दाहाल यज्ञनिधि अर्थात् साहित्य र संचारका तारा, सामाजिक क्रान्तिका पर्याय

दाहाल यज्ञनिधि अर्थात् साहित्य र संचारका तारा, सामाजिक क्रान्तिका पर्याय

टङ्क भट्टराई  |  दृष्टिकोण  |  भदौ ४, २०७८

‘रिटिङरिटिङ नबजाऊ बिनायो
बिनायोले मन मेरो छिनायो...
साइँला दाइ
जदौ ! म दाहाल यज्ञनिधि
खुल्यो साहित्य संसारको दैलो ।’

रेडियो नेपालबाट बज्ने सर्वाधिक रुचाइएको बोली थियो यो । 

सामान्य बोलीचालीको भाषा । गाउँले जीवनमा प्रयोग गरिने शब्दहरू । बोलीमा जादू । काठमाडौं शहरका बाटाहुँदी यदाकदा लम्र्‍याङ लम्र्‍याङ हिँडिरहेको भेटिने अग्लो व्यक्ति । कोही कसैसँग नझुक्ने, आफ्ना कुराहरूमा सधैँ अडिग रहने र मनमा लागेको कुरा जस्तोसुकै परिस्थितिमा पनि निर्भीक भएर बोल्ने स्वभाव । अभिवादन गर्दा होस् या फर्काउँदा, दुवै अवस्थामा जहिले पनि ‘जदौ’ शब्दको प्रयोग ।

यी दाहाल दाइका स्वपहिचान हुन् ।

खोटाङ जिल्ला साविक खाल्ले गाविस वडा नंं.- ८ हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका वडा नं.- १५ स्थित खाल्ले धारापानीका दाहाल यज्ञनिधि । मेरो घर त्यहीँ मुन्तिर साविक वडा नं.- ७, हाल उही । भौतिक रूपमा निकै पछि देखे पनि खाल्ले स्कूल पढ्दादेखि नै मैले उहाँको नाम सुनेको । आफूले पढेको स्कूल शीतला नि.मा.वि. (हाल मा.वि.)मा उहाँले छात्रवृत्ति स्वरूप वार्षिक रूपमा केही रकम पठाउनुहुन्थ्यो । मलाई लाग्छ, २ जना विद्यार्थीलाई प्रतिजना त्यस्तै २-३ सय रुपैयाँ हुनुपर्छ ।
    
मैले पनि कक्षा ४ बाट त्यही शीतला मा.वि. पढेको । कालिका प्रा.वि. कात्तिकेमा भर्ना हुनुअघि शिशु कक्षामा त्यही शीतला स्कूलमा गुरु रामप्रसादले मलाई अक्षर चिनाउनुभएको । दाहाल दाइलाई पनि उहाँले नै अक्षर चिनाएको कुरा मैले पछि थाहा पाएँ । 
    
स्कूलमाथि नारद पण्डितको घर अगाडि अजङ्गको रुद्राक्षको बोट थियो । रुद्राक्ष फलेको बेला टिफिनको समयमा हामी साथीहरूसँग मिलेर रुद्राक्ष खान जान्थ्यौँ । रूख चढ्न त हामी सक्दैनथ्यौँ, झरेका खोजेर खान्थ्यौँ । त्यसको पश्चिमपट्टि पुण्य खतिवडा (पुन्न सर)को घर छेउमै पानधारे । त्यहीँ छेउमा २ वटा वर-पीपलका बीचमा ५ वटा धाराबाट गलल्ल पानी बगेको दृश्य । पालैपालो धारामुनि हत्केला राखेर पानी पिउँथ्यौँ हामी । 

त्यसैको छेउमा पूर्वतिर फर्किएको एउटा रातो घर । हो त्यही हो दाहाल यज्ञनिधि जन्मेको घर । मैले ऊबेला नै थाहा पाएको । 

घरछेउमै वर-पीपलको सुसाहट । ५ वटै धाराबाट बगेको पानीको संगीत । त्यही प्रकृतिको संगतले हुनुपर्छ, दाहाल यज्ञनिधिमा सानैबाट काव्यिक भावधाराको मूल फुटेको ।

म ९-१० कक्षामा पढ्न थालेपछि यज्ञनिधि रेडियो नेपालमा बोल्छन् भन्ने कुरा थाहा पाएँ र रेडियो सुन्न थालेँ । त्यो बोलीले मलाई बिस्तारै तान्न थाल्यो । उनी साँच्चै देशका ठूला मान्छे हुन् भन्ने लागेर नदेखीकनै म उनीतर्फ आकर्षित हुन थालेँ । उनका बारे गाउँका मान्छेसँग जिज्ञासा राख्दै गएँ ।

उमेरमै बुबाको मृत्युपछि कहालीलाग्दो गरिबीसँग जुध्न नसकेर उनी सानैमा गाउँ छाडेर हिँडेका रहेछन् । त्यसपछि अनेक दुःखसँग जुध्दै संस्कृत शिक्षा पढेछन् । काठमाडौंको दरबार हाइस्कूलमा पढाउन थालेका । रेडियो नेपालमा साहित्य र संस्कृतिसम्बन्धी कार्यक्रम चलाउन थालेका । उनमा सानोठूलो, उँचनीच, जातपात नमान्ने स्वभाव विकास हुँदै गएको । पछि कहिलेकाहीँ गाउँ जाँदा विश्वकर्मा र दर्जीको घरमा पसेर दही, मही, पानी पिएको । 

खाल्लेका भक्तबहादुर विश्वकर्माका जेठो छोरा सनबहादुरसँग मीत लाएका । दशैँमा आमाले पहिले आफूलाई टीको लगाउन खोज्दा बेलाबखत कामधन्दामा सहयोग गर्ने घर नजिकैको दानबहादुर कामीलाई टीको लाउन लगाएर मात्र आफूले टीका थापेको । बाहुनवाद र कर्मकाण्डी प्रथाको घोर विरोधी रहेको । यज्ञनिधि दाहालका बारेमा मैले यस्ता कुराहरू गाउँलेबाट थाहा पाएँ । 

