पुस्तक अंश: भोजराज घिमिरेको उपन्यास 'इन्द्रमाया'बाट

पुस्तक अंश: भोजराज घिमिरेको उपन्यास 'इन्द्रमाया'बाट

डा.भोजराज घिमिरे  |  साहित्य  |  श्रावण ३०, २०७८

उसबेलाका दिनहरू सम्झिँदै मैले आफैँलाई भनेकी थिएँ- ‘यो सत्य हो, रमेश हठी थियो तर उसको एक्लो हठले मात्रै मलाई घिसार्दै यहाँसम्म ल्याइपुर्‍याएको जरूर होइन । पीताम्बरका हरराजनीतिक मित्रसँग मेरो आत्मीय सम्बन्ध थियो । रमेशसँग पनि थियो । अझ रमेशका प्रति त सुरूदेखि नै मेरो विशेष चासो अथवा लगाव रहन्थ्यो, पीताम्बरको सबैभन्दा प्रिय अनुचर भएर नै त्यस्तो भएको होला । त्यसैले अरूभन्दा उसैसँग मेरो निकटता बढी रह्यो । विभिन्न साइनो लगाएर बोल्थेँ म सबैसँग । एकचोटि त देवर पनि भनेकी थिएँ । तर, किन हो रमेशसँग लगाइएका कुनै सम्बन्धले पनि हाम्रो सम्बन्ध पूर्ण रूपले परिभाषित हुन्छ जस्तो लाग्दैनथ्यो । यस सम्बन्धले मेरो हृदयको भावनाको पूरा व्याख्या (पेज: २३) गर्दैन भन्ने लाग्थ्यो । त्यसैले म उसलाई ‘रमेश’, ‘तिमी’ मात्र भन्थेँ ।’ सायद त्यो अव्यक्त अनुराग नै त थियो !

त्यही अनुराग वा रमेशप्रति मैले देखाएको विशेष चासोले नै त होला- पतिको रूपमा पीताम्बरलाई वरण गर्दागर्दै पनि रमेशसँगको प्रेम र शारीरिक सम्बन्धलाई सहज रूपमा स्वीकार गर्न बाध्य पारेको ।

उसबेला त्यो प्रेमलाई स्वीकार गरेर आफ्नो शरीर रमेशलाई बुझाइदिन तयार भएकी मैले अहिले भने मुमा हजुरका अगाडि यो सत्यलाई किन लुकाउनुपरेको ? आखिरमा रमेशसँगको सम्बन्धलाई अरू कसैसँग मैले खोल्न नचाहँदैमा सत्य बदलिने त होइन नि ! के म मात्रै हुँ र आफ्नो पति हुँदाहुँदै अर्को पुरूषसँग प्रेम गर्ने, शारीरिक सम्बन्ध कायम गर्ने नारी यो दुनियाँमा ?

के यो चलन अहिलेको मात्रै हो त ? पौराणिककालमा परपुरूषलाई आह्वान गरी के कुन्तीले सन्तान जन्माएकी होइनन् ? अर्जुनलाई अथाह प्रेम गर्दागर्दै द्रौपदीले के पाँचै पाण्डुपुत्रलाई पतिको रूपमा वरण गरेकी होइनन् ? के हस्तिनापुरमा अम्बिका र अम्बालिकाले वेद व्यासबाट निग्रह गरेर पाण्डु र धृतराष्ट्रलाई जन्म दिएका होइनन् ? यदि मैले रमेशसँग शारीरिक सम्बन्ध राखेर रमालाई जन्म दिएको व्यभिचार हो, वेश्याचरण हो भने कुन्ती र द्रौपदीले गरेको के हो त ? त्यस रात मैले आफ्नो चित्त बुझाउन धार्मिक ग्रन्थको फेरि अर्को पटक सहयोग लिएकी थिएँ ।

मलाई त्यसबेला लागेका थियो- कुन्ती र द्रौपदी पञ्चकन्याका रूपमा पुजिनु हुन्छ भने उस्तै आचरण गरेकी यो इन्द्रमायाले अभिमानपूर्वक यस समाजका अगाडि उभिने हिम्मत गर्नु किन नहुने ? प्रश्न सोधे पनि जबाफ दिने कोही थिएनन् अगाडि ।

मलाई लाग्यो- रमेशसँगको प्रेम र शारीरिक सम्बन्ध अनि रमाको जन्मलाई लिएर पीताम्बरसँग हुने हरेक विवादमा कहिल्यै मैले आफ्नो गल्ती स्वीकार नगर्ने मैले मुमा हजुरसँग कुरा गर्दा आफ्नो मनलाई किन नियन्त्रण गर्न नसकेकी ? उसबेलामा यौन सुख मात्रै थिएन रमेशसँगको शारीरिक सम्बन्ध, प्रेममय पनि थियो भन्न सक्ने मभित्रकी इन्द्रमाया मुमा हजुरसँग कुरा गर्दा भने कता हराएकी ?

