गिजोलगाजलमा नेपाली गजल: अहंको लडाइँ कि परिष्कारको प्रयास ?

गिजोलगाजलमा नेपाली गजल: अहंको लडाइँ कि परिष्कारको प्रयास ?

रूपक अलङ्कार  |  दृष्टिकोण  |  भदौ ४, २०७८

नेपाली गजलको इतिहासलाई हेर्ने हो भने सबैभन्दा बढी बहस र छलफल भएको समयका रूपमा विक्रमको २०६० यताको समयलाई लिनुपर्ने हुन्छ । यस समयमा गजलको पूर्णत्व निर्मितिका लागि, गजललाई शास्त्रीयतासित जोड्नका लागि, गजलमा आधुनिकताका लागि एवं गजलमा व्यापकताका लागि विभिन्न मञ्चमा बहस र वादविवाद भएका छन्, भइरहेका पनि छन् । 

यसलाई साहित्यको स्वाभाविक प्रक्रिया मान्नुपर्ने हुन्छ  । जुन दिनबाट साहित्यको कुनै विधामा संवाद वा विवादको अन्त्य हुन्छ, त्यस दिनबाट त सम्बन्धित विधाको मृत्यु नै हुन्छ । त्यसमा सिर्जनशीलता भन्ने कुरा निमिट्यान्न हुन्छ । परंपरा निर्वाहका लागि मात्र लेखिने त्यस किसिमका साहित्यले खासै लाभ हुँदैन पनि । त्यस कारण ‘गजलमा विवाद देखियो, लौ बरबाद भयो, सबै सकियो’ भनेर सामाजिक संजालमा असिनपसिन हुनुमा कुनै तुक छैन ।

नेपाली गजललाई विभिन्न धारामा वा प्रवृत्तिमा विभाजन गरेर अध्ययन गर्ने परंपरा विकास भइसकेको छ । छन्द, बहर, लोकलय, स्वतन्त्रलय जस्ता शीर्षकमा गजलको विश्लेषण हुन थालेका दशकौँ भएको छ । त्यसैगरी परिष्कारवादी, स्वच्छन्दतावादी, प्रगतिवादी, नारीवादी जस्ता प्रवृत्तिगत वैशिष्ट्यलाई आधार मानेर गजलको अध्ययन गर्ने परंपरा पनि पुरानै भइसक्यो । खासमा गजलमा देखिएका सबै खाले परंपरा र प्रवृत्तिलाई नेपाली समालोचनाले सम्बोधन गर्दै आएको छ ।  

‘जब’, ‘अब’, ‘तब’, ‘किन’ जस्ता शब्दलाई हलन्त उच्चारण गर्नुपर्ने अनि ह्रस्व वर्णलाई दीर्घ चाहिन्छ भनेर स्वाभाविक ह्रस्व वर्णलाई समेत दीर्घ लेखेर मानक वर्णविन्यास सिध्याउने अवस्थामा सिर्जना भएका गजलबाट मजा कम र तनाव बढी प्राप्त हुँदो रहेछ  । कारण, हामी भाषाकै माध्यमले सिर्जना गर्छौं अनि त्यही मानक भाषा र वर्णविन्यास बिगार्दा कतै भाषिक अराजकताको दोष गजल लेख्नेले बोक्नु त पर्दैन ?

विश्वविद्यालयहरूबाट भएका शोधप्रबन्ध तथा विभिन्न समयमा प्रकाशनमा आएका गजलसँग सम्बन्धित समालोचाना तथा सिद्धान्तका कृतिहरूमा हेर्ने हो भने स्वतः स्पष्ट भइहाल्छ । यस विषयमा शंका लागेका मानिसले पहिले कान छाम्नुपर्ने हुन्छ । गजल लेखन र विश्लेषणको परंपरागत तथ्यलाई हेरेर नै प्रज्ञाप्रतिष्ठानले गत २०७६ माघमा आयोजना गरेको ‘राष्ट्रिय गजल महोत्सव’को घोषणापत्र बनेको हो । त्यहाँ उपस्थित प्रतिनिधिहरूको आग्रह र भावुकताले बनेको होइन । गजल शास्त्रीय रूपमा के हो ? र नेपाली गजलको परंपरा र प्रयोग के हो ? भन्ने दुवै जिज्ञासाको समाधान त्यहाँ भएको छ ।

