को हुन् कान्दहार विमानस्थलमा विस्फोट गराउने आईएस-के ?

को हुन् कान्दहार विमानस्थलमा विस्फोट गराउने आईएस-के ?

एजेन्सी  |  विदेश  |  भदौ ११, २०७८

बिहीबार साँझ हमिद करजाई विमानस्थलमा अतिवादी समूह इस्लामिक स्टेट- के (खोरासन)ले विस्फोट गराएपछि अफगान भूमि खाली गर्न दबाबमा परेका पश्चिमेली मुलुक थप तनावमा छन् । विदेशी सेना र उनीहरुसँगै फर्किन चाहने अफगानीलाई लक्षित गरी भएका ती शृंखलाबद्ध विस्फोटमा १०३ जनाको मृत्यु भइसकेको छ । 

को हुन् आक्रमणकारी ? 

बिहीबारको विस्फोटको जिम्मा लिएको आईएस-के (खोरासन) अफगानिस्तानमा सक्रिय हिंसात्मक लडाकु समूहमध्येको एक हो । इस्लामिक स्टेटले इराक र सिरियामा आफ्नो प्रभाव बढाइरहेका बेला सन् २०१५ को जनवरीमा सो समूहको स्थापना भएको थियो । अफगानिस्तान र पाकिस्तानका जिहादीलगायतका अतिवादीहरू यस समूहमा आबद्व छन् । 

हिंसात्मक आक्रमण 

अफगानिस्तानमा भएका हिंसात्मक हमलामा आईएस-केसमेत संलग्न हुने गरेको छ । यस समूहले बालिकाहरूले पढ्ने विद्यालय, अस्पताल र प्रसूति वार्डमा आक्रमण गरी दर्जनौँ शिक्षक, गर्भवती महिला र नर्सको हत्या गरेको छ । तालिबानको स्वार्थ अफगानिस्तानमा मात्र भए पनि यस समूहको अन्तर्राष्ट्रिय तहमा नै एउटा सजाल छ । समूहले पश्चिमेली, अन्तर्राष्ट्रिय र मानवीय संगठनलाई निशाना बनाउँदै आएको छ । 

कहाँ छ उनीहरूको प्रभुत्व ? 

आईएस-के समूहको अफगानिस्तानको नानगरहार प्रान्तको पूर्वी क्षेत्रमा ठूलो प्रभाव छ । यो प्रान्त अफगानिस्तानबाट पाकिस्तानतर्फ लागुऔषध र मानव तस्कर ओसारपसार गर्ने एउटा मार्गसमेत हो । कुनै बेला यस समूहका ३ हजार सदस्य लडाकु थिए । तर, अमेरिकी र अफगानी सेनाको कारबाहीमा ठूलो क्षति बेहोरोपछि अहिले सो संख्या घटेको अनुमान गरिएको छ । 

के यो समूह तालिबानसँग आबद्ध छ ?

यो समूह अप्रत्यक्ष रूपमा तालिबानसँग आबद्ध छ । हक्कानी नेटवर्कमार्फत यो समूह र तालिबानबीच साँठगाँठ रहेको बताइन्छ । विज्ञहरूका अनुसार यो समूह र हक्कानी नेटवर्कबीच बलियो सम्बन्ध छ । काबुलमा यो समूहका प्रमुख खलिल हक्कानी हुन् र उनको टाउको ल्याउने व्यक्तिलाई यसअघिको अफगान सरकारले ५० लाख रकम घोषणा गरेको थियो । 

सन् २०१९ देखि २०२१ सम्म अफगानिस्तानमा भएका मुख्य हमलामा आईएस-के, तालिबानको हक्कानी संजाल र पाकिस्तानमा रहेका अन्य अतिवादी समूह जिम्मेवार रहेको एसिया प्यासेफिक फाउण्डेसनका डा. सजन गोहले बताउँछन् । तालिबानले १५ अगस्टमा काबुल नियन्त्रणमा लिएपछि उसले विभिन्न जेलबाट ठूलो संख्यामा कैदी छुटाएको थियो । छुट्नेहरूमा तालिबान लडाकुका अतिरिक्त अलकायदा, आईएस र आईएस-के आबद्ध समूहका कार्यकर्ता पनि रहेका जनाइएको छ ।