मलेसियाका प्रधानमन्त्रीद्वारा राजीनामा

मलेसियाका प्रधानमन्त्रीद्वारा राजीनामा

एजेन्सी  |  विदेश  |  श्रावण ३२, २०७८

मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिएका छन् । 

विज्ञान, प्रविधि र नवप्रवर्तनमन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाह समक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गरेका हुन् ।

उनले सोमबार सामाजिक संजालहरूमा उल्लेख गरेका छन्, 'हाम्रो मन्त्रिपरिषद्ले राजा समक्ष राजीनामा दिएको छ ।'

राजा अब्दुल्लाहले उनको राजीनामा स्वीकृत पनि गरिसकेका छन् । राजाले अर्को प्रधानमन्त्री चयन नहुँदासम्मका लागि काम चलाउ प्रधानमन्त्रीको जिम्मेवारी भने उनलाई नै दिएका छन् । 

मलेसियाको तल्लो सदनबाट वर्तमान सरकारले विश्वासको मत गुमाएपछि मुहिद्दीनले राजासमक्ष राजीनामा बुझाउनुपरेको हो । 'प्रतिनिधिसभाबाट विश्वासको मत गुमाइसकेपछि सत्तामा बस्न हुँदैन भन्ने मान्यता र नैतिकताका आधारमा हामीले राजीनामा गर्ने निर्णय गरेका हौँ', विदेशमन्त्री हिशाम्मुद्धिन हुसेनले लेखेका छन् । 

सामाजिक संजालमा उनले राजीनामाका विषयलाई जनता र देशप्रतिको माया र जिम्मेवारी बोधका रूपमा समेत व्याख्या गरेका छन् । गत वर्षको मार्चमा उहनी झिनो मतान्तरले बहुमतको प्रधानमन्त्रीमा निर्वाचित भएका थिए । तर, सत्तारुढ गठबन्धनकै एउटा दलका नेताहरूले समर्थन फिर्ता लिएपछि उनी अहिले अल्पमतमा परेका हुन् ।