गाउँका ठूलाठालु र कट्टर बाहुनहरूले उनका यस्ता क्रियाकलापप्रति नकारात्मक टिप्पणी र सत्तो सराप गर्दै हिँडेको पनि मैले थाहा पाएँ । त्यसपछि त झन् मलाई उनीप्रति अरू श्रद्धा जाग्दै आयो । उनलाई देख्ने हुटहुटी पैदा हुन थाल्यो । रेडियो नेपालमा उनका कार्यक्रम मैले नछुटाई सुन्न थालेँ । उनको कार्यक्रम आउँछ भनेपछि म अघिल्लो दिनै घाममा ब्याट्री सुकाएर ठीकठाक पार्थें । रेडियोमा उनले ‘जदौ’ भनेको, विभिन्न व्यक्तिहरूसँग खरो कुरा गरेको, मीठोसँग कविता वाचन गरेका कुराहरूले मलाई औधि विधि छुन थाले । मलाई पनि नजानिँदो ढंगले साहित्यप्रति मोह जाग्दै गयो । विभिन्न किताबहरू खोजेर पढ्न थालेँ ।

२०४७/०४८ सालतिर होला, मैले दाहाल दाइलाई पहिलोचोटि देखेको । म दिक्तेल क्याम्पस पढेर झर्दा उहाँ चन्द्रमानेको वर चौतारीमा थकाइ मारिरहनुभएको । साथमा २ जना विदेशी महिला पनि थिए । ‘उहाँ यज्ञनिधि दाहाल’ भनेर अर्काले चिनाइदिएपछि पो म झसङ्ग भएँ । नमस्ते गरेँ । ‘जदौ बा !’ भन्नुभयो दाहाल दाइले । नचिनेका सबैको नाम सोध्नुभयो । पढाइ सोध्नु भयो । कामका बारेमा जानकारी लिनुभयो । बहुत मीठो बोली । हामी सबै उहाँलाई देखेर र बोली सुनेर मुग्ध भयौँ । 

मैले उहाँलाई ‘म पनि कविता लेख्छु’ भन्न चाहेको थिएँ तर त्योबेला भन्न सकिनँ । उहाँलाई भेटेपछि मनमा एउटा छुट्टै विचार भने आयो । उहाँ यो देशकै गहना । गाउँ तथा जिल्लाको त अमूल्य निधि नै हो । जिल्लास्तरमै कुनै कार्यक्रम गर्न नसके पनि गाउँमा एउटा भेटघाट कार्यक्रम राख्नुपर्‍यो । त्यसैबाट म कविता लेख्छु भन्ने छनक पनि दिनुपर्‍यो भन्ने मनमा लागेर मैले शीतला मा.वि. (माथ्लो स्कूल)का प्रधानाध्यापक पुण्य खतिवडालगायत अरू साथीहरूसँग सल्लाह गरेँ । त्यतिखेर म सेराको फलाँटे स्कूल (सगरमाथा प्रा.वि.)मा पढाउँथेँ । सेराका रुद्र राई र अरू केही जनासँग पनि सल्लाह गरेँ । दाहाल यज्ञनिधि भनेपछि सबैले चासो राखे । भेट्न उत्साहित भए । 

यति गरेपछि म उहाँको घर खाल्ले धारापानीमा गई उहाँलाई भेटेर भेटघाट कार्यक्रम तय भएको बारे बताएँ । उहाँको बसाइ लामो थिएन । तैपनि भोलिपल्टै दिउँसोतिर माथ्लो स्कूलमा गाउँका निकै मान्छे जम्मा भए । नवराज केसी, भीम केसी, भरत केसी, केदार केसी, डिल्ली अधिकारी, गोपाल अधिकारी, पुण्य सर, कृष्ण अधिकारी र स्कूलका अरू सबै सर, मिसहरू, सेराका रुद्र राई, शिव, दुर्गा कुमार, मकर, नेत्र राईलगायत गाउँका निकै मान्छेहरू जम्मा भइयो । यतिका मान्छे जम्मा भएपछि दाहाल दाइलाई प्रमुख अतिथि बनाएर प्रधानाध्यापक पुण्य खतिवडाको अध्यक्षतामा एउटा औपचारिक कार्यक्रम नै गरियो । मैले कार्यक्रम सञ्चालन गरेँ । 

नवराज केसी र रुद्र राईले उहाँसँगका सम्झना र उहाँले गरेका कर्महरूबारे राम्रोसँग प्रकाश पार्नुभयो । मैले मौका छोपेर बीचमा एउटा गजल र एउटा कविता सुनाएँ । त्यसपछि दाहाल दाइले बोल्नुभयो । गाउँ छँदा आफूले गरेका दुःख, भोगेको गरिबी, पेटभरि ढिँडोरोटो खान नपाएको कुरा, गाउँ छाडेर धरान र काठमाडौंमा संस्कृत शिक्षा पढ्दा खेपेका अभावग्रस्त दिनहरू, गाउँका धनीमानीले गरेका अन्याय, दलितमाथिको भेदभाव आदिका बारे बहुत मीठो र मार्मिक ढंगले बोल्नुभयो । उहाँको बोलीले हामी सबै मुग्ध भयौँ । अन्तमा उहाँले मेरा कविता र गजलका बारेमा अनि कार्यक्रम संयोजनका बारेमा मुक्तकण्ठले प्रशंसा गर्नुभयो ।

यसरी बल्ल म उहाँको मन मुटुमा विराजमान भएँ । दाहाल दाइसँग साक्षात्कार भएर उहाँका कुरा सुन्ने मेरो भित्री चाहना व्यक्तिगत भेटमा मात्र नभएर एउटा बृहत् भेलाकै माध्यमबाट पूरा भयो । यो मेरो अन्तर्यमा लुकेको लोभ पनि थियो । पछि गाउँका मान्छेहरूले पनि यो कुराको निकै प्रशंसा गरे ।

