारण यहाँबाट दशौँ हजार नागरिक भागेको बताएको छ ।

संयुक्त राष्ट्रसंघले हालै प्रकाशन गरेको एक प्रतिवेदनमा पछिल्ला केही हप्तामा अफगानिस्तानमा त्यहाँका तालिबानीले हिंसा सुरु गरेको जनाएको छ । 

अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किने समाचारहरू आएसँगै तालिबानीले यहाँका विभिन्न शहरमा कब्जा जमाउन थालेको भन्ने समाचार बाहिर आइरहेका छन्, जसका कारण यहाँ दिन प्रतिदिन हिंसा जारी छ । यहाँका नागरिक अफगान र तालिबान सेनाको चेपुवामा परेकोले उनीहरू भाग्न बाध्य भएका छन् ।

यस वर्ष मात्र हिंसामा परेर करिब ४ लाख नागरिक बिस्थापित भई उनीहरू देशभित्रै आन्तरिक शरणार्थीका रूपमा बस्न बाध्य भएका छन् । अहिले यहाँका बिस्थापित नागरिकहरू आफ्ना बालबालिकासहित राजधानी काबुलमा शरण लिन थालेका छन् । 

यहाँ कतिपय सहायता एजेन्सीले उनीहरूलाई आवश्यक खाने र बस्ने प्रबन्ध मिलाइरहेको समाचार आएसँगै दिनहुँ ठूलो संख्यामा बिस्थापित भएर विभिन्न शहरमा पुगेको हुँदा व्यवस्थापन गर्न पनि गाह्रो भइरहेको बताइएको छ ।

हाल अफगानिस्तानबाट अमेरिकी र नेटो सेना फर्किन थालेपछि यहाँको सरकारी सेना र तालिबानबीचमा भीषण संघर्ष जारी रहेको बताइएको छ, जसका कारण सयौँ नागरिकको ज्यान पनि गएको छ भने कैयौँ घाइते भएका छन् ।