त्यसैले कहिले मुमा हजुर मात्र होइन, सारा दुनियाँका अगाडि ‘आफ्नो बितेको जिन्दगीका एक-एक पत्ता उल्ट्याएर सत्य भोलि नै उद्घाटित गरिदिन्छु’ भन्दै अगाडि सर्थ्यो । कहिले भने त्यसो गर्नु एक गम्भीर भूल हो भन्ने ठहर गर्दै दिमाग आफैँ दिलको साथ लागेर पछाडि हट्थ्यो । त्यसको असर अहिलेसम्म पनि यो इन्द्रमायाले भोगिरहेकी छे ।

उस समयमा त्यो सम्बन्धलाई ठिक देख्ने यो इन्द्रमायाको अन्तरमनले अहिले आएर गलत र दुराचार ठानेको हो त ? के ग्लानि गरेकै हो त यसबेलाकी इन्द्रमायाले उसबेलाको आफ्नो कर्मलाई लिएर ? मुमा हजुरले भनेजस्तो बाइफाले वा वेश्याचरण बुझिन्छ भनेरै डराएकी हो त ? रमेशसँगको सम्बन्धलाई उसबेलामा पीताम्बरले औँला उठाउँदै प्रश्न गर्दा त्यो सम्बन्ध कुनै सन्दर्भ अथवा प्रयोजनका लागि वेश्याचरण थिएन भन्न सक्ने यो इन्द्रमायाको मुख के ती बूढी मान्छेले थुनेकी थिइन् अनि सत्य बोल्न नसकेकी ? प्रश्नमाथि प्रश्न उठ्दै जाँदा मैले थप प्रश्न आफैँसँग गरेकी थिएँ ।

यसरी प्रश्न उठ्दा मलाई सूर्यलाई आह्वान गर्दै कुमारी अवस्थामै कर्णलाई जन्म दिने हिम्मत गरेकी देवी समान गनिएकी महाभारतकी कुन्तीप्रति लोक र समाजको अगाडि निरीह बन्दै कर्णलाई नदीमा बगाइदिएर आजीवन राधेयको जिन्दगी बाँच्न बाध्य पारेकीमा दया लागेर आयो ।

मलाई लाग्यो- कमसे कम मैले त आफ्नी बच्चीलाई नदीमा बगाइदिइनँ । पीताम्बरसँग बस्ने रहरले होस् अथवा लोकलज्जाका कारणले, पीताम्बरले भनेबमोजिम रमालाई अनाथालय अथवा रमेशको घरमा राधेयको जिन्दगी बाँच्न त पठाएकी छैन । त्यसरी हेर्दा कुन्तीमा भन्दा मभित्र मातृतत्त्व बढी रहेको बोध गरेकी थिएँ मैले । 

त्यसो भनेर आत्मगौरवको अनुभूति गर्ने मैले आफैँलाई सोधेकी थिएँ- ‘त्यसो भए तैँले सत्य कुरा ओकल्न किन डराउनुपर्थ्यो ? सत्य कुरा किन लुकाउनुपर्थ्यो ?’ तर, उत्तर भने थिएन मसित ।

त्यसबेलामा मलाई लागेको थियो- रमेशकै वीर्यबाट किन नहोस्, मेरै डिम्ब र गर्भबाट जन्मिएकी हो रमा । त्यही अनुभूति भएर नै मैले पीताम्बरका अगाडि सगर्व र सप्रेम ‘रमा मेरी छोरी हो’ भन्ने हिम्मत गरेकी हुँ । कुन्तीले जस्तो बच्चा जन्मिएकैमा मभित्र पापभाव कहिल्यै जागृत भएन । पापबोध नभएपछि लज्जाबोध नै मैले किन गर्नुपरेको थियो ? दुनियाँका अगाडि झूटो बोल्दै आफ्नो नजरमा आफैँ दोषी किन बन्नुपर्थ्यो  ? किन छाती खुम्च्याउनुपर्थ्यो ? यस्तो सोच्दासोच्दै दिउँसो मुमा हजुरलाई अर्धसत्य बताएर ठूलो भूल गरेको महसुस गरेकी थिएँ मैले ।

एउटा मनले यसरी भूल गरेको स्वीकार्न बाध्य पार्दा मेरै अर्को मनले भने ‘आफूलाई हानि हुन्छ भन्ने बुझ्दाबुझ्दै अनावश्यक दुस्साहसी बनेर यथार्थ खोल्दै नहिँड् इन्द्रमाया ! तेरै छविमा क्षति पुग्छ । तैँले रमा आफ्नी वैध सन्तान भनेर के गर्छेस् ? दुनियाँका नजरमा अवैध हो । तँ कुन्ती होइनस् । द्रौपदी पनि होइनस् तँ, अम्बा, अम्बालिका पनि होइनस् । तँ त इन्द्रमाया होस् । पुरातन संस्कारमा हुर्किएकी तेरी मुमा हजुरले तँलाई सती, सावित्री ठान्छिन् भन्ने भ्रम नपाल । यथार्थ खुला गरिस् भने उनका नजरमा तँ वेश्याचरण भएकी नै गनिने छेस् । एकाङ्गी जीवनबाट मुक्त बन्न, यौवनको प्यास मेट्नमै मात्रै रमेशसँगको तेरो सम्बन्ध सीमित थियो भन्ने हुन् बुढियाले पनि ।