हामीले २०५० सालमा दिक्तेलमा ‘नव प्रतिभा साहित्यिक मञ्च’ खोलेका थियौँ । त्यसै संस्थाबाट ‘प्रतिभा’ नामक अर्धवार्षिक साहित्यिक पत्रिका पनि निकाल्न सुरु गर्‍यौँ । त्यसको पहिलो अंकमा मेरो निबन्ध ‘दशैँले निम्त्याएका खुसीहरू’ प्रकाशन भएको थियो । प्रतिभाका प्रकाशित अंकहरू हामी काठमाडौंमा रहेका साहित्यकारहरूलाई पनि पठाउथ्यौँ । त्यो पहिलो अंक रेडियो नेपालमा दाहाल दाइलाई पनि हात लागेछ । 

२०५१ सालको त्यो दशैँमा म राजापानी खाम्तेल मावलीमा टीका लाउन गएको थिएँ । मावलमा २ वटा ब्याट्री जाने जापानी पानासोनिक रेडियो थियो । भोलिपल्ट बिहीबारको बिहानै ‘साहित्य संसार’ कार्यक्रममा दाहाल दाइले ‘प्रतिभा’मा प्रकाशित दशैँसम्बन्धी त्यो निबन्ध वाचन गर्दै गरको सुनेँ । सुन्नासाथ मेरा खुट्टा भुइँमा भएनन् । बीचबीचमा मेरो नाम उच्चारण गर्दा त झन् त्यतिखेरको खुसी म मापन गर्नै सक्दिनँ ।

आमा, कान्छा मामा, जेठा मामा, परपाहुनाहरू, पल्लाघरका भयाका बाउ, सीताका बाउ, दैव राई आदि छरछिमेकसमेत रेडियोको वरिपरि बसेर पूरै कार्यक्रमभरि मेरो रचना वाचन गरेको सुन्यौँ । कार्यक्रम सकिएपछि सबैले मलाई ठूलै मान्छेको रूपमा प्रशंसा गर्न थाले । रेडियो नेपालबाट दाहाल दाइको लोकप्रिय कार्यक्रममा मेरो रचना वाचन हुँदा मेरो खुसीको त सीमै थिएन । मावलबाट घर फर्किएपछि गाउँतिर, दिक्तेलतिर पनि धेरैले त्यो कार्यक्रम सुनेको र निकै खुसी भएको कुरा बताए । म आपूmलाई पनि म निकै ठूलै हँुदै छु कि जस्तो लाग्यो ।

त्यसको केही वर्षपछि म काठमाडौं आउँदा दाहाल दाइलाई भेट्न खोजेँ । घर पनि थाहा थिएन । फोन नम्बर पनि थाहा थिएन । रेडियो नेपालमा गएँ भने भेट्छु भनेर कर्मचारीको कार्ड देखाएर सिंहदरबार छिरेँ । 

सोध्दै, खोज्दै रेडियो नेपालतिर जाँदै थिएँ । दाहाल दाइलाई रेडियो नेपालबाट निस्किँदै गरेको देखेँ । बाहिरै भलाकुसारी गरियो । दाहाल दाइले गाउँको हालखबर सोध्नुभयो । मेरो लेखनबारे सोध्नुभयो । उहाँले मलाई धाप मार्दै ‘रेडियोबाट वाचन भएको त्यो निबन्ध गज्जबको थियो बा ! तपाईंका कविता पनि राम्रा छन् । गजल पनि राम्रा छन् । लेख्दै जानोस् । लेखन कर्म नछोड्नोस् । आज त समय भएन, केही दिन बस्नुहुन्छ भने रेडियो नेपालमा कविता रेकर्ड गरेर जानोस् टङ्क भाइ !’ भन्नुभयो । तर, मैले त्यसै दिन बेलुका फर्कनु थियो । ‘म पछि आउँदा भेट्छु दाइ !’ भनेर उहाँसँग छुट्टिएँ ।

निजामती जागिर सरुवा गरेर म २०५७ सालमा सोलुबाट काठमाडौं आएँ । त्यसबेला दाहाल दाइलाई मिर्गौलाको रोगले च्यापिसकेको थियो । त्यही कारण उहाँले रेडियो नेपालको कार्यक्रम पनि छाडिसक्नुभएको थियो । त्यसबेला म कीर्तिपुरबाट कहिलेकाहीँ अनामनगर ‘दाहालको दैलो’मा उहाँलाई भेट्न जान्थेँ । २०५८ असार अन्तिमतिर एउटा असारसम्बन्धी लेख लिएर म अनामनगर गएँ । त्यसबेला छोरी रञ्जना पनि थिई । 

उहाँले त्यो लेख आद्योपान्त पढ्नुभयो र भन्नुभयो, ‘लु टङ्क भाइ, असार त सकिन लागो । त्यै पनि म निलम र गीतालाई भन्दिन्छु । उनीहरूले प्रशारण गरिदेलान् ।’ नभन्दै केही दिनपछि ‘हाम्रो संस्कृति’ कार्यक्रममा मेरो त्यो लेख प्रसारण भयो । म फेरि खुसी भएँ । 

कोट लगाएको त्यो अग्लो ज्यान त्यतै कतै बाटाहुँदी ‘जदौ’ भन्दै हिँडिरहेजस्तो । सुधाको डिहीको फराकिलो बगैँचामा बोटबिरुवालाई पानी हालिरहेजस्तो । माटो कोट्याइरहेजस्तो । फूलहरू सुम्सुम्याइरहेजस्तो अनि ‘यसको अचार मीठो हुन्छ टङ्क भाइ, लानू’ भनी घरपछाडिको घारीबाट तनक्क तन्केर टिपेको केराको बुङ्गो हातमा दिइरहेजस्तो । 

२०४४/०४५ सालतिर होला मैले तत्कालीन नेपाल राजकीय प्रज्ञाप्रतिष्ठान र राष्ट्रिय कविता महोत्सवको नाम सुनेको । ९ असार दिउँसो बाहिर दलानको सिंगौरामा झुण्डिएको रेडियो बजिरहेको थियो । त्यहीबेला रेडियोमा भटाभट कविता आइरहेको थियो । मेरो ध्यान त्यता तानियो । 

