हाइटीमा शक्तिशाली भूकम्पमा परी ३०४ जनाको मृत्यु, एक हजार ८०० घाइते

हाइटीमा शक्तिशाली भूकम्पमा परी ३०४ जनाको मृत्यु, एक हजार ८०० घाइते

एजेन्सी  |  विदेश  |  श्रावण ३१, २०७८

हाइटीमा शनिबार गएको ७.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भूकम्पपछि आइतबार पुनः ५.८ म्याग्निच्युडको नयाँ भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण रिपोर्टले जनाएको छ ।

शक्तिशाली घातक कम्पन आएको एक दिनपछि युरोपेली-भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टरले आइतबार सो कुरा बताएको हो । ग्रीनवीच समयअनुसार बिहान ३ बजे गएको पछिल्लो भूकम्पको केन्द्रविन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिमी ४१ किलोमिटर गहिराइमा रहेको बताइएको छ । 

शनिबारको भूकम्पमा परी ३०४ जनाको मृत्यु भएको, करिब एक हजार ८०० व्यक्ति घाइते भएका हाइटीका अधिकारीले पुष्टि गरेका छन् । भूकम्पका कारण एक हजारभन्दा बढी घरहरू भत्किएका छन् भने कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवनहरू भत्किएका छन् । 

हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।

यसअघि सन् २०१० को जनवरीमा हाइटीमा गएको ७.० म्याग्निच्युडको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी कम्तीमा २ लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो । ३ लाखभन्दा बढी घाइते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाइटीबासी घरबारविहीन भएका थिए ।