तेह्रथुम पावर कम्पनीको आईपीओ खुला

तेह्रथुम पावर कम्पनीको आईपीओ खुला

रासस  |  कारोबार  |  भदौ ९, २०७८

तेह्रथुम पावर कम्पनीको प्राथमिक सार्वजनिक निश्कासन (आईपीओ) बिक्री खुला भएको छ । 

कम्पनीले आजदेखि बिक्री खुला भएको आईपीओ १३ भदौसम्म खुला हुने कम्पनीले जनाएको छ । यदि सो अवधिसम्म मागबमोजिमको आवेदन नपरेमा ढिलोमा २३ भदौसम्म शेयर निश्कासन तथा बिक्री खुला हुने कम्पनीले जनाएको छ ।

कम्पनीले १०० रुपैयाँ अंकितका दरले ८ लाख कित्ता शेयर निश्कासन गरेको छ, जसमध्ये ५ प्रतिशत अर्थात् ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि र २ प्रतिशत अर्थात् १६ हजार कित्ता शेयर कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेका ७ लाख ४४ हजार कित्ता सर्वसाधारणका लागि निश्कासन गरेको हो । कम्पनीको शेयर निश्कासन तथा बिक्री प्रबन्धकमा एनआईबीएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनीको आईपीओमा न्यूनत्तम १० कित्ता र अधिकत्तम ६० हजार कित्तासम्म आवेदन दिन पाइनेछ । यसअघि कम्पनीले आयोजना प्रभावितका लागि ४ लाख कित्ता शेयर निश्कासन गरिसकेको छ । आयोजना प्रभावितका लागि शेयर निश्कासन गरेपश्चात् कम्पनीले सर्वसाधारणका लागि ८ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो ।

हाल कम्पनीको चुक्ता पुँजी २८ करोड रुपैयाँ रहेको छ । स्थानीयवासीलाई ४ करोड र सर्वसाधारणलाई ८ करोड रुपैयाँ बराबरको आईपीओ निश्कासनपछि कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ हुनेछ । सर्वसाधारणले नेपाल धितोपत्र बोर्डबाट सी-आस्बा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्था तथा तिनका शाखा कार्यालय र मेरो शेयर एपमार्फतसमेत आईपीओमा आवेदन दिन सक्नेछन् ।