अर्को मनले प्रतिवाद गर्न खोज्दै थियो । त्यसलाई रोकेर त्यही मनले ‘सच्चा हृदयले नै तैँले रमेशलाई प्रेम गरेकी भए पनि, रमेशसँगको सम्बन्धमा तैँले प्रेमभाव थियो भने पनि के भो ? आखिरमा रमेशमा त प्रेमभाव देखिएन नि ! यदि त्यस्तो हुँदो हो त यौवनको रस चाख्न पाउनासाथ, तँलाई घरको न घाटको बनाएर रमेश तेरो जिन्दगीबाट दूर भाग्दैन थियो । तँ स्वयं पनि उसको छायाबाट परपरै बस्न रूचाउने थिइनस् । त्यस कारण रमेशसँगको सम्बन्ध तेरै लागि पनि एकान्तपन दूर गर्ने, आफ्नो भौतिक आवश्यकता पूर्ति गर्ने र यौनेच्छा पूरा गर्ने फगत एउटा विकल्प थियो । पतिप्रति गरेको धोकापूर्ण कार्य नै हो । त्यसैले त्यस्तो सम्बन्धमा तैँले गर्वबोध गर्नु, अहङ्कार देखाउनु बेकार छ’ भन्दै सावधान गराएको थियो । 

दुवै मनको कुरा सुनेर हतप्रभ बन्दै गएकी थिई यो इन्द्रमाया । त्यसैले उसबेलामा आफ्नै असंयमित मनलाई कुनै जबाफ दिन सकिरहेकी थिइन ।

दुइटा मनका बीचमा भएको द्वन्द्वलाई बडो नजिकबाट नियालिरहँदा भने यो इन्द्रमायाको मस्तिष्क स्वयं पनि दोधारमा पर्दै जाँदै थियो । त्यसैले मस्तिष्क कहिले व्यवहारवादी मनसँग सहमत भइदिन्थ्यो भने कहिले भावनामा बग्ने मनसँग । 

मस्तिष्कले कहिले तत्कालीन समाजका मूल्य, मान्यता, आदर्श, रीतिरिवाज, संस्कार र धर्मको कसीमा हेर्दै त्यही सम्बन्धलाई केहीछिनपश्चात अनावश्यक मात्रै होइन, गलत ठहर गर्दै हुन्थ्यो, कहिले सही देख्दै हुन्थ्यो । उसबेलाको आफ्नो मन र मस्तिष्कलाई अहिले नियाल्दा यो इन्द्रमायालाई लाग्छ- दिलभन्दा अलग रहेर दिमाग नचल्ने रहेछ, दिमागको स्वतन्त्र अस्तित्व नै नहुँदो रहेछ । जतातिर ढल्किँदै जान्छ दिलको पल्ला, त्यतैतिर वजन थप्दै जाँदो रहेछ सायद मान्छेको मस्तिष्कले पनि ।

दुख्ने दिल र खुसी बन्ने दिल अनि त्यसैसँग हल्लिरहने मस्तिष्कको असन्तुलनको मारमा यो इन्द्रमाया त्यस दिन मात्रै परेकी होइन, पछिसम्म पनि पर्दै गएकी थिई । त्यसैले कहिले मुमा हजुर मात्र होइन, सारा दुनियाँका अगाडि ‘आफ्नो बितेको जिन्दगीका एक-एक पत्ता उल्ट्याएर सत्य भोलि नै उद्घाटित गरिदिन्छु’ भन्दै अगाडि सर्थ्यो । कहिले भने त्यसो गर्नु एक गम्भीर भूल हो भन्ने ठहर गर्दै दिमाग आफैँ दिलको साथ लागेर पछाडि हट्थ्यो । त्यसको असर अहिलेसम्म पनि यो इन्द्रमायाले भोगिरहेकी छे । त्यसैले दोस्रो घुम्तीमा लिएको निर्णय सही अथवा गलत, के थियो भन्नेमा अझैसम्म पनि दुविधामै छे यो इन्द्रमाया । यदि सत्य ओकल्नु सही थियो भने यो इन्द्रमायाले मुमा हजुरलाई धेरै पहिला अनि रमालाई अहिलेसम्ममा आफ्नो जिन्दगीको यथार्थ भनिसकेकी हुन्थी । सत्य नबोल्नु सही हुन्थ्यो भने अहिले पनि झूटो बोलेकोमा उसको मन भत्भती पोलिरहने थिएन । हुनत यो इन्द्रमायाको दिल पहिले जस्तै भावनामा नबग्ने होइन तर भावनामा बग्ने त्यस दिलको हठात् गला निमोठेर आजपर्यन्त यो इन्द्रमाया व्यवहारवादी बन्ने कोसिस आजपर्यन्त गरिरहेकी छे ।'

(भोजराज घिमिरेको हालै प्रकाशित उपन्यास 'इन्द्रमाया' बाट)