कोल्याप्स हुँदै अफगान बैंकिङ प्रणाली, पैसा झिक्न जानेलाई ढुंगाले हान्छन् तालिबान

कोल्याप्स हुँदै अफगान बैंकिङ प्रणाली, पैसा झिक्न जानेलाई ढुंगाले हान्छन् तालिबान

न्युज कारखाना  |  विदेश  |  भदौ १३, २०७८

अफगानिस्तानमा तालिबानले २ साताअघि नियन्त्रणमा लिएका बैंक अझै संचालन हुन सकेका छैनन् । आक्कलझुक्कल खुलेका केही बैंकमा मानिसहरूको भीड थामी नसक्नु छ । लामो समय बैक बन्द हुँदा त्यहाँको बैंकिङ प्रणाली नै ‘कोल्याप्स’ हुने र आर्थिक तथा मानवीय दुर्घटनाको जोखिम बढेको छ । 

काबुलका केही बैंकबाहिर पैसा झिक्न लामबद्ध उभिएका मानिसहरूको ठट्ठलो भीड देखिन्छ । अनावश्यक भीड गरेको भन्दै तालिबानले मानिसलाई ढुंगा र रूखका भाटाले हिर्काएको दृश्य र भिडियो सामाजिक संजालमा भाइरल बनेको छ । 

तालिबानले बैंकिङ सेवा खोल्न निर्देशन दिए पनि पैसा नभएका कारण अधिकांश बैंकहरू बन्द भएको अफगानिस्तानका केन्द्रीय बैंकहरूले जनाएका छन् ।

अफगान अर्थतन्त्र मुख्यतः विदेशी मुद्रा र अन्तर्राष्ट्रिय सहयोगमा निर्भर छ । तालिबानले कब्जा गरेपछि यस्तो सहयोग रोक्का भएको छ । ७५ प्रतिशत अफगानिस्तानको सार्वजनिक खर्च विदेशी अनुदानमा नै चल्ने गरेको विश्व बैंकको एक प्रतिवेदनमा उल्लेख छ । अफगानिस्तानमा आर्थिक तथा मानवीय संकट आउन सक्ने चिन्ता प्रतिवेदनमा जनाइएको छ । मध्य अमेरिकी मुलुक अफगानिस्तानमा ४७ प्रतिशत नागरिक गरिबीको रेखामुनि छन् । 

‘अफगानिस्तान र यहाँको बैंकिङ प्रणालीको अस्तित्व घट्दै गएको र बैंकिङ क्षेत्र ढल्नै थालेको छ’, अफगान अमेरिकी चेम्बर अफ कर्मसले विश्व बैंकलाई पठाएको एउटा ध्यानकर्षण पत्रमा उल्लेख छ । व्यावसायिक बैंक, ग्राहक र लगानीकर्ता रहेको अफगान व्यावसायिक बैंक र वित्तीय समूहले सो पत्र लेखेका थिए ।

अफगान अर्थतन्त्रका एक ज्ञाताका अनुसार बैक खोल्नेबित्तिकै पैसा झिक्न चाहने मानिसको भीड देखिन्छ तर बैंकमा कत्ति पनि पैसा हुँदैन । 

तालिबानले काबुलको सत्तापलट गरेपछि बाइडेन प्रशासनले अफगानिस्तानको केन्द्रीय बैंकमा राखेका अर्बौं डलर रकमको पहुँचमाथि तालिबानलाई प्रतिबन्ध लगाएको थियो । अन्तर्राष्ट्रिय मौद्रिक कोषले अफगानिस्तानलाई निकासा गर्न लागेको साढे ४ करोड डलर रकम रोक्का गरेको छ । सो रकम यसै साता अफगानिस्तानलाई प्रदान गर्ने कार्यक्रम थियो । त्यस्तै, विश्व बैंकले पनि अफगानिस्तानलाई प्रदान गर्ने भनेको वित्तीय सहयोग रोक्का गरेको छ ।