अफगान संकट: शरणार्थी बन्नेको संख्या उच्च

अफगान संकट: शरणार्थी बन्नेको संख्या उच्च

एजेन्सी  |  विदेश  |  भदौ ३, २०७८

अफगानिस्तानमा तालिबानले सत्ता कब्जा गरेपछि राजधानी काबुलस्थित विमानस्थलमा देश छाड्नेको ताँतीमा अफगानका राष्ट्रपति अशरफ गनी पनि एक हुन् । उनी हाल यूएईमा शरण लिइरहेका छन् ।  

सत्तामा तालिबानको आगमन र उसले गरेको ज्यादतीका कारण कति मानिसहरू प्रभावित भइरहेका छन् भन्ने यकिन तथ्यांक आइसकेको छैन । तर, २० वर्षसम्म चलेको युद्धमा हिंसाका कारण शरणार्थी हुनेको संख्या भने उल्लेख्य छ । संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्तका अनुसार अफगानिस्तानका २२ लाख नागरिकहरू विदेशमा शरणार्थी जीवन बिताइरहेका छन् ।

सन् २०२० सम्मको तथ्यांकअनुसार अफगानिस्तान छाडेकामध्ये अधिकांश नागरिक पाकिस्तानमा छन् । पाकिस्तानमा १४ लाख ३८ हजार अफगानी नागरिकले शरण लिएको तथ्यांकमा उल्लेख छ । पाकिस्तानपछि इरानमा ७ लाख ८ हजार अफगानीले शरण लिएका छन् ।

जर्मनीमा १ लाख ८० हजार, अष्ट्रियामा ४० हजार, फ्रान्समा ३२ हजार, स्वीडेनमा ३० हजार, अस्ट्रेलियामा ११ हजार, बेलायतमा ९ हजार, भारतमा ८ हजार र अमेरिकामा २ हजार अफगानी नागरिक रहेका प्रतिवेदनमा उल्लेख छ । टर्कीमा पनि २ देखि ६ लाख अफगानी जनता शरणार्थी जीवन बिताइरहेको रिपोर्टहरूमा उल्लेख छ ।