अफगानिस्तानबाट रित्तो हात फर्कियो अमेरिका, तालिबानले मनाए खुसियाली

अफगानिस्तानबाट रित्तो हात फर्कियो अमेरिका, तालिबानले मनाए खुसियाली

एजेन्सी  |  विदेश  |  भदौ १५, २०७८

अफगानिस्तानमा अमेरिकी सेनाको २० वर्ष लामो उपस्थिति समाप्त भएकोे छ । अमेरिकाले मंगलबार काबुलबाट आफ्ना सम्पूर्ण सेना फिर्ता गरेसँगै अमेरिकी उपस्थिति अन्त्य भएको हो । मंगलबार अन्तिम पटक अमेरिकी दूत सवार सी १७ विमान काबुलबाट वासिङ्टनका लागि प्रस्थान गरेको थियो । 

अन्तिम अमेरिकी विमान काबुलको आकाशमा उडेपछि तालिबानले बन्दुक पड्काएर खुसियाली मनाएका थिए । अमेरिकी सेनाले काबुल छाडेपछि तालिबान लडाकुले काबुल विमानस्थलमा निगरानी बढाएको थियो । केही लडाकुले अमेरिकी सेनाले छाडेका सैन्य पोसाक लगाएका देखिन्थे । 

सन् २०२० को जनवरीमा भएको एउटा सम्झौतामा अमेरिकाले ३१ अगस्टभित्र आफ्ना सम्पूर्ण सेना फिर्ता गरिसक्नुपर्ने उल्लेख थियो । तोकिएको समयभित्र सबै सेना फिर्ता गर्न अमेरिकामाथि तालिबानले दबाब दिएको थियो । आफूहरूसँगै अमेरिका जान नसकेका अफगानीलाई कूटनीतिक नियोगले निरन्तर सहयोग गर्ने अमेरिकाले जनाएको छ । अमेरिकाले आफ्ना नागरिक र अफगान सर्वसाधारण गरी एक लाख २३ हजारलाई स्वदेश फिर्ता गरेको जनाएको छ । 

२ दशक लामो अफगान युद्धमा अमेरिकाले ठूलो मूल्य चुकाएको छ । युद्धमा २ हजार ४०० अमेरिकी सेनाको ज्यान गएको छ । 

अफगानिस्तानमा सैन्य मिसन समाप्त

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिनकेनले छोटो समयमै आफ्ना सबै नागरिक स्वदेश फिर्ता गरिएको बताएका छन् । उनले भने,  ‘अब नयाँ अध्याय सुरु भएको छ । अफगानिस्तानको सैन्य मिसन समाप्त भएको छ । नयाँ कूटनीतिक मिसन सुरु भएको छ ।’

आफ्नो मिसन पूरा गरेसँगै अमेरिकाले काबुलमा कूटनीतिक उपस्थिति अन्त्य गरेको छ । अब कतारको राजधानी दोहामा रहेको अमेरिकी मिसनले नै अफगानिस्तान हेर्नेछ । 

एक प्रसंगमा उनले तालिबानले अन्तर्राष्ट्रिय समुदायको समर्थन पाउन आवश्यक भएको बताए । त्यस्तै, तालिबानले आफ्ना प्रतिबद्धता पूरा गर्नुपर्ने उनले बताए ।