कोरोना कहर: जोखिमपूर्ण चाडबाडका २० दिनका लागि सरकारको योजना के छ ?

कोरोना कहर: जोखिमपूर्ण चाडबाडका २० दिनका लागि सरकारको योजना के छ ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  भदौ ६, २०७८

नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले संचालन गरेको ‘हेल्थ इमरजेन्सी अप्रेसन सेन्टर’ (HEOC  - http://heoc.mohp.gov.np/)को पेजमा  आएको जानकारीअनुसार  ५ भदौ शनिबार (विगत २४ घन्टाको तथ्यांकअनुसार) कोरोना संक्रमणबाट ३० जनाको निधन भएको छ । यसै अवधिमा देशभर कुल २ हजार ७५ जना नयाँ संक्रमित भेटिएका छन् ।

‘हेल्थ इमरजेन्सी अप्रेसन सेन्टर’ले कोरोना विषयक अधिकांश जानकारी स्केच बनाई प्रस्तुत गरेकाले म जस्तो कोरोनाका विषयमा कलम चलाउनेहरूलाई राहत भएको छ । एकै स्थानमा यससम्बन्धी डाटा उपलब्ध हुन्छ ।

आज प्रस्तुत गरिएको स्केचमा हिजो ४ भदौ शुक्रबारसम्म नेपालमा पीसीआर प्रविधिबाट ३८ लाख २१ हजार २४८ परीक्षण र एन्टीजेन प्रविधिबाट ४ लाख २९ हजार ४८२ परीक्षण भएका छन् । अर्थात् कुल ४२ लाख ५० हजार ७३० जनाको परीक्षण भएको छ । 

नेपालको प्रचारित जनसंख्या जे जति भए पनि नेपालमा बसोबास गर्नेको अनुमानित जनसंख्या २ करोड ५० लाख मान्ने हो भने अहिलेसम्म नेपालमा जम्मा १७ प्रतिशत मानिस कोरोना संक्रमण परीक्षणको दायरामा आएका छन् ।

पीसीआर  प्रविधिबाट  ३८ लाख २१ हजार २४८ जनाको परीक्षण हुँदा संक्रमित देखिनेको संख्या ७ लाख ४५ हजार ७३१ प्रमाणित भएको छ । अर्थात् कुल पीसीआरमध्ये संक्रमित हुने दर १९.५१ प्रतिशत रहेको छ । यसैगरी एन्टीजेन प्रविधिबाट भएका  ४ लाख २९ हजार ४८२ परीक्षणमा संक्रमित आउनेको संख्या ७९ हजार ९९१ रहेको छ । यो भनेको १८.६२ प्रतिशत संक्रमण दर हुनु हो ।

आउने २० दिन (हरितालिका तीजसम्म)सम्म कुनै ठोस पहल भएन  भने नेपालमा असोजको पहिलो साता (१५ सेप्टेम्बरतिर) कोरोना संक्रमणको तेस्रो लहर ‘पिक’मा पुग्छ । लहर ‘पिक’मा पुगेपछि त्यसलाई भएभरका सबै प्रयास गरेर पनि ४०-४५ दिनभन्दा पहिला नियन्त्रणमा ल्याउन सकिँदैन ।

दुवै प्रविधिको संयुक्त संक्रमण दर झण्डै १९ प्रतिशत रहेको छ । यो नेपालमा कोरोना भित्रिएदेखिको संक्रमण दर हो अर्थात् १०० जनाको परीक्षण हुँदा १९ जनामा संक्रमण भेटिएको छ ।
एक पटक विगत केही दिनको संक्रमण दर हेरौँ:

५ भदौ:

कुल पीसीआर परीक्षण ७ हजार ७०३ हुँदा संक्रमित संख्या १ हजार ४२४ र एन्टीजेन परीक्षण ५ हजार ३७२ हुँदा संक्रमित संख्या ६५१ ।  दुवै प्रविधिका कुल परीक्षण १३ हजार ७५ मा  संक्रमित संख्या २ हजार ७५ । परीक्षणमध्ये संक्रमण दर १५.८६ प्रतिशत । मृतक संख्या ३० जना ।  

४ भदौः

कुल पीसीआर १० हजार ५३० मा २ हजार ७९  जनामा संक्रमण पुष्टि ।  ७ हजार १२४ एन्टीजेन परीक्षणमा ९६३ जना संक्रमित । दुवै परीक्षण संख्या १७ हजार ६५४ मा संक्रमित संख्या ३ हजार ४२ । संक्रमण दर १७.२३ प्रतिशत । मृतक संख्या २६ जना ।

३ भदौ:

११ हजार ९४६ पीसीआर परीक्षणमा संक्रमित संख्या २ हजार ३२१ र एन्टीजेन परीक्षण ४ हजार ४९२ मा संक्रमित संख्या ७५४ । दुवै प्रविधिका कुल परीक्षण १६ हजार ४३८ मा संक्रमित संख्या ३ हजार ७५ । संक्रमण दर १८.७० प्रतिशत । मृतक संख्या ३३ जना ।

