१५ वर्ष महासचिव भएका माधव १५ वर्षपछि संसदीय दलको नेता

१५ वर्ष महासचिव भएका माधव १५ वर्षपछि संसदीय दलको नेता
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  भदौ १३, २०७८

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल १५ वर्षपछि संसदीय दलको नेता चयन भएका छन् । 

विघटित प्रतिनिधिसभा पुनर्स्थापित भएपछि नेता नेपाल १५ वैशाख २०६३ मा एमाले संसदीय दलको नेता चयन भएका थिए । उनी ११ जेठ २०६६ देखि २२ माघ २०६७ सम्म करिब १८ महिना देशको प्रधानमन्त्री बने । २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा उनी काठमाडौं र रौतहट दुवै निर्वाचन क्षेत्रबाट पराजित भएका थिए । 

२०७० को दोस्रो संविधानसभा निर्वाचनपछि झलनाथ खनाल संसदीय दलको नेता चयन भएका थिए । २०७४ निर्वाचनपछि केपी ओली संसदीय दलको नेता चयन भए ।

संविधानसभाको पहिलो निर्वाचनमा २ वटा क्षेत्रबाट हारेका नेता नेपाल एक वर्षभित्र सो सभाको सांसद मनोनीत मात्र भएनन्, प्रधानमन्त्री निर्वाचितसमेत हुन पुगे । संविधानसभाको चुनावमा आफ्नो हार तथा एमालेको कमजोर प्रदर्शनपछि पराजयको जिम्मेवारी काँधमा थापेर एमाले महासचिवको पद त्यागेका नेपाल एक वर्ष पुग्दानपुग्दै सिंहदरबारको जिम्मेवारी बोक्न तम्तयार भए । तत्कालीन नेपाली कांग्रेसका सभापति र माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाललाई संविधानसभामा मनोनीत गरेका थिए । 

२०५० सालमा तत्कालीन एमाले महासचिव मदन भण्डारीको निधनपपछि एमालेको महासचिवको रूपमा नेपाल १५ वर्षसम्म लगातार राजनीतिको केन्द्रविन्दुमा रहन सफल भए ।

यतिबेला भने माधव नेपाल एमालेको नभई नवगठित नेकपा (एकीकृत समाजवादी) संसदीय दलको नेता चयन भएका छन् । समाजवादीमा ३० जना सांसद छन् । प्रतिनिधिसभाका २३ र राष्ट्रियसभाका सात सांसद छन् ।