मतदान अधिकार माग गर्दै वासिङ्टन डीसीमा विशाल प्रदर्शन

मतदान अधिकार माग गर्दै वासिङ्टन डीसीमा विशाल प्रदर्शन

एजेन्सी  |  विदेश  |  भदौ १३, २०७८

सम्पूर्ण अमेरिकीलाई मतदान अधिकार सुनिश्चित गर्न माग गर्दै दशौँ हजार अमेरिकीले वासिङ्टन डीसीमा विशाल प्रदर्शन गरेका छन् । नागरिक अधिकारका अगुवा डा. मार्टिन लुथर किङले २८ अगस्ट १९६३ व्यक्त गरेको ऐतिहासिक भाषणको वार्षिकीको अवसर पारेर वासिङ्टन डीसीमा प्रदर्शन भएकाे हाे । अमेरिकामा अझै पनि कतिपय राज्यमा नागरिकलाई निर्बाध मतदानको अधिकार छैन । 

‘अश्वेतले पनि अर्थ राख्छन्’,  ‘मतदानमा जातीय विभेदन नगरौं’ लेखेका प्लेकार्ड बोकेका प्रदर्शनकारी ५८ वर्षअघि लुथरले ‘ड्रिम स्पिच’ दिएको स्थान नेसनल मल अगाडि भेला भएका थिए । समारोहमा डा. लुथरका छोरा मार्टिन लुथर किङ तृतीयले पनि सम्बोधन गरेका थिए । मियामी, अटलान्टालगायतका दर्जनौँ अमेरिकी सहरमा पनि प्रदर्शन भएका थिए । 

केही दिनअघि राष्ट्रपति जो बाइडेनले रिपब्लिकनको बर्चश्व रहेका राज्यहरूमा केही नागरिकको मतदान अधिकार खोसिएको आरोप लगाएका थिए । टेक्सास र जर्जियासहित केही राज्यमा मतदाताको अधिकारमा अंकुश लगाइएको विज्ञहरूले समेत बताएका छन् । अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेन्टेटिभले गत मंगलबार मतदानसम्बन्धी नयाँ कानुन अनुमोदन गरेको थियो । तल्लो सदनमा डेमोक्रयाट्सको बहुमत छ ।