राष्ट्रिय कविता महोत्सवको प्रत्यक्ष प्रशारण हुँदै रहेछ । नभन्दै मैले यज्ञनिधि दाहालको नाम सुनेँ र उहाँको कविता पनि सुनेँ । देशको माटोसँग सम्बन्धित थियो कविता । जोडदार प्रस्तुति रहेको त्यो कविता पद्यमा थियो । त्यसलगत्तै पुष्पनिधि दाहालको पनि कविता सुनेँ । पछि थाहा पाएँ, पुष्पनिधि यज्ञनिधिको भाइ हो भनेर । त्यहीबेला मलाई म पनि त्यो ठाउँमा पुगेर कविता भन्छु भन्ने भूत चढेको थियो ।

प्रत्येक वर्ष ९ असारमा हुने राष्ट्रिय कविता महोत्सवका लागि वैशाखमा कविताको आह्वान गरिन्थ्यो । मैले पहिलोचोटि २०५८ सालमा कविता बुझाएँ । मेरो कविता वाचनमा छनोट भयो । ‘सुन्तली’ शीर्षकको कविता थियो त्यो । पुरस्कृत नभए पनि छनोट भएर प्रज्ञाप्रतिष्ठानमा वाचन गर्न पाउनु मेरा लागि चानचुने कुरा थिएन । 

अर्को वर्ष २०५९ सालमा पनि मैले कविता बुझाएँ । छनोट भयो । ‘नीलो आकाश चुम्न चाहन्छ धरहरा’ शीर्षकको त्यो कविता वाचन गर्दा दाहाल दाइले ‘स्याब्बास ! टङ्क भाइ ! स्यावास !’भन्दै उठेर थपडी मार्नुभयो । उहाँको प्रस्तुतिले मलाई ठूलो हौसला मिल्यो । नभन्दै बेलुका कविताको नतिजा घोषणा हुँदा म तृतीय स्थानमा पुरस्कृत भएको थाहा भयो । 

चारैतिरबाट बधाईको ओइरो लाग्दा खुसीको सिमाना रहेन । संयोगको कुरो यो भयो कि २०४४/०४५ सालतिर राष्ट्रिय कविता महोत्सवको प्रत्यक्ष प्रसारणमा उहाँको कविता सुनेपछि त्यो ठाउँमा पुगेर म पनि कविता भन्छु भन्ने सपना बोकेको म २०५९ सालमा त्यही ठाउँबाट पुरस्कृत भएँ । त्यही कविता वाचन गर्दा उहाँले ‘राम्रो, राम्रो’ भन्दै हुटिङ गर्नुभएको थियो ।
    
मिर्गौला  प्रत्यारोपणपछि केही वर्ष उहाँले एचबीसी एफएममा साहित्यिक कार्यक्रम चलाउनुभयो । उहाँले चलाएको कार्यक्रम लोकप्रिय नहुने त कुरै भएन । त्यो रेडियोमा पनि उहाँले बोलाएर मैले दुईचोटि कविता भनेको छु ।

२०६०/०६१ सालतिर शीतला मा.वि. खाल्लेमा ‘गुरु रामप्रसाद स्मृति प्रतिष्ठान’को स्थापना भयो । त्यसमा दाहाल दाइ, नवराज केसी, परशु भट्टराईलगायत मलाई सल्लाहाकार नियुक्त गरिएको पत्र आयो । गुरु रामप्रसादका चेलाहरू जो हामी काठमाडौंमा रहेका छौँ, एउटा भेला गरेर केही काम गर्नुपर्‍यो भन्ने सोचले मैले एक भेलाको आयोजना गर्न सबैसँग सल्लाह गरेँ । फलस्वरूप दाहाल दाइकै घरमा हामी निकै जना भेला भयौँ ।

शीतला स्कूलको जग्गा अत्यन्त कम थियो । ठाउँ सानो र भवनहरू अत्यन्त नजिकनजिक भएकाले विद्यार्थीहरूले खेल्ने र कुनै कार्यक्रम गर्ने ठाउँको निकै अभाव थियो । त्यसैले भट्टराई जन्तरेबाका छोराहरूको नाममा रहेको स्कूलमुनिको १० रोपनीभन्दा बढी जग्गा किन्नका लागि हामीले पहल गर्ने निधो गर्‍यौँ । यतियति रकम दिने भनेर त्यहाँ भेला भएकामध्येबाट रकम लेखाउने काम त्यहीँ भयो । केही महिनाभित्र झण्डै एक लाख रुपैयाँ संकलन गरेर हामीले स्कूलका तत्कालीन प्र.अ. तथा प्रतिष्ठानका अध्यक्ष पुण्य खतिवडालाई उक्त रकम हस्तान्तरण गर्‍यौँ । ककसले कति रकम सहयोग गरे भन्ने कुराको विवरण २०६३ सालमा मेरो सम्पादकत्वमा प्रकाशन भएको ‘गुरु रामप्रसाद र शीतला स्कूल’ नामक स्मारिकामा उल्लेख छ । 

यसरी शीतला स्कूलका प्रथम गुरु रामप्रसादको सम्मानमा खोलिएको प्रतिष्ठानको नामबाट स्कूलको जग्गा बिस्तार र ऐतिहासिक स्मारिका प्रकाशनमा दाहाल दाइको ठूलो हात छ, जसमा म पनि महत्त्वपूर्ण भूमिकासँगै उहाँसँग प्रत्यक्ष रूपमा जोडिएको छु ।

२०६८ सालमा म रावासावा प्राज्ञिक समाजको अध्यक्ष बनेँ । आफ्नो कार्यकालमा केही महत्त्वपूर्ण सिर्जनात्मक कामहरू गर्नुपर्छ भन्ने मेरो सोच थियो । २०६४ सालमा रावासावाको स्थापना भएपछि अनामनगरस्थित उहाँको घरमा हामीलाई समाजको अफिस राख्ने ठाउँ दिनुभयो । सुरुमै १० हजार रुपैयाँ तिरेर समाजको आजीवन सदस्य बन्नुभयो । संस्थाका गतिविधि अगाडि बढाउन महत्त्वपूर्ण सल्लाह दिँदै आउनुभयो । 