घोषणापत्रले अहिलेको गजलका बारेमा र अबको गजलको मार्गका बारेमा प्रस्टै भनिसकेको छ । यसको बुँदा नम्बर ३ र ४ लाई पर्गेल्न नसकिने कुरै छैन । ३ नम्बर बुँदाले गजलको शास्त्रीयता छन्द, बहर नै भएको प्रस्ट उल्लेख गरेको छ । तर, छन्द, बहर मात्र गजलका सर्वश्व होइनन् भनेर ३ नम्बर बुँदाको पूरक आएको छ ४ नम्बर बुँदा । ४ नम्बर बुँदाले गजल बन्नका लागि कुनै पनि रचनामा उत्कृष्ट शिल्प, प्रभावकारी प्रस्तुति, चामत्कारिकता, कला अनि हार्दिकता र कोमलता पनि अतिजरुरी भएको बताएको छ । ३ नम्बर बुँदामै हालसम्म गजल भनेर लेखिएका रचनालाई ‘सम्मान’ गर्ने भनेर सवा सय वर्षको नेपाली गजल परंपरालाई इतिहासमा समेटेको पनि पाइन्छ ।

यसै कारण प्रज्ञाप्रतिष्ठानको उक्त घोषणालाई नेपाली गजलको हालसम्मका विवादको अचुक समाधानका रूपमा लिने प्रयास जारी छ तर यसका अनेक व्याख्या भइरहेका कारण एक मत हुन सकिरहेको देखिँदैन ।

अरू विधामा मात्र कलम चलाउनेका लागि त गजल वक्रदृष्टिको तारो हो । तिनका लागि गजल साहित्यको वनमारा झार र ढोडको आगो हो । गधेपच्चिसी पार नगरेका ठेट्नाहरूको मनोरञ्जनको साधन हो गजल । त्यतातिर नजाऊँ । तर, हामीले गधाकै जस्तो मूढेबल देखाएर गजलमा आफ्नो कुराको सर्वोपरिता स्थापना गर्न खोजिरहेका छौँ कि ! कुराले नसके मुक्कामुक्कीमै जाने पो हो कि ! परिआएमा जे पनि गर्ने तर नहार्ने मनसाय पो हो कि ! अथवा एउटा सबल संगठन निर्माण गरेर आगामी निर्वाचनमा दुई तिहाइको सरकार बनाउने हो ?

साहित्यमा वैचारिक विविधतामाथि स्वस्थ बहस हुनुपर्छ, निषेधात्मक होइन । हामी कसैले लेखेको कुरामा मात्र त्यसको गुण-दोषका बारेमा बहस गर्न सक्छौँ, लेख्दै नलेखेको कुरामा ‘तैँले यस्तो किन लेखिनस्’ भनेर झपार्न सक्दैनौँ । विचारको, प्रस्तुतिको र जीवनको स्वतन्त्रता चाहने मान्छे नै लेखक वा साहित्यकार हुने हो नत्र त पार्टीको झण्डा समातेर शपथ खाए भइगयो नि ! त्यस कारण कसैलाई ‘तैँले यो लेखे मात्र सही हुन्छ’ भनेर भन्नु अरूको स्वतन्त्रता हनन गर्नु मात्र होइन, आफ्नै विचार र बुद्धिको उपहास गर्नु पनि हो । 

यसो भन्दैमा आफूले के लेख्दै छु भन्ने विषयमा आफैँ अलमलिने अवस्था पनि त आउनुभएन । कनै पनि विधामा कलम चलाउँदा त्यसका विधातात्त्विक मर्यादालाई कतिसम्म उल्लंघन गर्ने या स्वीकार गर्ने भन्ने कुरामा निश्चित हुनै पर्छ । अन्यथा विनायकं प्रकुर्वाणो रचयामास वानरः (गणेशको मूर्ति बनाउँछु भनेर थालेको धेरै जान्ने पल्टिँदा बाँदरको मूर्ति बनेजस्तो) भन्ने कुरा सार्थक हुन सक्छ । 