२ भदौ:

पीसीआर परीक्षण ११ हजार ८३९ हुँदा संक्रमित संख्या २ हजार ६१३ र एन्टीजेन परीक्षण ४ हजार ९९९ हुँदा संक्रमित संख्या ७९० । दुवैै टेस्ट १६ हजार ८३८ मा संक्रमित संख्या ३ हजार ४०३ । संक्रमण दर २०.२१ प्रतिशत । मृतक संख्या ४२ जना ।

१ भदौ:

११ हजार ५६५ पीसीआर परीक्षण हुँदा संक्रमित संख्या २ हजार ४५६ र ६ हजार १२४ एन्टीजेन परीक्षणमा संक्रमित संख्या ८१८ ।  दुवैै प्रविधिका कुल १७ हजार ६८९ परीक्षणमा संक्रमित संख्या ३ हजार २७४ । संक्रमण दर १८.५० प्रतिशत । मृतक संख्या २७ जना ।

उपरोक्त पाँचैँ दिनको औसत संक्रमण दर झण्डै १८ प्रतिशत हुन आउँछ, जुन देशमा संक्रमण दर १८ प्रतिशतको अंकमा रहेको छ । त्यहाँ हुने दैनिक परीक्षण १३-१५-१७ हजार स्तरहीन परिहास हो । संक्रमण दर १८ प्रतिशत हुनु भनेको प्रत्येक पाँचौँ मानिस  संक्रमित हुनु हो ।

नेपालमा कोरोना संक्रमणको पहिलो तथा दोस्रो लहरलगायत अहिलेसम्म कुल भएका परीक्षणमध्ये झण्डै १९ प्रतिशत संक्रमित आउनु र संक्रमणको दर अहिले पनि झण्डै उही हुनुले हामी कोरोनाको तेस्रो लहरबाट गुज्रिरहेको स्वतः प्रमाणित हुन्छ ।

यसै पानामा उपलब्ध रहेको जानकारीअनुसार देशमा ४९ लाख ३५ हजार ५६ जनालाई कोरोना भ्याक्सिनको पहिलो सुई दिइसकिएको छ । भ्याक्सिनको दुवै डोज पाउनेको संख्या ३८ लाख ३५ हजार ६०८ पुगिसकेको छ । यत्रो भ्याक्सिन वितरण भइसक्दा पनि झण्डै प्रत्येक पाँचौँ मानिस संक्रमित हुनु अवश्य पनि चिन्ताको विषय हो ।

खोप, खोप, खोपलाई नै एक मात्र प्राथमिकता बनाएको वर्तमान सरकारले कोरोना संक्रमणको प्रसार रोक्ने कार्यलाई पनि प्राथमिकतामा नराखे स्थिति जटिलभन्दा जटिल अवस्थामा पुग्ने खतरा देखिन्छ । अमेरिका, युरोपलगायत विश्वभर बढिरहेका कोरोना संक्रमणका ‘ब्रेक थ्रु’ केस (भ्याक्सिन लाएको मानिस संक्रमित हुनु)ले सम्बन्धित क्षेत्रका विज्ञहरूको निद्रा उडाएको छ ।  नेपाल सरकारले ‘ब्रेक थ्रु’ केसबारे मुख नखोले पनि व्यक्तिगत सम्पर्कका आधारमा विगत १० दिनमा ‘ब्रेक थ्रु’का झण्डै ५० वटा केस मेरो संज्ञानमा आएका छन् । विगत ५ दिनमा निधन भएका १५८ जनामध्ये १०-१२ जना दुवै डोज भ्याक्सिन लिएका व्यक्ति रहेको (व्यक्तिगत जानकारी) थाहा भएको छ । यसको यकिन तथ्यांक कति हो, त्यसबारे सरकारलाई नै थाहा हुनुपर्छ ।

५ भदौमा नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ३२१ रहेको भन्छ सरकार संचालित यस अनलाइनले । यसमध्ये ७१८ जनाको सघन उपचार केन्द्र (आईसीयू)मा तथा १६६ जना संक्रमितको भेन्टिलेटर सपोर्टमा उपचार भइरहेको छ । अर्थात् ८८४ जना संक्रमितको गम्भीर अवस्थामा उपचार भइरहेको छ । यो भनेको कुल सक्रिय संक्रमितको २.२४ प्रतिशत हुन आउँछ ।

नेपालमा अहिलेसम्म पीसीआर परीक्षणबाट देखिएका कुल संक्रमित ७ लाख ४५ हजार ७३१ जनामध्ये १० हजार ४८५ जनाको निधन भएको छ । अर्थात् नेपालमा कोरोनाको मृत्यु दर १.४० प्रतिशत रहेको छ । तर, अहिले गम्भीर अवस्थाको संक्रमितको प्रतिशत २.२४ हुनुले के संकेत गर्छ ?

