एमाले अध्यक्षको उम्मेदवार बन्ने ईश्वर पोखरेलको घोषणा

एमाले अध्यक्षको उम्मेदवार बन्ने ईश्वर पोखरेलको घोषणा

न्युज कारखाना  |  समाचार  |  भदौ १४, २०७८

नेकपा एमाले महासचिव ईश्वर पोखरेलले पार्टीको १०औँ महाधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने बताएका छन् । एमाले महाधिवेशन घोषणा भएलगत्तै सोमबार पत्रकारसँगकाे भेटघाटमा पोखरेलले नेतृत्वमा आफ्नो दाबी रहने सार्वजनिक घोषणा गरेका हुन् ।

एमालेको १०औँ महाधिवेशन आगामी १० देखि १३ मंसिरमा काठमाडौंमा हुँदै छ ।

पोखरेलले आफू २ पटक महासचिव भइसकेको र तेस्रो पटक हुन विधानले नदिने भएकाले अबको कदम अध्यक्ष नै भएको बताए । 'मलाई अध्यक्ष पद डिजर्भ गर्छ,' उनले भने । आफू अध्यक्षमा लड्न योग्य भएको र पार्टी पंक्तिको भावनाअनुसार नेतृत्व लिन अग्रसर हुने पोखरेलको भनाइ छ ।

अहिलेसम्म एमालेमा अध्यक्ष केपी ओलीबाहेक अरू कसैले पनि नेतृत्वमा दाबी गरेको छैन । ओलीले फेरि एक पटक नेतृत्वमा दोहोरिने इच्छा प्रकट गरेका छन् । ओली निकट नेता शंकर पोखरेलले केही समयअघि नै ओलीकै नेतृत्वमा पार्टी चुनाव र सरकारमा जाने घोषणा गरिसकेका छन् । एमालेमा नेतृत्वमा दाबी गर्ने पोखरेल पहिलो नेता बनेका छन् ।