माधव खेमाका सांसदहरूले ४ दिनमा होटेल छाडे, बुधबार निर्वाचन आयोग जाने

माधव खेमाका सांसदहरूले ४ दिनमा होटेल छाडे, बुधबार निर्वाचन आयोग जाने

न्युज कारखाना  |  समाचार  |  भदौ १५, २०७८

नेकपा एकीकृत समाजवादीले सांसदलाई होटेलमा राखेर बन्दक बनाएको अरोप लागेपछि (एस)मा खुलेका सांसदहरूले ४ दिनमा होटेल छाडेका छन् । 

एमालेले एकीकृत समाजवादीले सांसद्हरूलाई होटलमा बन्धक बनाएको आरोप लगाउँदै आएको थियो । समाजवादीमा लागेका १० जना सांसदहरूले सोमबार साँझदेखि होटेल छाडेका हुन् । उनी गत शुक्रबारदेखि विराटनगरको बिग होटेलमा बस्दै आएका थिए । 

होटेल छाडेसँगै उनीहरूले विराटनगर नै छाडेका छन् । होटलमा बस्दा विभिन्न आरोप आएपछि होटेल छाडेको नेकपा (एस)का केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिए । 

आफू इटहरीमा रहेको र केही अन्य केही सांसदहरू धरानतिर गएको राईले बताए । ‘भोलि प्रदेश निर्वाचन आयोगमा मात्र सबैको भेट हुन्छ । होटलमा बस्दा विभिन्न कुरा सुनेपछि हामीले होटेल छाडेका हौँ’, राईले भने । 

अहिलेसम्म प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ नयाँ पार्टीको पक्षमा खुलेका छन् । राजेन्द्र, गणेश र कृष्णकुमारी केन्द्रीय सदस्य नै हुन् । 

मंगलबार नै प्रदेश निर्वाचन कार्यालयमा गएर हस्ताक्षर गर्ने रणनीतिअनुसार उनीहरू होटलमा बसेका थिए । प्रदेश सरकारले मंगलबार झापा, मोरङ र सुनसरीमा रथ तान्न सार्वजनिक बिदा दिएपछि उनीहरू बुधबार मात्र आयोगमा जाने भएका हुन् ।