घानीले स्वदेश फर्किएर तालिबानसँग वार्ता गर्ने

घानीले स्वदेश फर्किएर तालिबानसँग वार्ता गर्ने

एजेन्सी  |  विदेश  |  भदौ ३, २०७८

तालिबानले सत्ता कब्जा गरेपछि देश छाडेका अफगानिस्तानका निर्वतमान राष्ट्रपति अशरफ घानीले आफू तालिबानसँग वार्ता गर्न इच्छुक रहेको संकेत गरेका छन् ।

‘अफगानिस्तानमा तीव्र रूपमा घटनाक्रम विकसित भइरहेको छ । समावेशी सरकारबारे म तालिबानसँग वार्ता गर्न चाहन्छु’, एक भिडियो सन्देशमा घानीले भनेका छन् । आफूले यसअघि पनि तालिबान र आफ्नो प्रशासनका पूर्वअधिकारीहरूबीच भएका वार्ताको स्मरण गरे ।

अफगानिस्तान फर्किन आफू छलफलमा रहेको घानीले बताए । आफूले राष्ट्रपतिको कार्यालयमा खुट्टा राख्ने ठाउँ नपाएपछि सुरक्षाको कारण देश छाडेको उनको प्रष्टीकरण थियो ।

‘पैसा लगेको हल्ला आधारहीन’

घानीले यूएई जाँदा आफूले ठूलो परिणाममा पैसा बोकेर लगेको भन्ने हल्ला ‘पूर्ण रूपमा आधारहीन र झूट’ भएको पनि उल्लेख गरेका छन् । काबुल विमानस्थलबाट फर्किंदा घानीले केही थान सुटकेसमा पैसा भरेर लगेको अन्तर्राष्ट्रिय संचार माध्यमहरूको विवरणमा सार्वजनिक भएको थियो । 

यूएईमा शरण

घानीले युनाइटेड अरब इमरेट्स (यूएई)मा शरण लिएका छन् । घानी र उनको परिवारलाई मानवीयताको आधारमा स्वागत गरेको यूएईको विदेश मन्त्रालयले जनाएको छ । देश छाडेपछि घानीले पहिलो पटक एउटा भिडियो सम्बोधन गरेका छन् । सम्बोधनमा घानीले ठूलो विपद्‌बाट जोगाउन आफूले देश छाड्नुपरेको दाबी गरेका छन् ।

घानी अब अफगान नेता रहेनन्: अमेरिका 

देश छाडेकोमा ७२ वर्षीय घानीको तीब्र आलोचना भइरहेको छ । घानीले हतारमा देश छाडेको भन्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि असन्तुष्टि जनाएका छन् । देश छाडेपछि घानी अब अफगानिस्तानका नेता नभएको अमेरिकी सहायक विदेशमन्त्री विन्डी सेरम्यानले बुधबार बताएका थिए । यद्यपि, अहिले पनि अमेरिकाले घानीलाई राष्ट्रपतिकै मान्यता दिएको छ ।