माओवादीको भागमा ६ मन्त्रालय, गैरसांसद आकांक्षी देखिएपछि आलोपालोको प्रस्ताव

माओवादीको भागमा ६ मन्त्रालय, गैरसांसद आकांक्षी देखिएपछि आलोपालोको प्रस्ताव

न्युज कारखाना  |  समाचार  |  भदौ १५, २०७८

नेकपा (माओवादी केन्द्र)ले सरकारमा ६ वटा मन्त्रालय मात्र पाउने भएको छ । 

नेकपा एमाले विभाजन भएर गठन भएको माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारमा जाने निश्चित भएपछि माओवादीले पाउने मन्त्रालयको संख्या घटेको हो । संख्या घट्दा माओवादी केन्द्रलाई मन्त्री छान्न सकस परेको छ ।

‘माधवजीहरू पनि सरकारमा सामेल हुने भएपछि स्वतः माओवादी केन्द्रले पाउने मन्त्रालय घटेको छ । तर, आकांक्षी भने सबै सांसदहरू देखिएका छन्’, स्थायी कमिटी सदस्य हरिबोल गजुरेलले भने, ‘सांसद मात्र होइन, सांसदभन्दा बाहिरका साथीहरू पनि आकांक्षी देखिएपछि आलोपालो गरी मन्त्री बनाउने कि भन्ने छलफल हिजो पनि भएको थियो ।’

उनका अनुसार भ्रातृ संगठन योङ्ग कम्युनिस्ट लिग नेपाल (वाईसीएल)को नेतृत्व चयनदेखि सरकारमा मन्त्री पठाउने विषयमा सोमबारको स्थायी कमिटीमा छलफल भएको थियो ।

‘गठबन्धनको बैठकबाट फर्किनुभएका अध्यक्षले माओवादी केन्द्रले ६ वटा मन्त्रालय पाउने जानकारी गराउनुभयो तर अझैसम्म कुनकुन मन्त्रालय पाउने भने नटुंगिएको बुझियो’, गजुरेलले भने, ‘मन्त्रालय कम हुने भएकाले कसरी र कुनकुन नेतालाई मन्त्री बनाउने भन्नेमा प्रारम्भिक छलफलचाहिँ भयो । निष्कर्षमा भने पुगिएको छैन ।’ उनका अनुसार सांसदभन्दा बाहिरकाले पनि मन्त्रीका लागि इच्छा राखेपछि पार्टीमा थप समस्या देखा परेको छ ।

संविधानतः प्रधानमन्त्री देउवाले २५ भन्दा बढी सदस्यीय मन्त्रीमण्डल बनाउन पाउँदैनन् । तर, देउवाले सो संख्याभित्र कांग्रेससहित माओवादी केन्द्र, जसपा, नेकपा (एस) मात्र होइन, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीलाई पनि मन्त्रीमण्डलमा समावेश गराउनुपर्ने बाध्यता छ ।

यस कारण डेढ महिना बितिसक्दा पनि देउवाले आफनो मन्त्रीमण्डल विस्तार गर्न अझै सकेका छैनन् । तर, सत्तारुढ गठबन्धनका नेताहरू मन्त्रीमण्डललाई पूर्णता दिन नियमित छलफलमा छन् । नेपाली राजनीतिक इतिहासमा सम्भवतः यति लामो समयसम्म मन्त्रीमण्डलले पूर्णता नपाएको यो पहिलो पटक हो ।