सत्तापलटपछि पनि रोकिएन तालिबानको अत्याचार

सत्तापलटपछि पनि रोकिएन तालिबानको अत्याचार

एजेन्सी  |  विदेश  |  भदौ ४, २०७८

गत साता अफगानिस्ताको राजधानी काबुल कब्जा गरेका तालिबानहरूले नेटो फौज र पूर्वसरकारअन्तर्गत काम गरेका व्यक्तिहरूलाई धम्की दिने गरेको पाइएको छ । तालिबानले पुनः देश कब्जा गरिसकेपछि पनि यसअघि आफूहरूसँग असहमति राख्ने व्यक्तिको घरघरमा पुगेर उनीहरूका परिवारजनलाई धम्की दिने गरेको राष्ट्रसंघ मातहतको एक निकायले सार्वजनिक गरेको एउटा अभिलेखमा उल्लेख छ  । 

‘तालिबानले ठूलो संख्यामा सर्वसाधारणलाई निशाना बनाइरहेको छ । राजधानी कब्जा गरेपछि पनि देशमा तालिबानी धम्की प्रष्ट देख्न सकिन्छ’, राष्ट्रसंघलाई गुप्तचर सेवा उपलब्ध गराउँदै आएको रिप्टो नर्वेजियन सेन्टर फर ग्लोबल एनलाइसिसले भनेको छ । तालिबानले पूर्वसरकारसँग काम गरेका कतिपय व्यक्तिका परिवारजनलाई पक्राउ गरी सोधपुछ गरेको छ’, समूहका प्रमुख क्रिष्टियान निलम्यानले भने ।

तालिबानले कालोसूचीमा राखेका व्यक्तिहरूमाथि आक्रमणको जोखिम बढेको र कुनै पनि बेला उनीहरूको नरसंहार हुने उनको आशंका छ । 

विदेशीहरूले अफगानिस्तानबाट धमाधम आफ्ना नागरिकलाई स्वदेश फिर्ता गरेका छन् । पछिल्लो ५ दिनमा काबुल विमानस्थलबाट १८ हजार मानिस सम्बन्धित देशतर्फ उडेको नेटोआबद्ध एक अधिकारीले बताएका छन् । विदेशी फौजका लागि विभिन्न क्षेत्रमा काम गरेका झन्डै ६ हजार मानिस अहिले काबुल विमानस्थलमा पालो कुरेर बसेका छन् । 

विमानस्थल बाहिरको अवस्था अझै दयनीय छ । अमेरिकी सेनासँगै अमेरिका जान विमानस्थलमा झुम्मिएका अफगानीलाई तालिबानले रोक लगाएको छ । यसै साता एक अफगानीले उड्न लागेको विमानभित्र रहेका अमेरिकी सेनालाई आफ्नो बच्चा दिएको एउटा भिडियोले धेरैको मन छोएको छ । 

सत्तापलटपछि पनि तालिबानले दमन नरोकेको भन्दै ठाउँठाउँमा सर्वसाधारणले विरोध प्रदर्शन गरेका छन् । काबुलमा प्रदर्शनकारीले राष्ट्रिय झण्डा फहराएका छन् । अफगान सत्तामा तालिबानको कब्जासँगै उनीहरूको बर्बरता पुनः दोहोरिन सक्नेमा सर्वसाधारण त्रसित बनेका छन् ।

सन् १९९६ मा पहिलो पटक अफगान सत्तामा पुगेका तालिबानले कठोर शासन लादेका थिए । उनीहरूले बलात्कार र चोरीको अभियोग लागेका व्यक्तिको हात काटिदिने कानुन लगाएका थिए । त्यस्तै, मुस्लिम शरिया कानुनको डिलमा उभिएर उनीहरूले १२ वर्षमाथिका बालिकालाई विद्यालय जान प्रतिबन्ध लगाएका थिए ।