नेपाली गजलका क्षेत्रमा विषयवस्तुका लागि भन्दा तत्त्वका लागि, आन्तरिक तत्त्वका लागि भन्दा बाह्या तत्त्वका लागि बहस भएका छन् । कुनै पनि रचनाका लागि बाह्य संरचनामाथिको लामो बहस त्यसको गुणवत्ताका लागि सहायक हुन्छ भन्ने छैन । नेपाली गजलको नसुल्झेको गाँठो भनेको लयको विषय हो । लयलाई लिएर त्यसमाथि पनि छन्द, बहरलाई लिएर बहस सुरु भएको २०६० को दशकको सुरुवात (अनाममाण्डलीको स्थापना)तिरबाट हो । बहस भइन्जेल त ठिक छ, त्यसले आक्रोशको रूप लिनु किमार्थ ठीक होइन । 

बहरमा, छन्दमा, लोकछन्दमा, मुक्तछन्दमा गजल लेखिने परंपरा त पहिल्यै पनि थियो, मात्र सैद्धान्तिक बहसको सुरुवात नभएको हो । तर, २०६० सालयता भने छन्द बहरमा संगठित  रूपले गजललेखन सुरु भयो । यस परिधिमा आउन नचाहने मान्छे स्वतः बाहिर पर्‍यो- आफ्नो आँगनजतिमा पर्खाल लगाउँदा बाँकी मान्छे बाहिर परेजस्तो । तर, गेटमा ताल्चा मारेर बस्नुपर्छ भनेजस्तोचाहिँ गरिएको छैन । 

उद्भवका हिसाबले, सिद्धान्तको मान्यताले, शास्त्रीय आधारमा गजलमा बहर हुनुपर्छ भन्ने मान्यतामा लेखक स्पष्ट छ, साथसाथै परंपरागत मान्यताभन्दा अघि बढेर नेपाली गजलले आफ्नै मौलिक प्रवृत्ति र प्रयोग स्थापना गरेको छ र त्यसको सम्मान गर्नुपर्छ भन्ने बोध पनि छ । कुन मार्गबाट यात्रा गर्ने भन्ने कुराको चयन गर्न लेखक स्वतन्त्र हुन्छ । छन्द कविताको पाउ हो (छन्दः पादौ तु वेदस्य) । पाउ गन्तव्यमा पुग्ने साधन हो, गन्तव्य होइन । गजल गायन हुने, संगीत वा सुरसित निकट हुनेजस्ता स्वभावले गजलमा लयप्रतिको आग्रह हुनु स्वाभाविक हो । बरु जीवन र जगत्का यावत् विषयलाई गजलमा अभिव्यक्त गर्न सक्ने क्षमता नेपाली गजलले विकास गरेको छ । योचाहिँ हाम्रो गौरवको विषय हो । 
तैपनि गजल बजारमा बहसका लागि विषयको किन अभाव हुन्थ्यो र ? यतिबेला हामीले लेखेको नै ठिक हो भन्नेहरू एकातिर छन् । उनीहरू सम्झाउन सकिने ठाउँमा छैनन् । एकाथरि मान्छेहरू मैले लेखेको गजल भएकै रहेनछ, मैले गजलका बारेमा केही जानेकै रहेनछु भनेर मान्छे तर्साइरहेका छन् । यहाँनेर गजलकार, गजल समालोचक घनेन्द्र ओझालाई सम्झिए पनि हुन्छ । उहाँ विगत केही वर्षदेखि ‘गजलका बारेमा मैले जानेको छैन’ भनिरहनुभएको छ । 

आश्चर्य के छ भने उहाँ नै गजलका विषयमा रेडियो, टेलिभिजन र पत्रपत्रिकाहरूमा अन्तर्वार्ता दिँदै हिँडिरहनुभएको छ । उहाँका कुरा सुन्दा यो देशमा गजलका बारेमा उहाँजति जान्ने अरू को होला र ? जस्तो पनि लाग्छ फेरि । यसरी एकथोक भन्दै अर्को थोक गर्ने (निषेधले स्वीकार र स्वीकारले निषेध बुझाउने) व्यवहार ध्वनिवादमा आधारित छ । गजलमा ध्वनि प्रयोग हुनुपथ्र्याे तर गजलकारमा चाहिँ देखियो ।

