स्वास्थ्य राज्यमन्त्रीज्यू, कतै भ्याक्सिनको नाममा कुनै खुराफात त भइरहेको छैन ?

स्वास्थ्य राज्यमन्त्रीज्यू, कतै भ्याक्सिनको नाममा कुनै खुराफात त भइरहेको छैन ?

ज्ञानमित्र  |  दृष्टिकोण  |  भदौ १३, २०७८

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म जम्मा १ करोड ३३ लाख १२ हजार डोज भ्याक्सिन आएको छ । यसमा अनुदानबाट प्राप्त भ्याक्सिन संख्या भारतमा निर्मित कोभिशिल्ड ११ लाख, चीनबाट भेरोसेल १८ लाख, भूटानबाट एस्ट्रेजेनेका २ लाख ३० हजार, अमेरिकाबाट जोनसन एण्ड जोनसन १५ लाख ३४ हजार, बेलायतबाट एस्ट्रेजेनेका १ लाख ३० हजार र जापानबाट एस्ट्रेजेनेका १६ लाख र कोभ्याक्स प्रोग्राम अन्तर्गत  ऐस्ट्रेजेनेका ३ लाख ४८ हजार गरी कुल ६७  लाख ४२ डोज  हजार भ्याक्सिन अनुदान स्वरूप प्राप्त भएको छ ।

भारतबाट १० लाख डोज कोभिशिल्ड र चीनबाट ४० लाख डोज भेरोसेल गरी जम्मा ५० लाख डोज भ्याक्सिन खरिद गरी नेपाल ल्याइएको छ । चीनबाट आएको थप १६ लाख डोज भ्याक्सिन अनुदान हो कि नेपालले किनेको हो ? यसबारे स्पष्ट केही थाहा छैन । यो १६ लाख डोजसमेत हिसाब गर्दा नेपालमा ६७ लाख ४२ हजार, ५० लाख र १६ लाख गरी १ करोड ३३ लाख ४२ हजार डोज भ्याक्सिन भित्रिएको छ ।

स्वास्थ्य राज्यमन्त्रीज्यू, के यो डाटा ठीक हो ?  

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक उपलब्ध गराउने कोरोनाबारेको जानकारीको शुक्रबार अर्थात् ११ भदौको  ‘सिचुएसन रिपोर्ट’ (सिटरेट) ५६५ का अनुसार गत २४ घण्टामा अर्थात् १० भदौ बिहीबारका दिन देशमा थप १ लाख ७९ हजार ८६५ जनालाई खोप लगाइयो । १० भदौसम्म देशमा खोप पाउनेको संख्या एक डोज पाउने ५० लाख ६३ हजार ५२२ र दुवै   डोज पाउनेको संख्या ४० लाख  ५२ हजार ७६५ पुगेको छ । 

पहिलो डोज र दुवै डोज पाउने नेपालीको संख्या ९१ लाख १६ हजार २८७ पुगेको छ । यो भनेको कुल जनसंख्याको झण्डै ३० प्रतिशत मानिसलाई खोपको दायरामा ल्याउनु हो । अर्थात् ३० प्रतिशत नेपालीसम्म एउटा डोज भए पनि खोप पुगिसकेको छ ।

स्वास्थ्य राज्यमन्त्रीले आफ्नो फेसबुकमा यसलाई सगौरव उल्लेख गर्नुभएको छ । उहाँ लेख्नुहुन्छ, ‘श्रीलंकामा प्रति १०० जना व्यक्तिमा ८२, भारतमा ४२, नेपालमा ३०, पाकिस्तानमा २१ र बंगलादेशमा १४ जनालाई खोप लगाइसकिएको छ ।’

नेपालमा ११ भदौसम्म प्राप्त तथ्यांकमा दृष्टि लगाउँदा थाहा हुन आउँछ-

१ डोज भ्याक्सिन लाउने ५० लाख ६३ हजार ५२२ मा खोपको खपत गुणा १ अर्थात् ५० लाख ६३ हजार ५२२ डोज ।

दुवै डोज भ्याक्सिन लाउने ४० लाख ५२ हजार ७६५ जनामा खोपको खपत गुणा २ अर्थात् ८१ लाख ५ हजार ५३० डोज ।