देशको त हुँदै हो, खोटाङ जिल्लाको त उहाँ ठूलो साहित्यिक सम्पदा नै हो । राज्यले त उहाँलाई त्यस्तो सम्मान गरेको देखिएन । त्यसैले हामी खोटाङे सर्जकहरूको पहलबाट नै उहाँलाई एउटा ठूलो सम्मान गर्नुपर्छ भन्ने सोच आइरहेको बेला एक दिन साहित्यकार डा. भागवत आचार्यले कवि रमेश शुभेच्छुलाई लिएर रावासावा प्राज्ञिक समाजको कार्यालय, दाहालको दैलोमा आउनुभयो । रमेश शुभेच्छुले ‘दाहाल दाइलाई एउटा राष्ट्रियस्तरको बृहत् सम्मान गरौँ र त्यसको अगुवाइ तपाईंहरू रहेको यो समाजबाट नै होस्’ भन्ने कुरा गर्नुभयो । हामीले तुरुन्तै रावासावाका सम्पूर्ण साथीहरूको छलफलबाट यो कुरा पारित गर्‍यौँ । 

त्यसपछि विभिन्न साहित्यिक संघसंस्थाहरूको भेला गराउने निधो भई पटकपटकको भेला र बैठकबाट एउटा बृहत् स्तरको ‘दाहाल यज्ञनिधि अभिनन्दन समारोह समिति’ निर्माण गर्ने निर्णय गरियो । यसको संयोजक को रहने भन्ने कुरामा निकै छलफल भएपश्चात् उहाँले सबै मान्छेलाई नस्वीकार्ने भएकाले पछिल्लो समयमा उहाँ बसिरहेको निवास मण्डिखाटार ‘सुधाको डिही’मा भागवत आचार्य र म गयौँ । उहाँलाई अभिनन्दन गर्ने निर्णय र त्यसको तयारीबारे जानकारी गरायौँ । उहाँले अभिनन्दन होइन ‘अभिवन्दन समारोह’ भन्नुपर्छ भन्ने सल्लाह दिनुभई हाम्रो प्रस्तावलाई स्वीकार्नुभयो । 

अब उहाँलाई स्वीकार्य हुने राष्ट्रियस्तरको साहित्यिक प्राज्ञिक व्यक्तित्व को हुन सक्छ भन्ने कुरामा केही मान्छेहरूका नाम आए । त्यसमा सर्वप्रथम जनमतका प्रधानसम्पादक मोहन दुवालको नाम आयो । हामीले उहाँसँग कुरा गर्‍यौँ । दुवाल दाइले ‘यो अत्यन्त राम्रो कुरा हो तर यो बृहत् समारोहको संयोजक रहेर म काम गर्न सक्दिनँ’ भनेपछि दाहाल दाइकै सल्लाहबाट साहित्यकार तथा नेपाल प्रज्ञाप्रतिष्ठानका तत्कालीन प्राज्ञ विष्णु प्रभातसँग यो कुराको विस्तृत जानकारी गराएर संयोजकको भूमिकामा रहिदिन अनुरोध गर्‍यौँ । उहाँले त्यस कुरालाई सहर्ष स्वीकार्नुभयो । 

त्यसपछि विष्णु प्रभात संयोजक, म सहसंयोजक, रमेश शुभेच्छु सचिव, भागवत आचार्य कोषाध्यक्ष र सदस्यहरूमा अनिल पौडेल, ठाकुर बेलबासे, डम्बर घिमिरे, देवकुमारी लुइँटेल, नर्मदेश्वरी सत्याल, प्रकाश सिलवाल, मनोज गजुरेल, मित्रसेन दाहाल, लक्ष्मण गाम्नागे, वासुदेव अधिकारी र वियोगी बुढाथोकी जस्ता विभिन्न साहित्यकार तथा विभिन्न साहित्यिक संस्थाहरूका अध्यक्षहरू रहेको ‘साहित्यकार एवं संचारकर्मी दाहाल यज्ञनिधि अभिवन्दन समारोह समिति- २०६९’ गठन गर्‍यौँ । 

यस बृहत् स्तरको कार्यक्रमका लागि उपत्यकाभित्र र बाहिर रहेका धेरै साहित्यिक संघसंस्थाहरूसँग सहयोगका लागि हामीले कुरा पनि गर्‍यौँ । धेरैबाट सहयोग पनि मिल्यो । अभिवन्दन ताम्रपत्रमा हामीले सहयोग गर्ने संस्थाको नाम पनि खुलाएका छौँ । यसरी २०६९ सालको भदौमा नेपाल राष्ट्र बैंक, थापाथलीको हलमा एक भव्य अभिवन्दन कार्यक्रम गरियो । हलभित्र नअटेर बाहिर पनि मान्छेहरू टनाटन थिए । त्यसपछि रमेश शुभेच्छुलाई ‘जदौ’ शीर्षकको दाहाल यज्ञनिधिको जीवनचर्या र कृति चर्चा नामक ग्रन्थ तयार गर्न लगाई त्यही समारोह समितिबाट उक्त कृतिको प्रकाशन २०६९ सालमै गरियो ।

‘जनमत’ साहित्यिक मासिक पत्रिकाले ‘खोटाङ विशेषाङ्क’ निकाल्ने भयो । यसका लागि खोटाङे स्रष्टाहरू कोपिला थुलुङ र सविता भुजेलबाट खोटाङसम्बन्धी एउटा अनुसन्धानात्मक लेख लेखिदिनका लागि अनुरोध आयो । मैले निकै समय लगाएर ‘खोटाङका कवि र कविता’ नामक लेख लेखिसकेपछि जनमतका प्रधानसम्पादक मोहन दुवालले मलाई एक दिन फोन गरेर जनमतले खोटाङ विशेषाङ्क निकाल्ने तयारी गरेको र यसका लागि दाहाल यज्ञनिधिको अन्तरवार्ता लिइदिन अनुरोध गर्नुभयो । 

