माधव नेपाललाई 'ओली कपट' र ‘ललिपप’ मा फसाएर काशी पठाउने हुन् रावल-भुसालले ?

माधव नेपाललाई 'ओली कपट' र ‘ललिपप’ मा फसाएर काशी पठाउने हुन् रावल-भुसालले ?

घनेन्द्र ओझा  |  दृष्टिकोण  |  भदौ ७, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले) विभाजनका लागि तयार भएको र फुटको अन्तिम टुंगोमा पुगेका बेला पुनः एमालेका ‘तेस्रो धार’ वा ‘मध्यमार्गी’ भनिएकाहरूको सलबलाहटले अध्यक्ष केपी ओलीलाई ‘घुँडा टेकाउने’ प्रयत्न गरिरहेको छ ।

पर्सी अर्थात् ९ भदौमा निर्वाचन आयोगले माधवकुमार नेपालको नेतृत्वमा दर्ता गरिएको नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीको आधिकारिकता प्रक्रिया टुंग्याउँदै छ । यसका लागि साविक एमालेको नवौँ केन्द्रीय महाधिवेशनबाट आएका नेतृत्व २०३ लाई आधिकारिक मान्ने आयोगले बताइसकेको छ । सोहीअनुसार पर्सी बुधबार  सनाखत हुँदै छ ।

यसो हुँदा माधव नेपालसँग आवश्यक संख्या पुग्ने र एमाले पार्टी विभाजित हुने पक्का देखिएपछि केपी शर्मा ओलीको टाउकोमा ठूलै बज्र पर्ने अवस्था आउने अनुमान गरिएको छ । यही तथ्यलाई आज (२०७८ भदौ ७ गते सोमबार) ‘यता न उता’का मध्यमार्गी नेताहरू भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेहरूले ओलीलाई भेटेरै बताइदिएपछि ओली ‘चतुर्‍याइँ’ ले अर्को तुरुप फालेको छन्– १४ जना सांसदलाई गरिएको कारबाही फिर्ता गर्ने र भोलि अर्थात् ८ भदौमै स्थायी कमिटी बैठक राखेर आवश्यक निर्णय लिने गरी बैठक आब्हान गर्न सहमत जनाएका छन् । 

हिजोसम्म त्यसरी ‘भ्याकुर लखेटाइ’ लखेट्ने केपी शर्मा ओलीले माधव नेपालहरूलाई स्वाभाविक र सहज ढंगले एमालेमा बस्न देलान् ? के उनले सबैलाई उचित सम्मान गरेर, आवश्यक जिम्मेवारी दिएर पार्टी एक ढिक्का बनाउलान् ? 

रोचक त के छ भने, गत ३ र ४ भदौमा मात्र केपी ओलीका ‘निख्खर’ अरिङ्गाल समानका सांसदहरूले सभामुख अग्निप्रसाद सापकोटाको कार्यकक्षमै गएर एमालेलाई ‘धोका दिने’ १४ जना सांसदलाई छिटो कारबाही गर्न दबाब मात्र दिएनन्, हात–खुट्टा भाँच्ने धम्कीसमेत दिए, घुमाइफिराई । ती सांसदकै तालमा नाच्दै पार्टी अध्यक्ष ओलीले पनि एउटा भिडियो अन्तर्वार्तामा सभामुखलाई अपमानपूर्ण ढंगले उछितो काढे ।

लोकतन्त्र, विधि र पद्धतिलाई सिरानीमुनिको मोबाइलजति पनि नठान्ने केपी ओली हिजोको आजै किन यसरी फतक्कै गले ? भनेर चासो त बढेकै छ ।

यसको मूल कारण एमाले पार्टी दोस्रो पटक फुटाएको दोष आफूमाथि आइनलागोस् भन्ने नै हुनुपर्छ । विगतमा महाकाली सन्धिका नाममा सती जाँदा माधव नेपाल र ओली एकै कित्तामा उभिएर एमाले फुटाएका थिए भने अहिले यी २ जना विपरीत कित्तामा गएर पार्टी फुटाउँदै छन् । र, यस पटकको भारी दोष ओलीमाथि परिरहेको छ पार्टी विभाजनको ।

कोठामा थुनेर बिरालो चुटेर ठीक पार्ने ओलीको मूढे ताकतले यस पटक ‘बुमर्‍याङ’ गर्ने भएकाले ओली स्वयं पनि निकै तनाव र दबाबमा त छन् नै, तर उनको जन्मजात हठ, जिद्दी, मिचाहा र जिताहा अनि छुद्र प्रवृत्तिका कारण उनलाई गल्न निकै समय भने लाग्ने गरेको छ ।