कुल भ्याक्सिन वितरण १ करोड ३१ लाख ६९ हजार ५२ ।

जोनसन एण्ड जोनसनको भ्याक्सिन सिंगल डोजको हुनाले यो भ्याक्सिन पाउनेलाई १ मात्रा लिँदा नै पूर्ण खोप लगाएको मान्नुपर्‍यो । अर्थात् १ करोड ३१ लाख ६९ हजार ५२ को संख्यामा जोनसन खोपको १५ लाख ३४ हजार डोज घटाउनुपर्ने हुन्छ । यस हिसाबले नेपालमा कुल १ करोड १६ लाख ३५ हजार ५२ मात्रामा खोप खपत भइसक्यो । 

अथवा कुल आएको खोप संख्या १ करोड ३३ लाख ४२ हजारमा सिंगल डोजको जोनसन एण्ड जोनसन लाई पृथक् राखेर हिसाब गर्न सकिन्छ । नेपालमा २ डोज लगाउनुपर्ने कोभिशिल्ड (ऐस्ट्रेजेनेका) र भेरोसेलका रूपमा जम्मा १ करोड १८ लाख ८ हजार डोज भ्याक्सिन आए ।

नेपालमा २ डोज लगाउनुपर्ने भित्रिएका १ करोड १८ लाख ८ हजार डोज खोपबाट स्वास्थ्य मन्त्रालयले १० भदौसम्म १ करोड १६ लाख ३५ हजार ५२ डोज खोप वितरण गर्‍यो ? १० भदौमा खोप दिने कार्य सम्पन्न हुँदा नेपालमा खोपको कुल मौज्दात १ लाख ७२ हजार ९४८ डोज रहेको देखिन्छ ।  मन्त्रीज्यू, भेरोसेलबाहेक ऐस्ट्रेजेनेका खोप एउटा भाइलमा १० को प्याकिङमा आउँछ । सामान्य हिसाबले पनि यसमा २-३ प्रतिशतको ‘इनभिज्युअल लस’ हुन्छ । 

नेपालमा भित्रिएको ऐस्ट्रेजेनेका-कोभिशिल्डका कुल खोप ४४  लाख ८ हजारमा ३ प्रतिशतकै ‘लस’ मान्ने हो भने संख्या १ लाखभन्दा बढी हुन आउँछ । कि नेपालका स्वास्थ्यकर्मीले एक डोज भ्याक्सिन पनि खेर जान दिएनन् अथवा १० डोजको भाइलबाट ११-१२ जनालाई भ्याक्सिन पुर्‍याइदिए ।

प्रख्यात भारतीय टेलिसिरियल ‘सीआईडी’को डीसीपी प्रद्युम्नको डायलग ‘दया कुछ तो गडबड है’ सम्झनामा आइरहेको छ अहिले ।

माननीय स्वास्थ्य राज्यमन्त्रीज्यू, स्वास्थ्य मन्त्रालयको खोप वितरणसम्बन्धी डाटा गलत हो कि के बुझ्ने ? यससम्बन्धी बुझ्ने/बुझाउने ठाउँमा तपाईं स्वयं पदासीन हुनुहुन्छ ।

केही दिन पहिला भण्डारण गर्ने ठाउँको अभावमा भ्याक्सिन कन्टेनरमा राखेको समाचार आएको थियो । सायद त्यस दिन नेपालमा भ्याक्सिनको मौज्दात ५ लाख पनि थिएन । भ्याक्सिन जस्तो अतिसंवेदनशील वस्तुलाई कन्टेनरमा भण्डारण गरी राख्नु कतिको उपयुक्त होला मन्त्रीज्यू ?

भोलि नेपालमा अरू खोप आपूर्ति भई आउँदा यस प्रश्नको सान्दर्भिकता हराउँछ । तर, आजको दिनमा अथवा अरू खोप नभित्रिँदासम्म के तपाईंले यसबारे खोज पड्ताल गर्नुपर्ने दायित्व लिनुपर्ने होइन र ?

