फुटपछिको एमाले बैठक कतिऔँ भन्नेमा मौन

फुटपछिको एमाले बैठक कतिऔँ भन्नेमा मौन

न्युज कारखाना  |  समाचार  |  भदौ १०, २०७८

औपचारिक रूपमा विभाजन भएको भोलिपल्ट बसेको नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी बैठक कतिऔँ बैठक हो भन्ने विषयमा मौन बसेकोे छ । 

तत्कालीन नेकपा माओवादी केन्द्रसँग ३ जेठ २०७५ मा भएको एकता अनुमोदन गर्न एमालेको नवौँ केन्द्रीय कमिटी बैठक बसेको थियो । 

सर्वोच्च अदालतले गत २८ असारमा एकीकृत भएर बनेको नेकपालाई आधिकारिकता दिन इन्कार गर्दै एमाले र माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि एमालेले १०औँ केन्द्रीय कमिटी बैठक डाकेको थियो । 

असन्तुष्ट बनेका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल समूहबिनै एमालेले यसअघि १८ असारमा १३औँ केन्द्रीय कमिटी बैठक बसेको थियो । 

असन्तुष्ट भनिएका उपाध्यक्ष वामदेव गौतमसमेत सहभागी सो बैठकलाई १०औँ बैठक मान्ने सहमति भए पनि बैठकको ब्यानरमा १३औँ उल्लेख थियो । 

ओली पक्षधर नेताहरूले नेपाल समूहका नेतासँग ३ जेठको अवस्थाबाट बैठक डाक्ने सहमति गरेका थिए । सो सहमतिअनुसार १०औँ बैठक हुनुपर्ने थियो । तर, एमालेले त्यो बैठकलाई १३औँ भनेको थियो । 

अनेकौँ विवादपछि माधव नेपालले नेकपा (एकीकृत समाजवादी) गठन गरे । नेपालसँग एकता वार्ताका क्रममा १० बुँदे सहमति भयो । तर, सो सहमतिलाई नेपालले मानेनन् । नेपाल खेमाको तर्फबाट वार्तामा सहभागी नेता भीम रावललगायतका नेताहरू र ओलीबीच १० बुँदे कार्यान्वयन गर्ने र ३ जेठको अवस्थाबाट पार्टीलाई अघि बढाउने सहमति भयो । 

सोही सहमतिअनुसार विगतमा नेपाल पक्षमा खुलेका ९ जना स्थायी कमिटी सदस्य हिजोको स्थायी कमिटी बैठकमा सहभागी भए । १० बुँदे सहमतिअनुसार स्थायी कमिटी बैठकले गरेका निर्णय अनुमोदन गर्न आज बसेको केन्द्रीय कमिटी बैठक १०औँ हुनुपर्ने हो । 

तर, तुल्सीलाल स्मृति प्रतिष्ठानमा जारी बैठकको ब्यानरमा भने केन्द्रीय कमिटीको कतिऔँ बैठक भनेर केही खुलाइएको छैन ।