मन्त्रालय भागबन्डा मिलेन, अन्योलमा मन्त्रिपरिषद् विस्तार

मन्त्रालय भागबन्डा मिलेन, अन्योलमा मन्त्रिपरिषद् विस्तार

न्युज कारखाना  |  समाचार  |  भदौ १५, २०७८

प्रधानमन्त्री शेरबहादुर देउवालाई मन्त्रिपरिषद् विस्तारमा निकै सकस पर्ने देखिएको छ । सत्तारुढ गठबन्धनबीच कुन मन्त्रालय कसले लिने भन्नेमा सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तार टाढिँदै गएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनका अध्यक्षहरूको बैठक बिनानिष्कर्ष टुंगिएको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड', नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव उपस्थित थिए । गठबन्धनमा राष्ट्रिय जनमोर्चा पनि सामेल छ । सरकार संचालन, मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटको विषयमा छलफल भए पनि कुनै ठोस निष्कर्ष भने निस्किएन ।

प्रधानमन्त्री बनेको डेढ महिना बितिसक्दा पनि सत्तारुढ गठबन्धनका दलहरूभित्रको आन्तरिक किचलोका कारण देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन्। प्रधानमन्त्री देउवाले १७ वटा मन्त्रालयको जिम्मेवारी आफैँले सम्हालेका छन् । अहिले गृहमन्त्री बालकृष्ण खाण, अर्थमन्त्री जनार्दन शर्मा, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल र स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ छन् ।