महिला फुटबल टोलीले भदौ चौथो साता बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्ने

महिला फुटबल टोलीले भदौ चौथो साता बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्ने
फाइल फोटो

न्युज कारखाना  |  खेलकुद  |  भदौ ९, २०७८

राष्ट्रिय महिला फुटबल टोलीले बंगलादेशको राष्ट्रिय फुटबल टोलीसँग २ मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बंगलादेशसँग घरेलु मैदानमा दुई मैत्रीपूर्ण खेल  खेलाउने भएको हो । 

एन्फा महासचिव इन्द्रमान तुलाधरले बंगलादेशले नेपाली टोलीसँग २ मैत्रीपूर्ण खेल खेल्ने निर्णय भएको बताए । ‘बंगलादेशसँग २ मैत्रीपूर्ण खेल खेल्ने निर्णय भएको छ’, तुलाधरले भने । 

उनका अनुसार नेपालले ९ र १२ सेप्टेम्बर (२४ र २७ भदौ)मा बंगलादेशसँग खेल्नेछ । यता, पुरुष टोलीले पनि १७ र २० भदौमा भारतसँग दशरथ रंगशालामा २ मैत्रीपूर्ण खेल खेल्ने पक्का भएको छ । 

एन्फाले २ मैत्रीपूर्ण खेल फरक फरक स्थानमा खेलाउने तयारी गरेको छ । २ खेलमध्ये एक भने दशरथ रंगशालामा खेलिनेछ भने अर्काे खेल पोखरामा खेलाउने एन्फाको तयारी छ । तर, चेन्जिङ रुमलगायत पूर्वाधारका कामले पूर्णता नपाएकाले त्यहाँ खेल हुने संभावना कमै छ । 

महासचिव तुलाधरले पोखरामा खेल खेलाउने संभावना रहेको र पूर्वाधार निर्माणका कामले पूर्णता पाए पोखरा रंगशालामा एक खेल हुने बताए । यदि पोखरा रंगशाला तयार नभएमा दुवै मैत्रीपूर्ण खेल दशरथ रंगशालामा हुनेछन् । ‘एक खेल दशरथ रंगशालामा हुनेछ, अर्काे पोखरामा खेलाउने तयारी गरेका छौँ । यद्यपि, पोखरा रंगशाला तयार नभएमा दुवै खेल काठमाडौंमा हुनेछन्’, महासचिव तुलाधरले भने । 

दर्शकका बारेमा भने एन्फाले अहिले नै कुनै निर्णय लिएको छैन । यदि सरकारले दर्शकका लागि स्वीकृति दिए दर्शक रंगशाला प्रवेश गराउने एन्फाको तयारी छ । हाल एन्फाले राष्ट्रिय खेलकुद परिषद् (राखेप), खेलकुद मन्त्रालय हुँदै सीसीएमसीमा स्वीकृतिका लागि पत्र पठाएको छ । ‘सरकारको स्वीकृतिको पर्खाइमा छौँ । अहिले नै दर्शकका बारेमा भन्न सक्ने अवस्था छैन । यदि सरकारले स्वीकृति दिएमा दर्शक रंगशालामा प्रवेश पाउनेछन्’, तुलाधरले भने । 

हाल नेपाली महिला टोली सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा तयारीमा व्यस्त छ । नेपालका लागि अस्ट्रेलियाली प्रशिक्षक ग्यारी फिलिप्सले मंगलबार मात्र २३ सदस्यीय टोली घोषणा गरेका छन् । उनले पहिलो पटक टोलीमा ७ जना नयाँ खेलाडीलाई स्थान दिएका छन् । नेपालको उमेर समूहबाट खेलेका प्रीति राई, निशा थोकर, सविता राना मगर, रजनी थोकर, रश्मि घिसिङ, सिर्जनासिंह ठकुरी र विकला बिकले पहिलो पटक स्थान बनाएका हुन् । 

प्रशिक्षक ग्यारीले विभागबाहिरका क्लबबाट ३ जना खेलाडीलाई मौका दिएका छन् । विभागबाहिरबाट चन्द्रपुर नगरपालिका (रौतहट)की सविता राना र रजनी थोकर छन् भने विराटनगरबाट सिर्जनासिंह ठकुरीले टोलीमा स्थान बनाएकी छन् । 

बंगलादेशविरुद्ध हुने २ मैत्रीपूर्ण खेलमा राष्ट्रिय टोलीकी स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ भने उपलब्ध हुनेछैनन् । कतारको अस्पेटार अस्पतालमा घुँडाको शल्यक्रिया गराइरहेकी उनी अहिले पनि उतै छन् । 

नेपाल र बंगलादेशबीच पछिल्लो ३ वर्षमा २ पटक भेट भएको छ, जसमा नेपालले आफ्नो दबाब बंगलादेशविरुद्ध बनाएको छ । एक खेल नेपालले जितेको छ भने अर्काे खेल बराबरीमा टुंगिएको थियो । 

नेपालले एएफसी ओलम्पिक छनोटको दोस्रो चरणमा बंगलादेशसँग १-१ को बराबरी खेलेको थियो भने पछिल्लो साफ च्याम्पियनसिपमा बंगलादेशलाई ३-० गोल अन्तरले पराजित गरेको थियो । 

विराटनगरस्थित शहीद रंगशालामा भएको खेलमा सावित्रा भण्डारी र मञ्जलीकुमारी योञ्जनले १-१ गोल गर्दा बंगलादेशकी मासुराले आत्मघाती गोल गरेकी थिइन् । 

पछिल्लो १३औँ दक्षिण एसियाली खेलकुद (साग)मा भने बंगलादेशले भाग नै लिएन । सागमा रजत पदक जितेपछि नेपाली टोली अन्तर्राष्ट्रिय खेलविहीन छ । सागपछि नेपाली टोली र प्रशिक्षक ग्यारी फिलिप्सका लागि यो मैत्रीपूर्ण खेल पहिलो हुनेछ ।

यस्तो छ नेपाली टिम

गोलरक्षक : अञ्जना राना मगर, एन्जिला तुम्बाप्पो सुब्बा, उषा नाथ
डिफेन्डर : अमृता जैशी, विमल बिक, गीता राई, हीराकुमारी भुजेल, निशा थोकर, पूजा राना, पुनम जर्घामगर, सिर्जनासिंह ठकुरी, बिमला चौधरी
मिडफिल्डर : अनिता बस्नेत, दीपा राई, मञ्जलीकुमारी योञ्जन, प्रीति राई, रेनुका नगरकोटी, इन्दिरा राई, सविता राना, सरु लिम्बू
स्ट्राइकर : अनिता केसी, रश्मि घिसिङ, रजनी थोकर