न्यादीको आईपीओमा ६१ करोड बराबरको आवेदन

न्यादीको आईपीओमा ६१ करोड बराबरको आवेदन

न्युज कारखाना  |  कारोबार  |  भदौ १६, २०७८

न्यादी हाइड्रोपावरको आईपीओमा मंगलबार अन्तिम दिनसम्म ६१ करोड १३ लाख तीन हजार ८०० रुपैयाँ बराबरको माग आवेदन परेको छ । आयोजनाको अतिप्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्याइएको पाँच लाख कित्ता शेयरका लागि २ हजार ९५३ जना आवेदकबाट १६ करोड ३७ लाख १८ हजार १०० रुपैयाँ बराबरको माग आवेदन परेको छ ।  

जिल्लाबासीका लागि छुट्याइएको १० लाख कित्ता शेयरका लागि २२ हजार २३८ जना आवेदकबाट ४४ करोड ७५ लाख ८५ हजार ७०० रुपैयाँ बराबरको माग आवेदन परेको न्यादी जलविद्युत आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए । उनका अनुसार १ भदौदेखि बिक्री खुला भएको आईपीओ भर्ने समय मंगलबार सकिएको छ ।

जिल्लाबासीका लागि कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १० लाख कित्ता शेयर निश्कासन गरेको हो भने अतिप्रभावित क्षेत्रका लागि पाँच लाख र संस्थापक शेयरधनीका लागि तीन लाख कित्ता शेयर प्रारम्भिक चरणमा निश्कासन गरेको हो । यसपछि कम्पनीले सर्वसाधारणका लागि शेयर निश्कासन गर्ने जनाएको छ । २०७३ चैतदेखि निर्माण सुरु भएको आयोजनाको निर्माण कार्य सम्पन्न भए पनि ट्रान्समिसन लाइन र सबस्टेसनको काम सकिएसँगै केही महिनामा विद्युत् उत्पादन गरिने आयोजनाका जनसम्पर्क अधिकृत विजय गुरुङले बताए ।

आयोजनाको निर्माण चिनियाँ कम्पनी चचियाङ हाइड्रोपावर कन्स्ट्रक्सन एन्ड इन्स्टलेसन कम्पनीले गरेको हो । बुटवल पावर कम्पनीको ९७.२२ प्रतिशत र लमजुङ विद्युत विकास कम्पनीको २.७८ प्रतिशत लगानीमा उक्त आयोजना निर्माण भएको हो । आयोजना कुल छ अर्ब ११ करोड ७७ लाख ५५ हजार रुपैयाँ लागतमा निर्माण भएको आयोजनाले जनाएको छ ।