माननीय स्वास्थ्य राज्यमन्त्रीज्यू, कुरामा कुरा निस्कन्छ, तपाईंको अगस्ट १५ गतेको पोस्टबारे चर्चा गर्न मन लाग्यो, तपाईं पोस्टमा लेख्नुहुन्छ, ‘सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाज्यूको नेतृत्वमा सरकार गठन भएपछिको एक महिनामा खोप अभियानमा भएको प्रगति र पूर्ववर्ती सरकारको समयमा भएका उपलब्धिको तुलनात्मक विवरण । वर्तमान सरकारको प्रमुख उद्देश्य विगत डेढ वर्षदेखिको महामारीको पीडा/अनिश्चितता अन्त्य गरी जनजीवन सामान्य बनाउनु हो ।’ 

पोस्टमुनि रहेको स्केचमा पूर्ववर्ती सरकारको पालामा र तपाईंको आफ्नै कार्यकालमा खोप वितरणको तथ्यांक पेस गरिएको छ । स्केचमा उल्लेख गरिएको छ- नेपालमा जोनसन एण्ड जोनसनको १२ लाख ७९ हजार ८९८ खोप वितरण गरिए । महोदय, २ लाख ५४ हजार १०२ डोज खोप खोइ ? ती बेपत्ता भए कि अझै भण्डारणमा राखिएका छन् ?

१५ अगस्टको स्केचले यो पनि जानकारी गराएको छ कि यस दिनसम्मको तथ्यांकअनुसार २८ लाख १६ हजार ८४ जनालाई  चिनियाँ भेरोसेल खोपको एक मात्रा लगाइएको छ । १२ लाख ७५ हजार ५०९ जनालाई दुवै मात्रा खोप अर्थात् २५ लाख ५१ हजार १८ डोज खोप प्रदान गरिएको छ ।  दुवैको योग अर्थात् ५३ लाख ६७ हजार १०२ डोज भेरोसेल खोप खपत भएका थिए १५ अगस्टसम्ममा ।

नेपालमा चिनियाँ भेरोसेल खोप १८ लाख डोज अनुदान स्वरूप र ४० लाख डोज अनि १६ लाख डोज किनेर गरी जम्मा ७४ लाख डोज आएको छ ।

१५ अगस्टसम्ममा यसमध्ये ५३ लाख ६७ हजार १०२ डोज खपत भइसकेको थियो । अर्थात् नेपालसँग  १५ अगस्टका दिन भेरोसेलको स्टक जम्मा १६ लाख ३२ हजार ८९८ डोज रहेको देखिन्छ ।

मन्त्रीज्यू, के एक पटक मन्त्रालय गएर सम्बन्धित निकायसँग सोध्नुहुन्छ, ‘१५ अगस्टयता कति डोज भेरोसेल वितरण गरिए ?’

मन्त्रालयले १६ अगस्टदेखि २७ अगस्टसम्ममा १० लाख ६७ हजार ६२१ डोज भ्याक्सिन वितरण गरेको तथ्यांक दिन्छ ?

नेपालमा कोभिशिल्ड र एस्ट्रेजेनेका गरी ४४ लाख ८ हजार  डोज खोप आएका छन् । १५ अगस्टकै स्केचमा यो १८ लाख ६८ हजार ४२५ डोज सिंगल र डबल डोजमा ८ लाख ८ हजार ७५० गुणा २ अर्थात् १६ लाख १७ हजार ५०० डोज खोप वितरण भएको देखिन्छ । अर्थात् यस दिनसम्म यसका ३४ लाख ८५ हजार ९२५ डोज खपत भइसकेका थिए । यस दिन नेपालमा यस भ्याक्सिनको भण्डारण ९ लाख २२ हजार ७५ डोज रहेको थियो ।

१५ अगस्टमा भेरोसेलको स्टक १६ लाख ३२ हजार ८९८ र एस्ट्रेजेनेकाको स्टक ९ लाख २२ हजार ७५ गरी कुल २५ लाख ५४ हजार ९७३ डोज रहेको थियो । १५ अगस्टयता  १० लाख ६७ हजार ६२१ डोज भ्याक्सिन वितरण भएको देखिन्छ ।

मन्त्रीज्यू, कृपया ध्यान दिनुहोस्, मन्त्रालयका कर्मचारीको तथ्यांक गलत छ कि कतै भ्याक्सिनको नाममा अन्य कुनै खुराफात भइरहेको छ ? कृपया दैनिक रूपमा भ्याक्सिनको के कति स्टक छ, त्यसबारे पनि जानकारी दिने कामको थालनी होस् ।