'ओलीले ढोका बन्द गरेपछि नयाँ पार्टी खोल्नुपर्‍यो': माधव नेपाल

'ओलीले ढोका बन्द गरेपछि नयाँ पार्टी खोल्नुपर्‍यो': माधव नेपाल

न्युज कारखाना  |  समाचार  |  भदौ ८, २०७८

प्रस्तावित नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी ओलीले एमालेको ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्नुपरेको बताएका छन् । 

काठमाडौंको चन्द्रागिरि हिल्स रिसोर्टमा पार्टीको केन्द्रीय कमिटीको बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै अध्यक्ष नेपालले आफूसहित १४ सांसदमाथि कारबाहीदेखि आफूहरूलाई एमाले फर्कन ढोका बन्द गरिदिएपछि नयाँ पार्टी खोल्नुपरेको प्रस्टीकरण दिएका हुन् । 

‘ओलीसामु घुँडा टेकेर बस्नुपर्थ्यो’, उनले भने, 'घुँडा टेकेर बस्न नसक्ने भएपछि नयाँ पार्टी खोल्नुपरेको हो ।’ अब आफ्नो पार्टीले अरू वामपन्थी दलहरूसँग एकता गरेर मुलुक र जनताको हितमा काम गर्ने उनको भनाइ छ । 

एमालेबाट विभाजन भएर नेता नेपालले नेकपा  (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगले भोलि बुधबार सनाखतका लागि उनीहरूलाई कार्यालयमा बोलाएको छ ।