ओलीको सन्देश : अहिले समन्वयकारी, अर्को ५ वर्ष शक्तिशाली

ओलीको सन्देश : अहिले समन्वयकारी, अर्को ५ वर्ष शक्तिशाली

न्युज कारखाना  |  समाचार  |  भदौ ९, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एमाले)का बरिष्ठ नेता माधवकुमार नेपालले नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गर्दै गर्दा अध्यक्ष केपी ओली तुल्सीलाल स्मृति प्रतिष्ठानमा पत्रकार सम्मेलनमा बोल्दै थिए ।

नेता नेपालले एमालेका साविकका ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसदलाई आफ्नोतर्फ तानेपछि ओलीले पत्रकार सम्मेलन गरेर मूलतः २ वटा सन्देश दिएका छन् । 

विगतका पटक पटकका भाषणमा ‘केपी ओली एउटै कक्षा दोहोर्‍याएर पढ्दैन’ भन्दै आएका उनले आजको पत्रकार सम्मेलनमा ‘अनुकूल समयमा मात्र नेतृत्व हस्तान्तरण’ गर्ने घोषणा गरेका छन् । 

मंगलबार बसेको स्थायी कमिटी बैठकको निर्णय सार्वजनिक गर्न आयोजना गरिएको पत्रकार सम्मेलनमा उनको अर्को सन्देश छ- माधव नेपालहरू गइसकेपछि महाधिवेशनअघिसम्मका लागि माओवादी केन्द्रबाट आएका, माधव नेपाललाई छाडेर आएका र विगतदेखि आफैँसँग रहेका नेताहरूलाई मिलाएर समन्वयकारी भूमिका निर्वाह गर्ने । 

१० बुँदे सहमति जस्ताको तस्तै कार्यान्वयन गर्न कार्यदल बनाएर विगतमा नेपालसँग रहेका १० जना स्थायी कमिटी सदस्यहरूसँग समन्वयकारी भूमिका निभाउने उनको रणनीति देखिन्छ ।

माओवादी केन्द्रवाट आएकाहरू हाल जिम्मेवारीविहीन भए पनि उनीहरूलाई रचनात्मक जिम्मेवारी दिने प्रतिबद्धता जनाएर रामबहादुर थापा 'बादल'सहितका नेतासँग पनि तत्कालका लागि समन्वयकारी भूमिका निर्वाहको संकेत गरेका छन् । 

तर, विगतमा उनी निकट मानिने नेता शंकर पोखरेलको अभिव्यक्तिले भने ओलीले भनेको उपयुक्त समय अर्थात् मंसिरमा हुने महाधिवेशनबाट उनले नेतृत्व सहज हस्तान्तरण गर्लान् भन्नेमा भने शंका जन्माएको छ ।

पोखरेलले ३ दिनअघि मात्र एमाले अर्को एउटा निर्वाचन र एउटा पार्टीको महाधिवेशनसम्म ओलीकै नेतृत्वमा जाने घोषणा गरेका थिए । विश्वासपात्र भनिएका पोखरेलको उक्त अभिव्यक्तिको ३ दिनपछि ओलीले नेतृत्व हस्तान्तरणबारे उपयुक्त समयमा निर्णय लिने बताएर पोखरेलकै बाटोमा जाने संकेत त गरेका होइनन् भन्ने प्रश्न भने उब्जिएको छ । 

माधव नेपालले एमाले छाडेपछि ओलीलाई चुनौती दिने नेता अहिलेका लागि पार्टीमा देखिएका छैनन् । ईश्वर पोखरेल, विष्णु पौडेल, सुवासचन्द्र नेम्वाङलाई माधव नेपाललाई छाडेर आएका भीम रावल, युवराज ज्ञवाली, सुरेन्द्र पाण्डे, घनश्याम भुसालहरूले विश्वास गर्ने संभावना निकै कम छ । त्यसैले पनि शंकर पोखरेलले अर्को एक आमनिर्वाचन र महाधिवेशनपछिसम्म ओली नै पार्टीको नेतृत्वमा रहने उद्घोष गरेका हुन् ।