करिव १५-१६ वर्षअघि फेरेको मिर्गौलाले पुनः काम गर्न छाडेपछि दाहाल दाइ निकै थला पर्नुभएको थियो । लामो समयदेखि हप्ताको ३ दिन पूरै डायलाइसिस गर्नुपरेका कारण शरीर निकै गलेको थियो । यो अवस्थामा दाहाल दाइलाई गाह्रो भए पनि उहाँसँगको अन्तरवार्ता खोटाङ विशेषाङ्कका लागि एउटा महत्त्वपूर्ण पठनीय सामग्री हुने र त्यसका लागि उहाँको सुमधुर बोली नै रेकर्ड गर्दा पछिसम्मका लागि सम्पत्ति बन्छ भन्ने ठानेर मैले उहाँको २ दिन समय लिई सुधाको डिहीमा गएर अन्तर्वार्ता लिएँ । 

दाहाल दाइसँग लामो अन्तर्वार्ता लिइसकेपछि मलाई पनि निकै आनन्द आयो । जनमत मासिकले २०७३ माघ महिनाको अंकलाई खोटाङ विशेषाङ्कको रूपमा प्रकाशन गर्‍यो र यसको विमोचन मोहन दुवालले खोटाङमै गएर गर्नुभयो ।

सिमलबोटे धनबहादुर भट्टराई र दाहाल दाइले खाल्ले स्कूल पढ्दा मीत लगाउनुभएको अरे । दाहाल दाइले गाउँ छाडेपछि झण्डै ४०-४५ वर्षै भएको रहेछ उहाँहरूको भेट नभएको । २०७३ फागुनतिर धनबहादुर जेठाउ/जेठेमा पहिलोचोटि जेठो छोरा राजनसँग काठमाडौं घुम्न आएका बेला हाम्रो बुबाआमालाई भेट्न बूढानीलकण्ठ आउनुभयो । बात मार्दै जाँदा उहाँले दाहाल दाइको घर सोध्नुभयो । स्कूल पढ्दा सानामा मीत लगाएको कुरा गर्नुभयो । ‘एकचोटि भेट्ने ठूलो इच्छा थियो, मलाई त्यहाँ पुर्‍याइदेऊ’ भनेपछि मैले राजनलाई मण्डिखाटारस्थित सुधाको डिही जाने बाटो बताइदिएँ । घरको फोन नम्बर दिएर अफिसतिर गएँ । 

त्यसै दिन बेलुका राजनले मलाई फोन गरेर उहाँको घर पुगेको, लामो समय गाउँको कुरा गरेको र फोटो खिचेको कुरा सुनायो । फेसबुकमा फोटो पनि हाल्यो । उहाँहरूको भेट भएको थाहा पाएर मलाई पनि निकै खुसी लागो ।

खाल्लेका भक्तबहादुर विश्वकर्माको जेठो छोरा सनबहादुरसँग पनि उहाँले मीत लाएको अरे । पछिल्लो अवस्थामा सनबहादुरसँग उहाँको भेट भयो, भएन, त्यो मैले थाहा पाइनँ ।

६ फागुन २०७४ मा छोरी रञ्जनाको बिहे थियो । मैले दाहाल दाइको घरै गएर छोरीको बिहेको निम्तो दिएँ । दाइले क्यालेण्डर हेर्नुभयो । त्यस दिन डायलाइसिसको दिन रहेछ । बिहान १० बजेदेखि ५ बजेसम्मै हप्ताको सोमबार, बुधबार र शुक्रबार डायलाइसिस गर्नुपर्ने नियमित प्रक्रिया थियो उहाँको । ‘भाइ, छोरीको बिहेमा दिनैभरि बसेर गाउँलेसँग कुरा गर्न मन लागेको थियो । यो पापी रोगले दिएन । हामी एकैछिन भए पनि हस्पिटल जाने बाटो पारेर आउँछौँ’, दाहाल दाइले थकथक मान्दै भन्नुभयो । बिहेको दिन भाउजू सुधासहित दाहाल दाइ बिहान ९ बजेतिरै मिराकल पार्टी भेन्यु सुकेधारा आउनुभयो । छोरीलाई शुभकामना दिनुभयो । भेला भएका गाउँलेसँग एक घण्टाजति बात मार्नुभयो । फोटो खिचाउनुभयो अनि सबैलाई नमस्ते गर्दै र हात हल्लाउँदै त्यहाँबाट बिदावारी हुनुभयो । 

मेरो र सायद त्यहाँ भएका सबै गाउँलेसँग उहाँको अन्तिम भेट पनि त्यही हुन पुग्यो ।

एकैछिन भए पनि दाहाल दाइसँगको भेट र कुराकानी मलाई मीठो लाग्थ्यो । मण्डिखाटारस्थित सुधाको डिहीमा म बेला बखत गइरहन्थेँ । घण्टौँ कुराकानी हुन्थ्यो । कहिले समाजका, कहिले साहित्यका, कहिले धर्म र संस्कृतिका, राजनीतिका, गाउँघरका कुराहरू हुन्थे । यी सबै क्षेत्रमा उहाँको गहिरो ज्ञान र थियो । कुरा गर्दैै जाँदा समय बितेकै पत्तै नहुने । जति सुने पनि उहाँका कुरा सुनौँसुनौँ लाग्ने । 

गुरुपुत्र नारायण न्यौपाने र म एक बेलुका सुधाको डिहीमा खाना खाएर अबेरसम्म गाउँघरका बात मार्दैै एक रात त्यहीँ बसेका छौँ । ‘टङ्क भाइ गाउँमा पनि घरै छेउमा पानधारे । धाराको कलकल आवाज सुन्दै मेरो बाला जोवान बित्यो । त्यसैले छेउमा धोबी खोलो बगेको आवाज सुन्दै यहीँनेर सुत्छु’ भन्दै आफू सुत्ने कोठा देखाउनुभएको मलाई अहिलेझैँ लाग्छ । भाउजू सुधा दाइको असाध्यै ख्याल गर्ने । भाउजू सुधाको ख्याल, समर्पण र प्रेमले नै मिर्गौला फेरेको त्यत्रो वर्षसम्म दाहाल दाइ बाँच्न सफल हुनुभयो । 

