अफगान द्वन्द्व : २२ लाख विस्थापित, ३५ लाख घरबारविहीन

अफगान द्वन्द्व : २२ लाख विस्थापित, ३५ लाख घरबारविहीन

एजेन्सी  |  विदेश  |  भदौ ७, २०७८

अफगानिस्तानमा सरकार र तालिबानबीचको द्वन्द्वका कारण लाखौँ मानिस विस्थापित भएका छन् । तालिबानको सत्तापलटसँगै पछिल्लो समय त्यहाँबाट विस्थापित हुने मानिसको संख्या झन बढ्दो छ । पछिल्लो एक सातामा हजारौँ मानिसले देश छाडेका छन् ।

२ दशक लामो द्वन्द्वका कारण अहिलेसम्म २२ लाख मानिस विस्थापित भएर छिमेकी मुलुकमा आश्रय लिएका छन् । द्वन्द्वकै कारण ३५ लाख मानिस घरबारविहीन बनेका छन् । 

कतिले छाडे देश ? 

पछिल्लो राजनीतिक परिवर्तनपछि कति अफगानीले देश छाडे भन्नेबारेमा अहिलेसम्म प्रस्ट भइसकेको छैन । काबुलबाट स्वदेश फर्किने विदेशी सेनासँगै हवाईमार्गबाट दोस्रो मुलुक पुगेका अफगानीबाहेक स्थलमार्ग हुँदै छिमेकी मुलुकबाट बाहिरनेको संख्या पनि ठूलो छ । तालिबानले सर्वसाधारणलाई मुख्य नाकाबाट अर्को देश जान रोक लगाए पनि लुकेर पाकिस्तान, ताजकिस्तान, इरान, उज्वेकिस्तान, तुर्केमेनिस्तानलगायतका देशमा जानेको संख्या उल्लेख्य छ । ‘ठूलो संख्याका अफगानीहरू लुकिछिपी दोस्रो मुलुक प्रवेश गरेका छन्’, राष्ट्रसंघको शरणार्थीसम्बन्धी आयोग यूएनएचसीआरका प्रवक्ता भन्छन् । 

तालिबानले काबुल नियन्त्रण लिएपछि हजारौँ अफगानी पाकिस्तान पुगेको बताइएको छ । त्यस्तै, पछिल्लो पटक एक हजार ५०० अफगानी उज्वेकिस्तान पुगेका छन् । उनीहरू त्यहाँका विभिन्न स्थानमा पालमुनि बस्न बाध्य छन् । राजधानी काबुलबाट अहिलेसम्म १८ हजार मनिसले देश छाडेको नेटोका एक अधिकारीले बताएका छन्, तीमध्ये कति अफगानी थिए भन्ने बारेमा प्रस्ट भइसकेको छैन । 

एक वर्षमा साढे ५ लाख घरबारविहीन

तालिबानले काबुललाई पुनः कब्जा गर्नु अगाडि युद्धका कारण यस वर्ष मात्र साढे ५ लाख मानिस घर छाड्न बाध्य भएको यूएनएचसीआरको तथ्यांकमा उल्लेख छ । अहिले पनि झन्डै ३५ लाख अफगानी आन्तरिक रूपमा विस्थापित छन् । गत वर्षको अन्त्यसम्ममा २२ लाख मानिस छिमेकी मुलुकमा शरण लिइसकेका छन् । 

यस वर्ष अफगानवासीले ठूलो खडेरी सामना गर्नुपर्‍यो, जसका कारण देशका अधिकांश भागमा खानेकुराको अभाव भयो । राष्ट्रसंघअन्तर्गतको विश्व खाद्य कार्यक्रमले यसै वर्षको जुनमा सार्वजनिक गरेको एक प्रतिवेदनअनुसार एक करोड ४० लाख मानिस भोकमरीको चपेटामा छन् । 

कुन देशमा कति अफगान शरणार्थी ?

गत वर्षको एक तथ्यांकअनुसार छिमेकी मुलुक पाकिस्तान र इरानमा ठूलो संख्यामा अफगान शरणार्थी छन् । यूएनएचसीआरको तथ्यांकअनुसार सन् २०२० मा झन्डै १५ लाख पाकिस्तानमा छन् भने इरानमा ७ लाख ८० हजार छन् । त्यस्तै, जर्मनीमा एक लाख ८० हजार र टर्कीमा एक लाख ३० हजार शरणार्थी छन् ।