सभापतिका प्रत्यासीमध्ये कसैलाई उम्मेदवारबाट रोक्नु निधिका लागि प्रत्युत्पादक

सभापतिका प्रत्यासीमध्ये कसैलाई उम्मेदवारबाट रोक्नु निधिका लागि प्रत्युत्पादक

न्युज कारखाना  |  समाचार  |  भदौ १३, २०७८

नेपाली कांग्रेसको १४औँ महाधिवेशनको समय नजिकिँदै जाँदा प्रदेशमा कांग्रेसको सरगर्मी बढेको छ । कांग्रेसको महाधिवेशन घोषणा भएपछि वडादेखि केन्द्रीय नेतृत्वको लागि रस्साकस्सी सुरु भएको छ ।

कांग्रेसमा सर्वसम्मतिबाट वडामा समेत सभापतिको चयन हुनु अपवाद नै मानिन्छ । तर, सबैभन्दा बढी ध्यान अहिले प्रदेश सभापतिमा केन्द्रित देखिन्छ । पहिलो पटक कांग्रेसमा प्रदेश सभापति र समितिको निर्वाचन हुन लागेको छ । कांग्रेसमा हालसम्म प्रदेशस्तरीय समिति बनेको छैन तर विधानमा प्रदेश समितिको व्यवस्था रहेको छ ।

देशमा अन्य निकायहरूमा संघीयताको अभ्यास हुने क्रममा प्रादेशिक संरचना निर्माण भए पनि सबैभन्दा ठूलो लोकतान्त्रिक दल कांग्रेसमा त्यो संरचना बनिसकेको छैन । कांग्रेसको विधानअनुसार लगातार २ कार्यकाल जिल्ला सभापति रहेका व्यक्ति तेस्रो पटक सभापतिमा उम्मेदवारी दिन नमिल्ने भएकाले प्रदेश २ मा सभापतिका उम्मेदवारको संख्या बढी देखिएको छ ।

प्रदेश सभापतिमा कांग्रेस प्रदेश २ संसदीय दलका नेतासमेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री रामसरोज यादव, सप्तरी जिल्ला सभापति दिनेश यादव, महोत्तरी जिल्ला सभापति महेन्द्रकुमार यादव र रौतहटका सभापति कृष्णा यादव उम्मेदवारी दिने तयारीमा छन् ।

प्रदेश सभापतिका लागि दोस्रो पुस्ताका नेताहरू उम्मेदवारीको तयारीमा रहे पनि जिल्लामा भने युवा नेताहरू सभापतिका लागि प्रतिस्पर्धा गर्ने देखिएको छ । धनुषामा आधा दर्जन युवा नेताहरू सभापतिको दौडमा छन् । युवा नेता राजकिशोर सिंह, सन्तोष यादवलगायतले सभापतिमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

जिल्ला अधिवेशनमा पनि प्रदेश सभापतिका उम्मेदवारहरू खुल्ने स्थिति नरहेको कांग्रेसका युवा नेता सुनिल यादवले बताए ।

प्रदेश सभापतिका उम्मेदवार धेरै भएकाले केन्द्रीय सभापतिका उम्मेदवारलाई थप चुनौती बढेको छ । खासगरी केन्द्रीय सभापतिका उम्मेदवार तथा उपसभापित विमलेन्द्र निधिका लागि गलपासो हुने भएको छ । प्रदेश सभापतिका आकांक्षीहरू निधिनिकटका नेताहरू रहेकाले उनलाई खुल्न समस्या देखिएको छ ।

राष्ट्रिय महाधिवेशन अगावै प्रदेश अधिवेशन हुने भएकाले सभापतिको उम्मेदवार चयन गर्न नेता निधिका लागि सकस हुने भएको छ । कांग्रेस सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा निकट मानिने कृष्णा यादव, महेन्द्रकुमार राय, रामसरोज यादव र दिनेश यादवले सभापतिमा निधिलाई समर्थन गर्ने चर्चा छ ।

नेता निधिले सभापतिमा सर्वाधिक मत प्रदेश २ बाट नै प्राप्त गर्ने विश्वास लिएका छन् । कांग्रेस नेताहरूका अनुसार त्यो अस्वाभाविक पनि होइन । तर, प्रदेश २ मा जिल्ला सभापति र प्रदेश सभापतिमा उनलाई खुलेर कसैको पक्षमा लाग्न सहज भने छैन । कुनै एउटा पक्षमा लाग्दा उनको विरोधी पक्ष बलियो हुने संभावना छ ।

प्रदेश सभापतिका लागि प्रत्यासीमध्ये कसैलाई उम्मेदवार हुनबाट रोक्नु पनि नेता निधिका लागि प्रत्युत्पादक हुन सक्छ । प्रदेश २ मा उनको बलियो पकडलाई खुस्काउन जिल्ला र प्रदेश अधिवेशनमा अन्य प्रतिद्वन्द्वीको भूमिका रहनेछ ।