दाइले भाउजूलाई मायाले ‘लुुसु’ भनेर बोलाउनुहुन्थ्यो । मलाई लाग्छ, भाउजूसँगको प्रेमको निशानी स्वरूप मण्डिखाटारको निवासलाई दाहाल दाइले ‘सुधाको डिही’ भनेर नाम राखिदिनुभयो । दाहाल दाइ जस्तै सुधा भाउजू पनि मलाई अत्यन्तै माया गर्ने । उहाँको हातले बनाएका परिकारहरू मैले धेरैचोटि अत्यन्त प्रेमपूर्वक खाएको छु । छेउमा बसेर भाउजूसँग पनि धेरै बात मारेको छु ।

अनामनगरस्थित दाहालको दैलो अत्यन्त चर्चित स्थान बन्यो । देशभरिका साहित्यकारहरू भेट्न आउने ठाउँ । उहाँको कुरा सुन्न र भलाकुसारी गर्न आउने ठाउँ । उहाँ बसेको त्यो ठाउँको पहिले कुनै नाम नभएकाले उहाँले नै अनामनगर राखेको अरे ! ‘अहिले पो यस्तो भयो त भाइ, पहिले त स्याल कराउने ठाउँ हो यो । जताततै गुहिये गल्ली । यो ठाउँको नामै थिएन । त्यसैले मैले नै अनामनगर राखेको’, उहाँ भन्नुहुन्थ्यो । 

उता, मण्डिखाटारस्थित आपूm बसेको ठाउँलाई पनि एकता बस्ती र वरफेदी फाँट भनेर उहाँले नै नाम राखेको कुरा उहाँ बेलाबेला सुनाउनुहुन्थ्यो । ‘बिरामी भएपछि अनामनगरमा मान्छेको भिडाइँचो होहल्लाको कारण शान्तसँग यो ठाउँमा बस्न आ’को हुँ । धोबी खोला बगेको हेर्दै र यसको संगीत सुन्दै बस्न बहुत आनन्द आउँछ मलाई । उतै गाउँको जस्तो’ भन्नुहुन्थ्यो । 

बाहिर हिँड्दा प्रायजसो कोट नै लगाइरहने अग्लो ज्यानका दाहाल दाइ बाटो हिँड्दा होस् वा कुनै कार्यक्रम वा भीडतिर परैबाट जो कोहीले चिन्ने । सबैलाई ‘जदौ’को अभिवादन गरिरहेको भेटिने । 

निकै वर्ष अगाडि एकचोटि म सिंहदरबारबाट माइतीघर आइरहेको थिएँ । बाटो क्रस गरिसकेपछि दाहाल दाइसँग ठ्याक्कै भेट भयो । उहाँले एक्कासि भन्नुभयो, ‘भाइ, अमेरिकामा तपाईंको कुरा भ’को थियो । लु पारिपट्टि गर भुङ्ग्रे रोटी खा’र एकछिन बात मारौँ । तर, मैले पैसा तिर्ने शर्तमा है भाइ !’

त्यसपछि हामी माइतीघरबाट सिंहदरबार छिर्ने बाटोको तन्दुरी रोटी पाइने होटलमा गयौँ । तरकारी र भुङ्ग्रे रोटी खायौँ । चिया पियौँ । उहाँले छोरा (भाइ शिवनिधिको छोरा) निम्तोमा भाउजूसहित अमेरिका गएको, विभिन्न ठाउँ घुमेको अनि खाल्लेको केदार केसीको घरमा एक दिन बस्दा त्यहीँ मेरो बारेमा कुरा भएको बात मारियो । 

२०६६/०६७ सालतिर होला, त्यतिखेर म पुतलीसडक न्यू प्लाजामा बस्थेँ । एक दिउँसो दाहाल दाइसँग पुतलीसडक बाटैमा भेटियो । एकछिन भलाकुसारी भएपछि उहाँले भन्नुभयो, ‘टङ्क भाइ, हामी एकै गाउँका मान्छे, मर्दापर्दा डालो बोक्ने हामी नै हौँ । लु, तपाईंको कोठा जाऔँ । यसो बाटो थाहा पाइराख्दा राम्रो हुन्छ ।’

कोठामा छोरी रञ्जना थिई । दाइ एक-डेढ घण्टा बात मारेर बस्नुभयो । उहाँका कुरा सुनेर छोरी पनि निकै प्रभावित भई ।

कैलेकाहीँ कार्यक्रमतिर वा अन्यत्र कतै कोहीसँग बात मार्दा यदि त्यहाँ म छु भने उहाँ अरूलाई सुनाउँदै भन्नुहुन्थ्योे, ‘उहाँ टङ्क भाइ, हामी एकै गाउँका मान्छे । मेरो घरको बलेसीको पानी उहाँको घर हुँदै उँधो झर्छ । तल दिखुवाछेउबाट दिक्तेल सिरान मुडे धाएर पढेको मान्छे । काठमाडौं आएर धेरै दुःख गरेको । राम्रो कविता लेख्ने भाइ ।’

काठमाडौं आएर म सुरुमा कीर्तिपुर बस्दा २०५८ सालतिर होला, छोरी रञ्जना त्यतिखेर ९-१० वर्षकी थिई, उसलाई लिएर एकचोटि दाहालको दैलो अनामनगरमा गएँ । उहाँ बिरामी हुनुहुन्थ्यो । रञ्जनालाई मेरो बारेमा केही कुरा भन्दै ‘राम्रो पढ है छोरी’ भनेर सुम्सुम्याउनुभयो । त्यसपछि सुधा भाउजूलाई अह्राएर एउटा डायरी ल्याउनका लागि भन्नुभयो अनि गोजीको फुल्टिन निकालेर ‘टङ्क भाइलाई मीठो कविता लेख्नका लागि उपहार’ भन्ने लेखेर एउटा राम्रो डायरी दिनुभयो । उहाँले मायाले दिएको त्यो डायरीभरि मैले कविता र गीत लेखेको छु । जब त्यो डायरी पल्टाउँछु, दाहाल दाइ मेरै अगाडि उभिएको पाउँछु ।