ओझाज्यूले आफ्नै गजललाई गजल भएन भनुन्जेल त हो कि जस्तो लागेको थियो, जब उहाँले रूपक अलङ्कारका गजल पनि भएनन्, ज्ञानुवाकर पौडेल, ललिजन रावल, घनश्याम पथिकका गजल पनि भएनन्, गजलमै विद्यावारिधि गरेका डा. कृष्णहरि बराल र डा. घनश्याम परिश्रमीका गजल पनि भएनन्, बाबु त्रिपाठीका गजल पनि भएनन् भन्न थाल्नुभयो अनि कसरी सहन सकिन्छ ? ए बाबा ! उहाँका गजल भएनन्, ठिक छ- लेख्न नजानेपछि गजल कसरी हुन्छन् त ? तर, सबैले लेखेको भएन भनिदिने ? गजल लेखेरै ४ दशकसम्म बिताएका स्वानामधन्य गजलकारका आजसम्मका गजललाई सिधै भएन भनिदिने ? ‘तँ मान्छे होइनस्’ भन्नु र ‘तँमा मानवता छैन’ भन्नुमा फरक छ नि- सार उस्तै भए पनि । २-४ वटा शास्त्रीय कुरा जानेँ भन्दैमा भुइँमा न भाँडामा हुन त भएन नि ! 

तर, उहाँको एउटा तर्क मननयोग्य पनि छ, ‘म सिक्दै छु, पढ्दै छु । जति जानेँ, त्यतिका आधारमा भन्दा आजसम्म लेखिएका गजल पूर्ण रूपले गजल बन्न सकेका रहेनछन् । पूर्ण गजल लेख्नका लागि हामी सबैले सिक्न र जान्न बाँकी छ । हामी लहैलहैमा मात्र नलागौँ ।’

यो कुरा ठिकै हो, कुनै पनि विषयमा सकेसम्म पूर्ण ज्ञान त हुनै पर्छ, आधा गाग्रो पानी छचल्किन्छ भन्छन्, त्यही भएर हामी छचल्केका हौँ कि ! उहाँले पूर्ण ज्ञान नगरुन्जेलका लागि मैलेचाहिँ गजललेखन स्थगित गरेको छु । किनभने अझै केही वर्ष त लाग्ला पूर्ण हुन । अझ पढेर, सिकेर कहिल्यै सकिँदैन भन्ने हो भने कहिले हो कहिले । यद्यपि, गजलप्रतिको उहाँको अनुराग, सिद्धान्तप्रतिको निष्ठा, आफ्नो मान्यतामाथिको विश्वासको भने म प्रशंसा गर्छु । साँच्चै उहाँको चिन्तन गजलको स्तरीयता, स्थिरता र पूर्णताका लागि हो भने हामीलाई घाटा के छ र ? 

अर्काे एउटा सम्झनलायक प्रसंग हो- स्वतन्त्र गजल अभियानको । यस अभियानले नाम फेरे पनि आक्रोश र प्रतिशोध फेरेजस्तो लागेको छैन । यस अभियानमा वर्तमान समयका जुझारु गजलकारहरू हुनुहुन्छ । विपीन सलामी जस्ता तीव्र संवेदनाका गजल लेख्ने संघर्षशील व्यक्तित्वले यसको नेतृत्व गर्नुभएको छ । बाबु त्रिपाठी जस्ता चुस्तदुरुस्त अभियन्ता गजलमा लाग्दालाग्दा ज्यान खिए पनि व्यक्तित्वले मोटाएका व्यक्तित्वको अभिभावकत्व छ । जोसित कयौँ पटक एउटै मञ्चमा बसेर गजल सुनिएको छ, सुनाइएको छ । ‘वाहवाह’ भनिएको छ । ताली बजाइएको छ । 

अफसोच् यस कुरामा छ कि अब त्यस्तो रमाइलो नहुने भयो । हाम्रा गजल त त्यस्तै हुन्, केही भएन । हामीले उहाँहरूका दमदार गजल सुन्न नपाउने भयौँ । एउटा साहित्यको विद्यार्थीका लागि योभन्दा नरमाइलो के हुन्छ ? उहाँहरूको कार्यक्रममा जाँदा हाम्रो त यसै खैरियत छैन, निम्ता गर्नेको पनि खुट्टा भाँचिने संभावना छ । यो कार्यक्रमको धाक लगाउने समय हो त ? उहाँहरूको विरोध कसका विरुद्ध हो, त्यो स्पष्ट हुनुपर्छ । केही सीमित व्यक्तिविरुद्ध हो भने बेकार हो । गजलको परंपरागत शैलीका विरुद्धमा हो भने स्वागतयोग्य कुरा । 

