सभामुखले पक्षधरताको राजनीति गरे: केपी ओली

सभामुखले पक्षधरताको राजनीति गरे: केपी ओली

न्युज कारखाना  |  समाचार  |  भदौ ९, २०७८

प्रमुख प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली सभामुख अग्निप्रसाद सापकोटाप्रति आक्रोशित भएका छन् । पार्टी विभाजनपछि पहिलो पटक बुधबार पत्रकार सम्मेलन गर्दै उनले सभामुख सापकोटाकाे भूमिकालाई लिएर आक्रोश व्यक्त गरेका हुन् । 

एमाले विभाजनका लागि १४ जना आफ्ना सांसदमाथि कारबाही गरेको पत्र संसद सचिवालयमा पठाए पनि सभामुख सापकोटाले सूची प्रकाशित गर्न रोकेको भन्दै ओलीले आक्रोश व्यक्त गरे । 

‘एमाले विभाजन रोक्न आफ्ना १४ जना सांसदमाथि कारबाही गरेको सचिवालयमा १ भदौमा पठायौँ’, ओलीले भने, ‘तर, सभामुखले कारबाही गरेको सूची प्रकाशित गर्न सचिवालयका कर्मचारीलाई रोकेर ९ दिनदेखि राखेका छन् ।’ 

संसदीय मर्यादा र आचारणविपरीत सभामुख सापकोटाले एमालेले निलम्बन गरेका १४ जना सांसदको सूची सार्वजनिक नगरेको ओलीको आरोप छ । 

एमालेले माधवकुमार नेपालसहित १४ जनामाथि कारबाही गरेको पत्र सचिवालयमा पठाएको थियो । सभामुख सापकाेटाले पक्षधरताको राजनीति गर्नु दुःखद् र खेदजनक रहेको ओलीको भनाइ छ ।