कमेडी च्याम्पियन शृंखला- १ : उपाधि जित्नेमा हिक्मतका मास्टर ढुक्क, भोटिङमा उर्लियो सुदूरपश्चिम

हिक्मत महरा भन्छन्, ‘कमेडी च्याम्पियन- २’ मा प्रतिस्पर्धा निकै कडा छ, भोट नै निर्णायक ।'

कमेडी च्याम्पियन शृंखला- १ : उपाधि जित्नेमा हिक्मतका मास्टर ढुक्क, भोटिङमा उर्लियो सुदूरपश्चिम

न्युज कारखाना  |  लोकरञ्जन  |  भदौ १४, २०७८

कंचनपुर शुक्लाफाँटा नगरपालिका- १ बन्साहाका हिक्मत महराको ध्यान अहिले ‘कमेडी च्याम्पियन- २’ को उपाधि कसरी हात पार्ने भन्नेमा केन्द्रित छ । चर्चित कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन- २’ मा भरतमणि पौडेल, बिक्की अग्रवाल र सन्तोष थापासँग हिक्मतले दह्रो प्रतिस्पर्धा गर्नुपरेको छ । 

अहिलेसम्म भोटिङमा उनले राम्रै सफलता हासिल गरिरहेका छन् । अब फाइनल राउन्ड चलेकाले प्रस्तुति पनि उत्कृष्ट दिनुपर्ने उनमा चुनौती छ ।

कंचनपुरको सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाबाट प्लस टु उत्तीर्ण गरका हिक्मतले कृष्ण बैजनाथ बहुमुखी क्याम्पस झलारीमा बीएडसम्म अध्ययन गरेका छन् । ‘कमेडी च्याम्पियन- २’ मा ६ हजार प्रतियोगीले डिजिटल अडिसन दिएकामा हिक्मत १८० जनामा छनोट भएका थिए । त्यसपछि टप २४, १५, ११ हुँदै उत्कृष्ट ४ मा पुगेका हुन् ।

हिक्मतले उत्कृष्ट ३ का लागि प्रस्तुति दिइसकेका छन् । अब जसले राम्रो प्रस्तुति दिन्छ र भोट ल्याउँछ, उसैले उपाधि जित्ने अवस्था छ । त्यसैले सबैलाई भोट गरिदिन उनले अपिल गरेका छन् । ‘प्रतिस्पर्धा निकै कडा छ । जसले बढी भोट पाउँछ, त्यसले नै जित्छ’, उनले भने, ‘अत्यधिक भोटिङ गरी जिताइदिन सबैलाई आग्रह छ ।’ 

सिद्धबैजनाथ माध्यमिक विद्यालय बन्साहाका प्रधानाध्यापक धनसिंह महरा हिक्मतलाई नाम जस्तै कमेडीमा हिम्मत राख्ने युवाका रूपमा आफूले चिनेको बताउँछन् । ‘समाजका विकृति, विसंगति र राजनीतिक परिदृश्यका बारेमा गाउँघरमै र विद्यालयमा पढ्दादेखि नै व्यंग्य गरी कमेडी देखाउने गर्थे’, उनले भने, ‘उपयुक्त मंच पाएपछि उनले प्रतिभा संसारभरलाई देखाएर आफूलाई चिनाएका छन् ।’ रियालिटी शोमा हिक्मतले सबैभन्दा राम्रो प्रस्तुति देखाउँदै आएकाले सबैले भोट दिई विजयी बनाउनेमा आफू आशावादी रहेको उनले बताए । 

माओवादी केन्द्रकी नेतृ बीना मगरले सुदूरपश्चिमका अब्बल कमेडियन हिक्मतलाई भोट गरी आगामी यात्रा सुरक्षित गरिदिन सामाजिक संजालमार्फत अनुरोध गरेकी छन् । महरालाई जिताउन कंचनपुरका विभिन्न संघसंस्था तथा व्यक्तिहरूले अभियान नै संचालन गरेका छन् ।

‘सुदूरपश्चिमका एक मात्र राष्ट्रियस्तरमा पुगेका कमेडियन महरालाई भोट माग्न युवाहरू परिचालन गरी जुटेका छौँ’, स्थानीय परमानन्द जोशीले भने, ‘सामाजिक संजालमार्फत र भेटेरै पनि भोटका लागि अपिल गरिरहेका छौँ ।’ हिक्मतलाई फाइनलमा पुर्‍याउने लक्ष्य रहेको उनले बताए । बैतडीको पुर्चाैडी नगरपालिका- १० मौरगाउँमा २०५० सालमा जन्मेका महरा हाल कंचनपुरमा बस्छन् ।