प्रतिभावान् लेखकहरू सिद्धान्तमा उभिएर सिद्धान्तको उल्लंघन गर्दै परंपरालाई परिमार्जन वा परिवर्तन गर्ने हैसियत राख्छन् । जस्तो कि नेपाली कविता परंपरामा शास्त्रीय छन्दको उल्लंघन गरेर गद्य कविता लेख्ने गोपालप्रसाद रिमाल यसका उदाहरण हुन सक्छन् । होइन भने तपाईंहरूको धारणामा कैफियत देखिन्छ । कहिलेकाहीँ हात्तीलाई छेक्न छाडिएको करेन्टमा किसान आफैँ पनि परेका छन् ।   सम्पूर्ण विभेद, विसंगति र विभेदका विरुद्धमा आवाज उठाउने गजलकारहरूको यस किसिमको विभेदपूर्ण चिन्तन कतिको प्रशंसनीय हो, विचारणीय छ । 

गजल लेखनको हाम्रो अवस्था एकदम स्वस्थ र परिपूर्ण त अवश्य पनि छैन । हाम्रा गजलहरू पूर्ण बनिसकेका छैनन् । सबै अंग नपुगे पनि त गजल त हुन् नि ! के मान्छेका कुनै अंग नहुँदैमा वा नदेखिँदैमा त्यो मान्छे नै भएन भन्ने ? 

म आफैँ छन्दमा गजल लेख्ने मान्छे हुँ तर मलाई नै गजल छन्दमा लेख्ने चिज होइन जस्तो लाग्न थालेको छ । कविता लेख्यो गजल जस्तो हुन्छ, गजल लेख्छु भन्यो कविता लेखेजस्तो हुन्छ । अर्काले बनाएको बाटोमा हिँड्दा सहज त हुन्छ तर यात्रा बडो कृत्रिम हुन पनि सक्छ । केही छन्द र बहरमा लयगत समानता अवश्य छन् तर तिनको प्रकृति फरक छ भन्ने कुराको बोध हुँदै आएको छ । लेग्रो तानेर श्रोतालाई मोहित त बनाउन सकिएला तर पाठकलाई उल्याउन सकिँदैन । फेरि बहरकै नियम त हो नि भनेर मात्रा गिरावट, चढावट, मिलावट जस्ता विधि अपनाएर लेखिएका गजलको पनि बेहाल छ । गजल पढ्न स्वयं लेखक उपस्थित नभई अरूले पढूँला भनेर चिताउनै पर्दैन । भाषाका प्रकृतिगत सामान्य भिन्नताको समेत ख्याल नगरी ‘जब’, ‘अब’, ‘तब’, ‘किन’ जस्ता शब्दलाई हलन्त उच्चारण गर्नुपर्ने अनि ह्रस्व वर्णलाई दीर्घ चाहिन्छ भनेर स्वाभाविक ह्रस्व वर्णलाई समेत दीर्घ लेखेर मानक वर्णविन्यास सिध्याउने अवस्थामा सिर्जना भएका गजलबाट मजा कम र तनाव बढी प्राप्त हुँदो रहेछ  । कारण, हामी भाषाकै माध्यमले सिर्जना गर्छौं अनि त्यही मानक भाषा र वर्णविन्यास बिगार्दा कतै भाषिक अराजकताको दोष गजल लेख्नेले बोक्नु त पर्दैन ? यो सोचनीय विषय बनेको छ ।

बहरका गजलले पाठकको माग गर्दैनन्, सिधै संगीत र गायकको माग गर्छन् । स्वतन्त्र भनिएका गजलमा पनि आन्तरिक लयको संयोजन भएका छन् । कतिपय शेरमा रचनाकारलाई पत्तो नभईकन संयोगवश पनि समआक्षरिक लय संयोजन भएका छन् । यस्तै भुमरीमा अहिलेको नेपाली गजल घुमेको छ । सिर्जना भन्ने कुरा साधनाबाट परिमार्जित हुने कुरा भएकाले हाम्रो प्रयत्न पनि त्यतै लाग्नुपर्छ भन्ने बोध सबै सर्जकमा हुनु राम्रो हो भन्ने लाग्छ ।