चीन र अमेरिकी विदेशमन्त्रीबीच अफगानिस्तानबारे फोनवार्ता

चीन र अमेरिकी विदेशमन्त्रीबीच अफगानिस्तानबारे फोनवार्ता

एजेन्सी  |  विदेश  |  भदौ १४, २०७८

चीन र अमेरिकी विदेशमन्त्रीबीच आइतबार फोनवार्ता भएको छ । चिनियाँ विदेशमन्त्री वाङ यी र अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङकेनबीच फोनमा कुराकानी भएको चिनियाँ समाचार समिति सिन्ह्वाले जनाएको छ ।

उनीहरूबीचको फोन वार्ताका क्रममा चीन र अमेरिका द्विपक्षीय विविध विषयहरूमा कुराकानीका भएको बताइएको छ । यसका अतिरिक्त उनीहरूबीचमा अफगानिस्तानको अहिलेको अवस्थाका बारेमा पनि कुराकानी भएको बताइएको छ ।

त्यस क्रममा उनीहरूबीचमा अफगानिस्तानमा अमेरिकीसहित नेटो सेनाको फिर्तीसँगै अफगानिस्तान अहिले निकै अप्ठ्यारो अवस्था रहेको विषयमा पनि कुराकानी भएको थियो ।

अमेरिकी सेनाहरू त्यहाँबाट निस्किसकेपछि हालको अफगानिस्तानको अवस्था गम्भीर रहेको अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताएका थिए । उनले अहिलेकै अवस्थामा अफगानिस्तानमा ठूलो संख्यामा रहेका विदेशी नागरिकहरूलाई त्यहाँबाट उद्धार गर्नुपर्ने चुनौती बाँकी नै रहेको पनि बताए ।

यस्तो अवस्थामा सबै विश्व समुदाय र संयुक्त राज्य अमेरिकासमेत अफगानिस्तानमा रहेका विदेशी नागरिकहरूलाई त्यहाँबाट सकुशल उद्धारका लागि बोल्नुपर्ने पनि उनको भनाइ थियो ।

हाल अफगान नागरिकलाई उनीहरूको अवस्था तथा अधिकारका लागि विश्व समुदायले सहयोग गर्नुपर्नेमा पनि उनीहरूबीच कुराकानी भएको बताइएको छ ।

आगामी दिनमा पनि अफगान नागरिकको सुरक्षाका साथै उनीहरूको उद्धार र सहयोगका लागि पनि विश्व समुदायले काम गर्नुपर्ने तथा आगामी दिनमा तालिबानीहरूले के कस्तो नीति अख्तियार गर्नेछन्, त्यसमा अफगानिस्तानको भविष्य निर्धारण हुने पनि उनीहरूबीच कुराकानी भएको सो समाचर समितिले जनाएको छ ।

अफगानिस्तानमा अहिले पनि १० हजार जनाभन्दा बढी विदेशीहरू आफ्नो देश फर्किनका लागि बसेका छन् । उनीहरूलाई सुरक्षित रूपमा आफ्नो देश फर्किने व्यवस्थाका लागि आवश्यक सहयोग गर्न विश्व समुदाय र संयुक्त राष्ट्रसंघले बोल्नुपर्ने अमेरिकी विदेशमन्त्री ब्लिङ्केनले बताउए ।