उहाँको बैठक कक्षमा जननायक बी.पी. कोइरालाको ठूलो फोटो छ । बी.पी.लाई आदर्श नेता मान्ने उहाँ बी.पी.को समाजवादका बारेमा खुलेर कुरा गर्नुहुन्थ्यो । राजतन्त्रको त उहाँ जहिल्यै सत्तो सराप गर्ने । कम्युनिस्टको त्यस्तै खेदो गर्ने । एकचोटि कांग्रेसले गरेको आन्दोलनमा उहाँले कम्युनिस्टलाई ढुंगाले हानेको चर्चा निकै फैलिएको थियो । 

आफूलाई मन नपरेको मान्छेको त उहाँ जहिल्यै खेदो खन्ने । उहाँले खैरो खन्ने नेता, पुरोहित, साहित्यकार, संस्कृतिकर्मी, समाजसेवी र धनीमानी भनिने व्यक्तिहरू त कति छन् कति । बाहुनवाद, छुवाछूत तथा कर्मकाण्डी प्रथाको त उहाँ भयङ्कर विरोधी नै हो । त्यसो त राम्रा कुरा र राम्रा मान्छेको पनि उहाँ त्यतिकै कदर गर्ने । दलित, श्रमजीवीलगायत राष्ट्र र समाजबाट शोषित, पीडित, उपेक्षित, निरीह, निमुखा तथा तल्लो वर्गका मान्छेहरूको पक्षमा जहिल्यै र जहाँ पनि वकालत गरेर हिँड्ने दाहाल यज्ञनिधिको सिद्धान्त र व्यवहारमा खासै फरक परेन । 

शोषण, उत्पीडन, जातीय तथा वर्गीय भेदभाव, अन्याय, अत्याचार जस्ता खराब कुराको विपक्षमा रही सत्य र न्यायको पक्षमा आफू बाँचुञ्जेल सतीसालझैँ सधैँ उभिइरहनुभयो । जीवनभर आफूले काम गरेको संचार क्षेत्र तथा लेखेका, बोलेका साहित्यिक सामग्रीहरू र गतिविधिहरूबाट सधैँ यिनै पक्षलाई उजागर गरिरहनुभयो । रोगले त्यत्रो गालेको अवस्थामा पनि मर्नुअघिसम्म रेडियो अन्नपूर्णमा साहित्यिक कार्यक्रम चलाइरहनुभएको थियो उहाँ ।

र, अन्त्यमा २५ साउन २०७५ मा दाहाल दाइले यो लोकबाट बिदा लिनुभयो ।

पूर्वजन्म, पुनर्जन्म जस्ता कुराहरूमा पटक्कै विश्वास नगर्ने दाहाल दाइको इच्छाअनुरूप उहाँको मृत शरीर नजलाई एक विशेष औपचारिक कार्यक्रममार्फत त्रि.वि. शिक्षण अस्पताललाई दिइयो । लासमा कुनै फूल र अबीर चढाइएन । हिन्दु सनातन धर्मअनुसार सास जानुअघि र पछिका कुनै काजकर्म तथा किरिया गरिएन । 

अल बिदा दाहाल दाइ ! 

तपाईंले भनेको एउटै कुरा बाँकी रहेजस्तो लाग्छ- खाल्ले पानधारे वरपरको आफ्नो पुख्र्यौली बारीमा अनेकथरिका फलफूल लगाउने । सल्ला र उत्तीसका रूखहरू रोप्ने । कहिले शहर बस्ने, कहिले गाउँ । तपाईं बेलाबखत भन्नुहुन्थ्यो, ‘कति प्यारो हुन्छ नाइटो गाडिएकोे ठाउँ । हो, उतै बेस्सरी रमाउने । सल्लाहरूसँगै सुसाउने । चराहरूसँगै गीत गाउने ।’ 

योबाहेक तपाईंले जे बोल्नुभयो जीवनमा, त्यही गर्नुभयो । प्रकृतिले दिएको आफ्नो सुमधुर गला र कलाबाट यो दुनियाँलाई धेरै गुन लगाउनुभयो । मरेर गए पनि त्यही मीठो गला र कलाको जादूबाट सबैका मनमनमा बिराजमान हुनुभयो । म जस्ता धेरैको प्रेरणाको स्रोत र आदर्श व्यक्ति बन्नुभयो तपाईं । अहिले पनि मलाई झल्को आइरहन्छ- तपाईं घरिघरि दाहालको दैलो घुरुक्क उघारेर भित्र छिरेजस्तो । बाहिर निस्केजस्तो । कोट लगाएको त्यो अग्लो ज्यान त्यतै कतै बाटाहुँदी ‘जदौ’ भन्दै हिँडिरहेजस्तो । सुधाको डिहीको फराकिलो बगैँचामा बोटबिरुवालाई पानी हालिरहेजस्तो । माटो कोट्याइरहेजस्तो । फूलहरू सुम्सुम्याइरहेजस्तो अनि ‘यसको अचार मीठो हुन्छ टङ्क भाइ, लानू’ भनी घरपछाडिको घारीबाट तनक्क तन्केर टिपेको केराको बुङ्गो हातमा दिइरहेजस्तो । 

दाहाल दाइ, तपाईं बगिरहनुभएको छ यता वरफेदी फाँटमुनि सुसाउँदै झरेको धोवी खोलामा र उता उसैगरी बगिरहनुभएको छ पानधारेको पानीमा । उही जादूमय स्वरमा गीत गाइरहनुभएको छ तपाईंले घाँस-दाउरा गरेको खाल्लेको वनपाखामा । शिरको टोपीले पसिना पुछ्दै सुसेली हालिरहनुभएको छ दाप्साको जंगलमा र  उसैगरी नियालिरहनुभएको छ सेतेटारमुनिका थुप्रै जिन्दगीहरू ।