ला लिगामा आज ४ खेल हुँदै

ला लिगामा आज ४ खेल हुँदै

एजेन्सी  |  खेलकुद  |  भदौ १३, २०७८

स्पेनिस ला लिगामा आज ४ खेल हुँदै छन् । आइतबार राती हुने खेलमा चर्चित क्लबहरू बार्सिलोना, साविक विजेता एथ्लेटिको म्याड्रिडलगायतका क्लबहरू आआफ्ना प्रतिस्पर्धीसँग प्रतिस्पर्धा गर्दै छन् । 

पहिलो खेलमा क्याटलान क्लब बार्सिलोनाले गेटाफेको सामना गर्दै छ । घरेलु मैदान क्याम्प नोउमा हुने खेल नेपाली समयअनुसार आइतबार राती पौने ९ बजे सुरु हुनेछ । बार्सिलोना दोस्रो जीतको खोजीमा छ । २ खेलबाट ४ अंक बनाएको बार्सिलोना आठौँ स्थानमा छ । 

यता, रेलिगेसन जोनमा रहेका गेटाफे पहिलो जीतको खोजीमा हुनेछ । २ खेल खेलिसक्दा उसले अंक जोड्न सकेको छैन । ऊ तालिकाको १८औँ स्थानमा छ । 
ला लिगाअन्तर्गत दोस्रो खेलमा काडिज र ओसासुना भिड्दै छन् । खेल नेपाली समयअनुसार राती सवा ११ बजे सुरु हुनेछ । दुवै टोलीले अघिल्ला २ खेल बराबरी खेलेका छन् । दुवै टोली तेस्रो खेलमा पहिलो जीतको खोजीमा छन् । 

तेस्रो खेलमा रायो भालेकानोले ग्रानडाको सामना गर्दै छ । खेल सवा ११ बजे हुनेछ । घरेलु मैदानमा हुन लागेको खेलमा रायो भालेकानोलाई रेलिगेसन जोनबाट बच्ने अवसर रहेको छ । अघिल्ला २ खेलमा पराजित भालेकानो तालिकाको १९औँ स्थानमा छ । 

यता, ग्रानडालाईसमेत पहिलो जीतको खोजीमा हुनेछ । यस अघिका दुवै खेलमा अंक बाँडेको ग्रानडासँग २ अंक रहेको छ । ऊ १०औँ स्थानमा छ । 

ला लिगाको आइतबारको अन्तिम तथा चौथो खेलमा साविक विजेता एथ्लेटिको म्याड्रिड र भिल्लारियलबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समयअनुसार राती पौने २ बजे सुरु हुनेछ । 

घरेलु टोली एथ्लेटिकोलाई खेल जित्दै शीर्षस्थानमा फर्कने मौका रहेको छ । एक खेल कम खेलेको एथ्लेटिको ६ अंकसहित पाँचौँ स्थानमा छ । यता, भिल्लारियल भने पहिलो जीतको खोजीमा रहेको छ । २ खेलबाट २ अंक जोडेको भिल्लारियल तालिकाको १२औँ स्थानमा छ ।