हाइटीमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या एक हजार ९४१ पुग्यो

हाइटीमा भूकम्पबाट ज्यान गुमाउनेको संख्या एक हजार ९४१ पुग्यो

एजेन्सी  |  विदेश  |  भदौ २, २०७८

गत शनिबार हाइटीमा गएको ७.२ म्याग्निच्युडको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या एक हजार ९४१ पुगेको क्यारेबियन राष्ट्रको नागरिक सुरक्षा निकायले मंगलबार जानकारी दिएको छ । 

उक्त भूकम्पमा परी ९ हजार ९०० भन्दा बढी व्यक्ति घाइते भएका समाचारमा जनाइएको छ । यसैबीच भूकम्प गएको ३ दिनपछि हाइटीमा अवस्थित शान्ति भवनबाट १६ जनालाई जीवित उद्धार गरिएको छ । यस भूकम्पको केन्द्रविन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिम ४१ किलोमिटर टाढा रहेको स्थानमा ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ । 

भूकम्पका कारण ६० हजारभन्दा बढी घर भत्किएका छन् भने ७६ हजार क्षतिग्रस्त भएका छन् । कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवन भत्किएका छन् । भूकम्पका कारण ५ लाखभन्दा बढी बालबालिका प्रभावित भएका संयुक्त राष्ट्रसंघको बालबालिका एजेन्सी युनिसेफले जनाएको छ । 

हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय संकटकाल घोषणा गरेको छ ।

सन् २०१० को जनवरीमा हाइटीमा गएको ७.० म्याग्निच्युडको भूकम्पले पोर्ट-औँ-प्रिन्स र नजिकैका अधिकांश शहरमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी २ लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो । ३ लाखभन्दा बढी घाइते भएको उक्त घटनामा एक लाख ५० हजारभन्दा बढी हाइटीवासी घरबारविहीन भएका थिए ।