उत्तर कोरियाद्वारा आणविक भट्टी संचालन, सुरक्षा परिषद्को आपत्ति

उत्तर कोरियाद्वारा आणविक भट्टी संचालन, सुरक्षा परिषद्को आपत्ति

न्युज कारखाना  |  विदेश  |  भदौ १४, २०७८

उत्तर कोरियाले आफ्नो एक महत्त्वपूर्ण आणविक केन्द्र सुचारु गरेको छ । प्योङयाङले योङबायोन आणविक केन्द्र सुचारु गरेको राष्ट्रसंघको आणविक निकायले जनाएको हो । केन्द्रबाट आणविक विस्फोटमा प्रयोग हुने प्लुटोनियम उत्पन्न भइरहेको अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आईएईए)ले जनाएको हो । 

योङवायोन आणविक भट्टीबाट जुलाईदेखि चिसोपानी बगिरहेकाले उत्तरले आफ्ना आणविक गतिविधि सुचारु गरेको पुष्टि भएको आईएईएको भनाइ छ । ५ मेगावाट रेक्टरको योङवायोन केन्द्र उत्तर कोरियाको महत्त्वपूर्ण आणविक भट्टी हो । 

सन् २०१८ मा अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्प र कोरियाली नेता किम जोङ उनबीचको  भेटवार्तापछि सो आणविक भट्टीलाई प्योङयाङले बन्द गरेको थियो । आईएईएका अनुसार सो केन्द्र परिसरमा रेडियो केमिकल प्रयोगशाला छ । केन्द्र विगत ५ महिनादेखि संचालनमा आएको जनाइएको छ । 

केन्द्र वरपर भएका गतिविधि राष्ट्रसंघको सुरक्षा परिषद्को निर्णयविपरीत भएको आईएईएले जनाइएको छ ।  यसैबीच दक्षिण कोरियाले उत्तर कोरियाका गतिविधिलाई चासोपूर्वक हेरेको दक्षिण कोरियाको समाचार संस्था योनहापले जनाएको छ ।