सी र पुटिनको अफगानिस्तानबारे चासो, गरे फोन वार्ता

सी र पुटिनको अफगानिस्तानबारे चासो, गरे फोन वार्ता
फाइल फोटो

एजेन्सी  |  विदेश  |  भदौ १०, २०७८

चिनियाँ राष्ट्रपति सी जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उनीहरूले २ देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरू विभिन्न आन्तरिक मामिलामा छलफल गरेका थिए ।  

हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उनीहरूबीचमा कुराकानी भएको बताइएको छ । चिनियाँ राष्ट्रपति सीले अफगानिस्तानको स्वतन्त्रता र सार्वभौमिकताको चीनले सधैँ सम्मान गर्ने बताएका थिए । साथै उनले यस विषयमा आगामी दिनमा पनि चीनले अफगानिस्तानमा रचनात्मक रूपमा सहयोग गर्ने बताएका थिए ।

हाल अफगानिस्तानमा देखिएको समस्याको समाधान रचनात्मक रूपले गर्नका लागि चीनले सहयोग पुर्‍याउने उनले उल्लेख गरेका थिए ।

यसका लागि रुससहित विभिन्न देशलगायत अन्तर्राष्ट्रिय समुदायसँग आवश्यक छलफल र परामर्श गरेर अफगानिस्तानको समस्या समाधानका लागि चीनले सहयोग गर्ने उनको भनाइ थियो ।

साथै अफगानिस्तानमा हाल देखिएको असहज परिस्थितिमा अफगानिस्तान र त्यहाँका नागरिकलाई सहयोग गर्न रुस पनि तयार रहेको राष्ट्रपति पुटिनले बताएका थिए ।

उता, अमेरिकी राष्ट्रपति जो बाइडेनले करिब २ हप्तादेखि अफगानिस्तानमा जारी रहेको आफ्ना र अन्य नेटो गठबन्धन राष्ट्रका नागरिकको उद्धार कार्य यही ३१ अगस्टसम्ममा सक्ने बताएका छन् ।

अमेरिकाले एक्लै र उसका नेटो गठबन्धन देशले पनि यस कार्यलाई निरन्तरता दिएको र आगामी ३१ अगस्टको समयसीमाभित्र सम्पन्न भइसक्ने आफ्नो विश्वास रहेको भनाइ उनले बुधबार पनि दोहोर्‍याएका हुन् ।

यहाँ उडानको संख्यामा वृद्धि गरिएको जानकारी पनि दिइएको छ । आवश्यकताका आधारमा पछिल्ला केही दिनमा उडानको संख्या थपिएको र आवश्यक कागजपत्रका आधारमा मानिस अफगानिस्तानबाट बाहिरिएका छन् ।

काबुल विमानस्थलमा अहिले पनि भिडभाड रहेको छ । मानिस भागदौडका कारण विमानस्थल अझै पनि अस्तव्यस्त रहेको बताइएको छ ।

विमानस्थलमा अफगानभन्दा पनि बढी विदेशी नागरिकको भिड लागेको छ । अफगानिस्तानको सत्तामा तालिबान आएपछि एकै पटक हजारौँ मानिसले देश छाडेर भाग्ने प्रयास गर्दा विमानस्थल वरपर ठूलो भिड लागेको हो । 

तालिबानले सत्ता कब्जामा लिएपछि संयुक्त राज्य अमेरिका र यसका सहयोगी राष्ट्रले देश छाड्न चाहेका छन् । अहिले पनि विमानस्थलमा आफ्नो देश जान चाहने कम्तीमा पनि १० हजार मानिस रहेका बुधबार बताइएको छ ।