एउटा अर्को तथ्यांक हेरौँ । ५ भदौमा गम्भीर संक्रमितको संख्या ८८४ जना रहेको छ । ४ भदौमा यो संख्या ८८५ थियो । यसमध्ये गत २४ घण्टामा ३० जनाको निधन भयो । अनुमान गर्न सकिन्छ कि गम्भीर उपचाररत ८८५ जनामध्येबाटै यी ३० जनाको मृत्यु भयो । ८८५ जना गम्भीर उपचाररतबाट ३० जनाको निधन हुँदा पनि अर्को दिन (५ गते) गम्भीर संक्रमितको संख्या ८८४ रहेको छ ।

यसैगरी ३ भदौमा देशमा गम्भीर संक्रमितको संख्या ९०७ जना रहेको थियो । यसमध्ये २६ जनाको निधन भयो । २ भदौमा गम्भीर बिरामीको संख्या ९५६ जना थियो । यस दिन मृतकको संख्या ३३ जना थियो । १ भदौमा गम्भीर बिरामीको संख्या ९८१ रहेको थियो भने मृतकको संख्या ४२ थियो ।

३२ साउनमा गम्भीर बिरामी संख्या ९९२ थियो र मृतक संख्या २७ रहेको थियो । ३२ साउनमा गम्भीर बिरामीको संख्या ९९२ थियो । त्यसयता मृतकको संख्या १५८ रहेको छ । अहिले (५ गते) गम्भीर बिरामीको संख्या ८८४ छ ।

३२ साउन र ५ भदौको तुलना गर्दा यी ५ दिनमा थप ५० जना गम्भीर बिरामी थपिएका देखिन्छ (३२ गतेका गम्भीर बिरामी ९९२ जनामा १५८ जनाको निधन हुँदा सोझो हिसाबमा यो संख्या ८३४ मा झर्नुपर्ने हो, यसमध्ये केही निको पनि भएका होलान्) ।  तर, ५ भदौमा यो संख्या ८८४ भएकाले भन्न सकिन्छ कि कम्तीमा ५० जना संक्रमित गम्भीर अवस्थाका बिरामी भई आईसीयू अथवा भेन्टिलेटर सपोर्टमा पुगेका छन् ।

५ भदौमा प्रकाशित तथ्यांक ४ भदौ शुक्रबारको हो । यस दिन देशभर जम्मा १३ हजार ७५ परीक्षण भए । यसमध्ये २ हजार ७५ जना संक्रमित देखिए । सरकार, स्वास्थ्य राज्यमन्त्री एवं सम्पूर्ण मन्त्रालय खुसी हुन सक्छन- नेपालमा संक्रमितभन्दा निको हुनेको संख्या २ हजार ३८२ वृद्धि भइसक्यो भनेर । नयाँ संक्रमितभन्दा ३०० भन्दा बढी व्यक्ति संक्रमणमुक्त भए । कतिपय अनलाइनले यसै आसयको हेडलाइन राखेर समाचार प्रकाशन पनि गरेका छन् ।
  
५ भदौ शनिबार हो । शुक्रबारको तुलनामा परीक्षण झनै कम्ती हुन सक्छ यस दिन । ६ भदौमा नयाँ संक्रमित संख्या पनि कम हुन सक्छ । निको हुनेको संख्या बढी हुन सक्छ । २ दिनको तथ्यांक सोमबार आएपछि लाज नमानी तपाईंहरूले भनेको सुन्न पाइन्छ, ‘नेपालमा बढ्यो संक्रमण दर ।’

१८ प्रतिशत संक्रमण दर चलिरहेको बेलामा व्यापक ‘ट्रेसिङ’ गरेर दिनहुँ परीक्षण संख्या ३५-४० हजार नपुर्‍याएसम्म संक्रमणलाई नियन्त्रणमा ल्याउन सकिँदैन । पशुपतिनाथकै आड भरोसाले देश चलाउने हो भने भ्याक्सिन पनि किन चाहियो र ?

अब २० दिनसम्म नेपालमा विभिन्न चाडबाड आइरहेका छन् (जनैपूर्णिमा-गाईजात्रा-कृष्ण जन्माष्टमी-कुशे औँसी र २४ भदौमा हरितालिका तीज) । सरकारका तर्फबाट यस समयमा विशेष पहल भएर सतर्कता देखाइएन भने नेपाल भारतको दक्षिणी राज्य केरलाको अवस्थामा पुग्न बेर लाग्दैन ।

आउने २० दिन (हरितालिका तीजसम्म)सम्म कुनै ठोस पहल भएन  भने नेपालमा असोजको पहिलो साता (१५ सेप्टेम्बरतिर) कोरोना संक्रमणको तेस्रो लहर ‘पिक’मा पुग्छ । लहर ‘पिक’मा पुगेपछि त्यसलाई भएभरका सबै प्रयास गरेर पनि ४०-४५ दिनभन्दा पहिला नियन्त्रणमा ल्याउन सकिँदैन ।

अनुरोध- स्वास्थ्य मन्त्रालयको यस पेजले सामान्य जोड-घटाउ र प्रतिशत जस्ता गणितीय कुरा गल्ती लेख्ने काममा सुधार गरोस् ।