सुदूरपश्चिमका १३ प्रदेश सांसद माधव नेपाल खेमामा खुले, सनाखत आजै

सुदूरपश्चिमका १३ प्रदेश सांसद माधव नेपाल खेमामा खुले, सनाखत आजै

न्युज कारखाना  |  समाचार  |  भदौ १५, २०७८

नेकपा एमाले सुदूरपश्चिम प्रदेशसभाका १३ जना सांसद नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीतिर लागेका छन् । भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीको नेतृत्वमा एमालेका १३ जना सांसद माधव नेपाल नेतृत्वको नेकपा (एस)मा लागेका हुन् ।

दल विभाजनसम्बन्धी अध्यादेशअनुसार एमालेका प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले २१ दिन अर्थात् २२ भदौसम्म कुन दलमा जाने भनेर निर्णय लिने समय छ ।

सुदूरपश्चिममा मंगलबारै १३ जना सांसदले माधव नेपालको नेकपा (एस)मा सनाखत गर्न लागेका हुन् ।

सनाखत गर्नेमा सोडारीसहित, आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशी, सामाजिक विकासमन्त्री लालबहादुर खड्का, सांसदहरू बलबहादुर सोडारी, अम्मर साउद, चुनकुमारी चौधरी, मना साउद, तारालामा तामाङ, अर्चना गहतराज, कुलवीर चौधरी, सुशीला बुढाथोकी, दुर्गा कामी र माया भट्ट छन् ।   

प्रतिनिधिसभा विघटनपछि माधव नेपाल खेमामा उभिएका १७ जनामध्ये १३ जनाले नयाँ पार्टीमा जाने निर्णय गरेका हुन् । यसअघि माधव खेमामा रहेका एमाले संसदीय दलका नेता प्रकाश शाह, प्रकाश रावल, पूर्वमन्त्री कृष्णराज सुवेदी, गोविन्द कुँवरले भने नयाँ पार्टीमा नजाने बताएका छन् । उनीहरू एमाले उपाध्यक्ष भीम रावल निकट मानिन्छन् । रावल माधवलाई छाडेर एमालेमा फर्किएका छन् ।

अहिले नेकपा (एस)मा जान चाहने प्रदेशसभा सदस्यको हस्ताक्षर अभियान संचालन भइरहेको छ । हस्ताक्षर सकिएलगत्तै प्रदेश निर्वाचन आयोगमा सनाखत गराइने नेकपा (एस)की केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले बताइन् । 'आज नभए भोलिसम्म निर्वाचन आयोगमा हस्ताक्षर बुझाउँछौँ’, उनले भनिन् । सुदूरपश्चिममा एमालेका सभामुखसहित २५ जना सांसद छन् ।