एनआरएनए अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिने

एनआरएनए अध्यक्षमा डा. बद्री केसीले उम्मेदवारी दिने

न्युज कारखाना  |  समाचार  |  भदौ १५, २०७८

गैरआवासीय नेपाली संघ (एनआरएनए)का उपाध्यक्ष डा. बद्री केसीले आगामी कार्यकालका लागि अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । उनले गैरआवासीय नेपाली संघको आगामी अक्टोबर तेस्रो साता हुने १०औँ विश्व सम्मेलनमा अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

उनले गैरआवासीय नेपाली संघको अभियानमा १५ वर्षदेखि निरन्तर काम गरेको अनुभव र अहिलेको कार्यसमितिमा आफू सिनियर भएकाले अध्यक्षमा उम्मेदवारी दिने उनले बताए । डा. केसीले संस्थागत शुद्धीकरण, एनआरएनएमा दोस्रो पुस्ता, महिला, युवाको सहभागिता, नेपालमा लगानी, विज्ञान प्रविधि, वैदेशिक रोजगारीलगायतका क्षेत्रमा सक्रिए भएर काम गर्ने प्रतिबद्धता जनाए ।

सन् २००३ देखि एनआरएन अभियानमा होमिएका डा. केसी सन् २००७ सम्म आईसीसी रुसको साधारण सदस्य रहेका थिए । त्यसपछि सन् २००७ देखि २००९ सम्म आईसीसी रुसको महासचिव भएर काम गरेका उनी सन् २००९ देखि भने अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) प्रवेश गरे । २००९-२०११, २०११-२०१३ गरी २ कार्यकाल आईसीसी सदस्य रहेका उनी सन् २०१३-२०१५ मा भने कोषाध्यक्ष चयन भए ।

त्यसपछि सन् २०१५ देखि २०१९ सम्म २ कार्यकाल महासचिव र सन् २०१९-२०२१ मा उपाध्यक्ष रहेका उनले अहिले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन् । बायो टेक्नोलोजीमा मस्कोबाट सन् २००१ मा पीएचडी गरेका उनको रसिया र नेपालमा विभिन्न क्षेत्रमा लगानी रहेको छ ।

अक्टोबर २३ देखि २५ सम्म हुने अधिवेशनले संघको २ वर्षका लागि नयाँ नेतृत्वको चयन गर्नेछ । अध्यक्ष पदका लागि अमेरिकामा रहेकी रविना थापा र बेलायतका व्यवसायी कुल आचार्यले समेत उम्मेदवारी दिने घोषणा गरेका छन् ।