'चाँडै सरकारमा सहभागी हुन्छौँ': माधव नेपाल

‘शत्रुताको बाटो छाडेर आए एकता हुन्छ’

'चाँडै सरकारमा सहभागी हुन्छौँ': माधव नेपाल

न्युज कारखाना  |  समाचार  |  भदौ १०, २०७८

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी चाँडै सरकारमा जाने र नेपाल कम्युनिस्ट पार्टी नछाड्ने पनि बताएका छन् । 

नयाँ पार्टी गठन भएपछि बिहीबार पत्रकार सम्मेलन गर्दै नेपालले कम्युनिस्ट पार्टीलाई एकीकृत ढंगले अघि बढाउने उद्घोष गरे । 

केही दिनभित्रै प्रधानमन्त्रीसँग छलफल गरेर सरकारलाई पूर्णता दिने उनको भनाइ थियो । नयाँ पार्टीको नीतिबारे संक्षेपमा चर्चा गर्दै अध्यक्ष नेपालले नेपाल कृषिप्रधान देश भएकाले आफ्नो पार्टीले कृषिलाई नेपाली अर्थतन्त्रको जग बनाउने दाबी पनि गरे ।

सुकुम्बासी समस्या समाधान, शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सात विषयलाई आफ्नो पार्टीले महत्व दिने उनको भनाइ थियो । एकीकृत समाजवादी पार्टीले सरकारी जागिर खानेलाई पार्टीको सदस्यता वितरण नगर्ने नीति लिएको छ ।

पत्रकार सम्मेलनमा नेपाल एमाले अध्यक्ष केपी ओलीविरुद्ध आक्रामक देखिए । उनले आफूहरूलाई पार्टीमा बस्नै नदिएको भन्दै पार्टी फुटेको दिन ओलीले बालकोटमा भोज गरेको आरोप पनि लगाए ।

उनले एमालेसँग पार्टी एकताकाे संभावना जीवितै रहेकाे पनि घाेषणा गरे । ‘एमालेसँग सधैंभरि एकताको ढोका खुलै हुनेछ। एमालेमा विद्रोह गरेर आएमा एकता हुन्छ’, उनले भने, ‘शत्रुताको बाटो छाडेर आए एकता हुन्छ ।’