कराँची आक्रमणमा १३ जनाको मृत्यु, कैयौँ घाइते

कराँची आक्रमणमा १३ जनाको मृत्यु, कैयौँ घाइते

एजेन्सी  |  विदेश  |  श्रावण ३१, २०७८

पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ । 

आक्रमण बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो । विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको प्रयोग गर्दै गरेको प्रारम्भिक अनुसन्धानबाट स्थानीय प्रहरीले त्यस आक्रमणमा एउटा ग्रिनेड प्रयोग गरिएको बताएको छ ।

'यस आक्रमणको पछाडि को थियो, हामी भन्न सक्दैनौँ । घटनाको प्रकृति हेर्दा पारिवारिक विवाद जस्तो देखिएको छ । यसबारे थप अनुसन्धान भइरहेको छ', स्थानीय एक प्रहरी अधिकारीले बताए ।

प्रहरी अतिरिक्त महानिरीक्षक इमरान याकोबले भने, 'यो आतंकवादी हमला पनि हुन सक्छ । हामीले यसबारे अझै कुनै ठोस प्रमाण भेटाएका छैनौँ । अनुसन्धान जारी रहेकाले कुनै निष्कर्षमा पुगिहाल्नु हतार हुनेछ ।'

आतंकवादविरोधी विभाग (सीटीडी)का वरिष्ठ अधिकारी, राजा उमर खत्ताबले प्रारम्भिक अनुसन्धानले यो ग्रिनेड आक्रमण भएको देखिएको बताए । गाडीको कुनै भागमा ठोकिनुअघि नै ग्रिनेड विस्फोट भएको जस्तो देखिएको उनले बताए । 

आक्रमणकारीहरू मोटरसाइकलमा आई आक्रमण गरेको प्रारम्भिक अनुसन्धानले देखाउँछ । थप कुरा अनुसन्धानपछि मात्र भन्न सकिन्छ । 

अतिरिक्त प्रहरी डा. कारार अब्बासीले डा. रुथ फाउ सिभिल अस्पतालमा १० जनाको मृत शरीर ल्याइएको पुष्टि गरे । उनका अनुसार पीडितहरूमध्ये ६ जना महिला र ४ जना केटाकेटी थिए । 

घटनामा घाइते भएका अन्य १० जनालाई उपचारका लागि अस्पताल ल्याइएको अब्बासीले बताए । सिन्धका मुख्यमन्त्री मुराद अली शाहले घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्‍याउन प्रहरी र जिल्ला प्रशासनलाई निर्देशन दिँदै घटनाप्रति गहिरो दुःख व्यक्त गरे ।