लोसपा नेता भण्डारी भन्छन्: 'सरकारमा जान सक्छौँ’

लोसपा नेता भण्डारी भन्छन्: 'सरकारमा जान सक्छौँ’
फाइल फोटो

न्युज कारखाना  |  समाचार  |  भदौ १५, २०७८

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) पनि सरकारमा जाने संभावना देखिएको छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको रूपमा विश्वासको मत दिएको लोसपा पनि सरकारमा जाने संभावना देखिएको हो । 

प्रधानमन्त्री देउवा तथा लोसपाका नेताहरूबीच सरकारमा जानेबारेमा प्रारम्भिक छलफल भएको लोसपाका नेता शरदसिंह भण्डारीले बताए । 

‘प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएकाले लोसपा पनि स्वतः सत्तारुढ दल भएको छ, सत्तारुढ दल भएपछि लोसपा पनि सरकारमा जाने संभावना छ’, भण्डारीले भने, ‘प्रारम्भिक छलफल भएका छन् । तर, कुरो टुंगोमा पुगिसकेको छैन ।’ उनका अनुसार पार्टीका शीर्ष नेताहरूबीच छलफल र संवाद भइरहेका छन् ।

‘मधेसका मुद्दाका बारेमा सरकार र लोसपाबीचमा एक किसिमको सम्झौता भएर कार्यान्वयनमा पनि गइसकेको छ, अब अर्को कुनै सम्झौता गर्न जरुरी छैन’, भण्डारीले भने, ‘त्यसैले सत्तारुढ दल सरकारमा जान सक्छ, कुराकानी टुंग्याउन बाँकी छ ।’ उनका अनुसार प्रधानमन्त्री देउवा र लोसपा दुवैतर्फ छलफल र संवाद जारी छ ।