यस पटक पार्टी विभाजनको अन्तिम बिन्दुमा पुगिरहँदा ओलीले आफू गलेको संकेत गरेका छन् । तर, उनलाई चिन्नेजान्ने, उनका अघिल्ला व्यवहार र कार्यशैली भोगिसकेकाहरू भने यसलाई ओली गलेको भन्ने मान्न तयार छैनन् । उनीहरूको भनाइ छ– ‘ओली त्यति सजिलैसँग गल्ने पात्र होइनन् । ओली कतिसम्म कपटी र छली छन् भन्ने धेरै थोरै मानिसलाई मात्र थाहा छ ।’ उनीहरू अहिले ओलीले देखाएको ‘सदासयता’ वा ‘गाम्भीर्य’लाई नाटक मात्र ठान्छन् ।

यही सन्दर्भमा एउटा रमाइलो किस्सा सुनौँ ओलीबारे ।

केपी ओली, राधाकृष्ण मैनाली, मोदनाथ प्रश्रित, मोहनचन्द्र अधिकारीलगायत तत्कालीन क्रान्तिकारी कम्युनिस्टहरू जेलमा थिए । ओली जन्मजात चलाक अर्थात् पूर्वको आठराईमा जन्मिएर तमोरको पानी पूर्व फर्किएर खाएका र झापामा हुर्किएका पात्र हुन । अरूलाई सोझै गफैले बेचिदिने ।

ओली गोलघरभित्र थिए अरू बाहिर । कहिलेकाहीँ राँगाको फिला ल्याउँथे जेलमा । अरूले राँगाको फिलामा रस हालेर खाँदा ओलीलाई भने भुटेर दिनुपर्ने । बडो स्वादे जिब्रो, अल्छे तिघ्रो रे ओलीको ।

उनीसँगै जेल बसेका केही व्यक्तिहरूका अनुसार ओली क्षयरोग लागेर सिकिस्त थिए । जाडोको समयमा घाम तापेर नजिकका कैदी साथीहरू ओलीकै वरिपरि बसिरहेका थिए । ऊबेलाको क्षयरोग अहिलेको कोरोनाभन्दा खतरनाक । ओलीलाई एक किसिमले माया मार्ने अवस्थामा पुगेका थिए साथीहरू ।

ओली ‘घ्यारघ्यार’ गरिरहेका थिए, आँखासमेत नहेरी । साथीहरूले सोधे, ‘के खान मन छ ?’

ओलीले भने आँखा नहेरी, ‘दिँदैनौ ।’

फेरि साथीहरूले भने, ‘भन न पहिला, के खाने इच्छा छ ?’

ओलीले उही ढंगमा भने, ‘दिए पो भन्नु !’

‘ल, भन दिन्छौँ’, साथीहरूले ‘अब यसलाई गाह्रो हुँदै गएको छ, जे माग्छ, दिने’ भनेर सल्लाह गरेर भने ।

ओलीले भने, ‘सिगरेट खान मन छ ।’

टीबी लागेर सिकिस्त भएकालाई सिगरेट ! तर, ल्याएर दिए ३ वटा खिल्ली । 

घ्यारघ्यार गर्दै सिकिस्त भएका ओलीले सरासर २ खिल्ली चुरोट तानेर भ्याए । मूढाबाट जुरुक्क उठे अनि छेउमै रहेका आरके अर्थात् राधाकृष्ण मैनालीलाई पिठ्युँमा धाप मार्दै फनक्क घुमेर उपरखुट्टी लगाउँदै भने, ‘अँ त आरकेजी, अघि के पो भन्दै हुनुहुन्थ्यो रे ! बल्ल अलिअलि सास आयो ।’

अरूले भोर्लाको पातमा बेरेको बिँडी खाँदा केपीलाई भने फिल्टर चुरोट नै चाहिने रे !

यो सन्दर्भ केपी ओलीको कपटीपन, धुत्र्याइँ, छली स्वभाव र क्षुद्रताको नमुनाका लागि हो । उनीसँग जेल बसेका र यी सबै कुरा देख्ने, भोग्नेहरू सबै जीवित नै छन् र उनीहरूले सदृश्य यस लेखकलाई सुनाएकै तथ्य यहाँ लेखेको हुँ ।

अब भन्नुहोस् कि हिजोसम्म त्यसरी ‘भ्याकुर लखेटाइ’ लखेट्ने केपी शर्मा ओलीले माधव नेपालहरूलाई स्वाभाविक र सहज ढंगले एमालेमा बस्न देलान् ? के उनले सबैलाई उचित सम्मान गरेर, आवश्यक जिम्मेवारी दिएर पार्टी एक ढिक्का बनाउलान् ? 

ओली त आफ्नो हित र स्वार्थका लागि जुनकुनै हदसम्मका काम गर्न पछि नपर्ने मानिसका रूपमा विगतदेखि नै चित्रित र प्रमाणित पात्र हुन् । उनका ‘ललिपप’का पछि लागेर फेरि पनि माधव नेपालहरू एमालेमै लुटपुटिए भने अहिले पाइरहेको सीमित नेता र कार्यकर्ताको साथ पनि माधवले गुमाउनेछन् र अन्ततः झोलीतुम्बी बोकेर काशीको यात्रामा गए हुनेछ ।